झडपपछि खनाल-नेपाल समानान्तर समिति बनाउने तयारीमा



काठमाडौं । एमालेभित्र शक्ति सङ्घर्ष पुनः बल्झिने खतरा बढेको छ । बुधबार पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरू भेला भएर यो निष्कर्ष निकालेका हुन् । झलनाथ-माधव पक्षनिकट केन्द्रीय सदस्यहरूको भेला आज अर्याल होटल बानेश्वरमा बसेको थियो ।

भेलामा अदालतले एमाले ब्युँताइदिएपछि पनि ओली समूह एकलौटी अघि बढ्न खोजेको, पार्टी कब्जाको शैलीमा देशव्यापी अघि बढेको भन्दै चिन्ता व्यक्त भएको पार्टी नेता नीरज आचार्यले जानकारी दिए । “अदालतको फैसलापछि ओली समूह स्वच्छन्द रूपमा अघि बढेका छन् । आफूखुसी साइनबोर्ड परिवर्तन गर्ने, ओलीका फोटा टाँसिएका बोर्ड टाँग्ने, नेताहरूको मानमर्दन गर्ने शैलीमा अघि बढेका छन् । आज कैलालीमा झपड नै भयो । त्यहाँ नेताको मानमर्दन गर्ने काम भयो ? यो के हो ? भनेर केन्द्रीय सदस्यले प्रश्न उठाए,” आचार्यले भने । भेलालाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले सम्बोधन गरेका थिए । नेताद्वयले ओलीप्रवृत्ति विरुद्ध आत्मसमर्पण नगर्ने डटेर सामना गर्न निर्देशन दिएको आचार्य बताउँछन् ।

“अदालतको फैसलापछि ओली कसरी प्रस्तुत हुन्छन् भनेर हामी हेरिरहेका छौँ । फैसलापछि पार्टी सक्रिय भइसकेको अवस्थामा बैठक आह्वान हुनुपर्ने हो । नेताहरूका बीचमा छलफल हुनुपर्ने हो, त्यो केही भइरहेको छैन,” नेता नेपालको भनाइ उद्धृत गर्दै आचार्यले भने । एकतापूर्वका कमिटीहरू सक्रिय तुल्याउन, भेला बैठक आयोजना गर्न पनि नेता खनाल, नेपालले निर्देशन दिएको आचार्यको भनाइ छ ।

एकतापूर्व ३८ भन्दा बढी जिल्ला कमिटीको नेतृत्व माधव नेपालको पक्षमा थियो । अदालतको फैसलाले ती सबै कमिटीहरू पुनःस्थापित गरिदिइसकेको सन्दर्भमा ती कमिटी क्रियाशील तुल्याउनुपर्ने नेता नेपालको जोड रहेको आचार्य बताउँछन् । ओली पक्षले एकलौटी ढङ्गले अघि बढ्न खोजे देशैभर समानान्तर कमिटी बनाएर, गतिविधि गरेर भए पनि काउन्टर दिनुपर्ने सदस्यहरूले बताएको र नेता नेपालको पनि त्यसमा विमति नरहेको अचार्य बताउँछन् ।

अहिले ओली पक्षले पुस ५ गतेपछि बनेका कमिटी परिचालन गरेर वितण्डा मच्चाइरहेकाले पनि त्यसलाई काउन्टर, जवाफ दिन गतिविधि आवश्यक रहेको खनाल–नेपाल पक्षको सामूहिक निचोड रहेको उनको भनाइ छ । जतिसुकै हण्डर, ठक्कर खाए पनि ओली प्रवृत्ति नसुध्रिएको चिन्ता पनि केन्द्रीय सदस्यहरूले गरेको भेलाका सहभागीहरू बताउँछन् । आजको भेलामा ५४ जना केन्द्रीय सदस्यहरू उपस्थित रहेको बताइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्