वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै



काठमाडौँ । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र बिस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या बढ्दै गएको छ ।

वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत असारदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या बढ्दै गएको देखिएको छ । गत असारमा २० हजार ६५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनमा २५ हजार ४२८ र भदौमा ३६ हजार ४० जना नेपाली वैदेशिक रोजगारीमा गएको तथ्याङ्कले देखाएको छ । यसरी वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या सामान्य अवस्थामा जसरी नै बढ्दै गएको पुष्टि भएको छ ।

सामान्य अवस्थामा नेपालबाट वैदेशिक रोजगारीमा मासिक ३० हजारभन्दा बढी कामदार जाने गरेको विभागको विगतका तथ्याङ्कले देखाएको छ । गत जेठमा ४ हजार ८६ जना नेपाली मात्र वैदेशिक रोजगारीमा गएका थिए ।

नेपालमा कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या ह्वात्तै घटेको थियो । सरकारले २०७६ फागुनको अन्तिम साता श्रम स्वीकृति दिन स्थगित नै गरेको थियो । २०७७ असारदेखि श्रम स्वीकृति दिन सुरु गरे पनि नगण्य मात्रामा नेपाली कामदार विदेश गइरहेका थिए ।

कोरोना नियन्त्रण गर्न विश्वव्यापी रूपमा लगाइएको बन्दाबन्दी, श्रम गन्तव्य मुलुकमा भएको आर्थिक सङ्कट, रोजगारदाता कम्पनीमा परेको असरका कारण विदेशिने कामदारको सङ्ख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगार क्षेत्र सामान्य अवस्थामा आएको वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजित श्रेष्ठले बताए ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्