वैदेशिक रोजगार क्षेत्रमा सुधारको पहल गर्ने आचार्यको प्रतिबद्वता



काठमाडौँ : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले वैदेशिक रोजगार क्षेत्रमा पनि सुधारको प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले सन् २०२१ देखि २०२३ सम्मको नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारीसहित प्रतिबद्धता सार्वजनिक गरे । 

अघिल्लो निर्वाचनमा पनि अध्यक्षका प्रत्याशी रहेका उनी अध्यक्ष कुमार पन्तसँग झिनो मतले पराजित भएका थिए । सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदै छ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । 

अध्यक्षका प्रत्याशी आचार्यले सङ्घलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा मञ्च बनाउने उद्घोष गर्दै नागरिकता र सम्पत्तिको अधिकार स्थापित गर्ने प्रतिबद्धता जनाए । संस्थाभित्र पद्धति र पारदर्शितालाई जोड दिने बताउँदै उनले भने, ‘संस्थाभित्र व्यक्तिगत स्वार्थ हाबी भएकाले संस्थाको साख गिरेको अवस्था छ, अनियमितता र दुरुपयोगको गुनासो बढ्दै गएको छ, व्यवस्थित र पारदर्शिता कायम गर्नु मेरो मुख्य लक्ष्य रहेको छ ।’ 

आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा सङ्घको पञ्जीकृत सदस्यको सङ्ख्या पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषद्को सङ्ख्या कम्तीमा एक सय पुर्‍याउने घोषणा गरे । 

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आएका छन् । उनी लण्डनका स्थापित व्यवसायी मानिन्छन् । होलीकाउ ग्रुपअन्तर्गत व्यवसायमा होमिएका आचार्यले बैङ्किङ, जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा लगानी गरेका छन् । 

करिब दुई दशकदेखि सङ्घमा आबद्ध आचार्यले आफ्ना कार्य योजना सार्वजनिक गर्दै सङ्गठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई आफूले प्राथमिकता राखेको बताए । 

वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै आचार्यले मध्यपूर्व, मलेसियालगायतका मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा विशेष ध्यान दिने बताए । महिला कामदारको सुरक्षा र सीप विकासमा ध्यान दिने उनको भनाइ थियो । नेपालमा वैदेशिक लगानी भित्र्याउन पहल गर्ने, स्वदेशमा लगानीको वातावरण सिर्जना गर्न पहल गर्ने उनको प्रतिबद्धता छ । 

यस्तै पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैर आवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने, कोभिड महामारीले रोजगारी गुमाएकालाई रोजगारी सिर्जना गर्न पहल गर्ने, खाडी क्षेत्रमा रहेका नेपालीको सानो सानो पुँजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानीको अवधारणलाई अगाडि बढाइने योजना रहेको उनले बताए । 

आचार्य प्यानलबाट सङ्घको महासचिवमा अमेरिका निवासी चिकित्सक डा केशव पौडेलले उम्मेदवारी घोषणा गरे । उनले सङ्घलाई पारदर्शी र परियोजनामुखी बनाइने बताए । पत्रकार सम्मेलनमा सङ्घका संस्थापक महासचिव भीम उदासलगायत सङ्घका विभिन्न पदाधिकारी तथा सदस्यको उपस्थिति थियो । साभार : मध्यान्ह दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्