महाधिवेशनको तयारीमा जुट्यो राप्रपा



काठमाडौं । राजतन्त्रको पुनस्र्थापना र हिन्दू राष्ट्रको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी २५–२८ वैशाखमा एकताको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । चार वर्षअघि कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाको एकता महाधिवेशन भएको थियो ।

अघिल्लो महाधिवेशनपछि फुटेका यी दुई समूहले पुनः एकता गरेको दुई वर्षपछि एकता महाधिवेशन हुन लागेको हो । महाधिवेशनका लागि मंगलबार राप्रपाले अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीको नेतृत्वमा १८८ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । ‘चार वर्षपछि पार्टीको अधिवेशन हुन लागेको हो,’ राप्रपा नेता मोहन श्रेष्ठले भने, ‘यसका लागि अध्यक्षत्रयको नेतृत्वमा मूल आयोजक समिति गठन भएको छ भने यसअघि नै वरिष्ठ नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति पनि गठन भइसकेको छ ।’

राप्रपाको अघिल्लो महाधिवेशन ६ फागुन ०७३ मा भएको थियो । पार्टी एकीकरण ६ मंसिरमा भएपछि सम्पन्न भएको महाधिवेशनमा कमल थापा अध्यक्षमा निर्वाचित भएका थिए । तर, महाधिवेशन सकिएको दुई सातापछि १९ फागुनमा नेता प्रकाशचन्द्र लोहनीले पार्टी छाडेका थिए । त्यसवेला भएको स्थानीय निर्वाचनमा राप्रपाले जम्मा पाँच सिट जितेको थियो ।

त्यसवेला पुष्पकमल दाहाल र शेरबहादुर देउवा नेतृत्वका दुई सरकारमा पार्टी सहभागी भएसँगै विवाद भएपछि २२ साउन ०७४ मा राप्रपाबाट पशुपतिशमशेर राणा समूह अलग भएर राप्रपा संयुक्त गठन गरेको थियो । प्रदेश र संसदीय निर्वाचनमा अलग–अलग सहभागी भएका दुई समूहमध्ये थापाले नेतृत्व गरेको समूहले प्रदेश सभाहरूमा तीन सिट र संघीय संसद्मा एक सिट जितेको थियो । राणाले नेतृत्व गरेको समूहले बागमती प्रदेशमा जम्मा एक सिट जितेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्