फेरि सर्‍यो कांग्रेस महाधिवेशन : सहमहामन्त्री थप्ने रणनीति



काठमाडौं। नेपाली काँग्रेसको १४औँ महाधिवेशन मिति फेरि सारिएको छ। यसअघि केन्द्रीय समितिले मङ्सिर ९ देखि १३ का लागि तोकेको महाधिवेशन कार्यपालिका बिहीबार केन्द्रीय निर्वाचन समितिले २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने गरी सारेको हो।

विधानअनुसार चार वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेमा काँग्रेसले साढे पाँच वर्षभन्दा बढी समय गुज्रिसक्दा पनि गर्न सकेको छैन। यसअघि आधा दर्जन पटक जति महाधिवेशन मिति संशोधन भइसकेको छ। पछिल्लो पटक काँग्रेस पदाधिकारी बैठकले संशोधित कार्यपालिका ल्याउन निर्वाचन समितिलाई जिम्मा दिएको थियो।

निर्वाचन समितिको विज्ञप्तिमा अब मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने उल्लेख छ। तर, केन्द्रीय नेतृत्व चयन प्रक्रिया भने मङ्सिर २१ बाटै सुरु हुने विज्ञप्तिमा जनाइएको छ।

रसुवा र रौतहटमा क्रियाशील सदस्यता विवाद सुल्झन नसकेको अवस्थामा संशोधन गरिएको महाधिवेशन कार्यपालिका अनुसार सात वटै प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते हुनेछ।रसुवा र रौतहटबाहेक अन्य जिल्लाको अधिवेशन कार्यपालिका सार्वजनिक गरेको निर्वाचन समितिले पालिका अधिवेशन सकेका ४६ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन मङ्सिर ३ का लागि तोकेको छ।

त्यस्तै, प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र भएका जिल्ला र क्षेत्रको अधिवेशन मङ्सिर ६ र जिल्ला अधिवेशन १० गते हुनेछ। सोलुखुम्बु, दार्चुला र म्याग्दीको प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २७ र जिल्ला अधिवेशन मङ्सिर १ गते तोकिएको छ।

जुम्ला जिल्ला अधिवेशन पनि सोही दिन हुनेछ। अहिलेसम्म कुनै तहको पनि अधिवेशन सुरु नभएको प्रदेश २ को रौतहटबाहेकका सातसहित १२ जिल्लाको वडा अधिवेशन कात्तिक २७ गते तोकिएको छ। कात्तिक ३० गते पालिका तहको अधिवेशन हुनेछ। मङ्सिर ३ गते प्रदेशसभा क्षेत्र, ६ गते प्रतिनिधिसभा क्षेत्र र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन तोकिएको छ। मङ्सिर १० गते जिल्ला अधिवेशन गर्न भनिएको छ। योसँगै मङ्सिर ३, ६ र १० गते ५८ जिल्लामा एकैसाथ प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन हुनेछ।

सह महामन्त्री थप्ने रणनीति

काँग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४औँ महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सह महामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा सहज बनाउन तीन सह महामन्त्री थप गर्ने पक्षमा देखिएका हुन्।

दुवै समूहका दोस्रो तहका नेताहरूले सभापतिमै प्रतिस्पर्धा गर्ने जनाउँदै तयारी गरिरहेका बेला सह महामन्त्रीको पद थप गरेर निकट नेताहरूलाई आफ्नै समूहमा व्यवस्थापन गर्ने रणनीति देउवा र पौडेलले लिएको स्रोतको दाबी छ।

सह महामन्त्री थप गर्दा पद नपाएर अर्को समूहमा जा नसक्ने नेताहरूलाई रोक्न सकिने दुवै नेताहरूको बुझाइ छ। यसबाट सभापतिको प्रत्याशी बन्ने घोषणासहित तयारीमा जुटेका उपसभापति विमलचन्द्र निधि र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला कमजोर हुने बुझाइमा देउवा र पौडेल रहेको एक नेताले बताए।

सह महामन्त्रीका आकाङ्क्षी नेताहरूको व्यवस्थापन गर्न नसके निधि, सिटौलासहितका समूहबाट महामन्त्रीको प्रत्याशी बन् नसक्ने बुझाइ देउवा र पौडेलको छ। यस्तो हुन नदिन सह महामन्त्रीको सङ्ख्या बढाउने पक्षमा देउवा र पौडेल रहेका छन्।

देउवा सह महामन्त्रीको पद बढाएर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्मासहितका नेतालाई आफ्नै समूहमा समेट्ने पक्षमा छन्। शर्मासहितका संस्थापन पक्षका अन्य नेतालाई समेट्न नसक्दा उनीहरू निधि समूहमा जा नसक्ने बुझाइमा देउवा रहेको निकट स्रोतको दाबी छ।

कम्तीमा तीन सह महामन्त्री थप हुँदा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एसपी साउद, सुनिलबहादुर थापा, विश्वप्रकाश शर्मासहितका नेतालाई महामन्त्री र सह महामन्त्रीमा राखेर टिम निर्माण गर्न सकिने देउवासहित उनी निकट नेताहरूको बुझाइ छ। यसबाट सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका निधि थप कमजोर हुने उनीहरूको विश्लेषण छ। संस्थापन पक्षका गोपालमान श्रेष्ठले पनि सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्।

त्यस्तै, संस्थापन इतर समूहबाट आधा दर्जन नेताले सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका छन्। तर, संस्थापन इतर पक्षबाट सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला एक अर्कालाई मान्न तयार नहुने र अन्तिममा यो समूहबाट आफू सभापतिको उम्मेदवार बन्ने विश्लेषणमा नेता पौडेल छन्।

१३औँ महाधिवेशनमा तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन पक्षबाट विद्रोह गरेपछि सभापति हुन नसकेका पौडेल यस पटक उनलाई साथ दिएका नेताहरूलाई आफ्नो समूहमा तान्ने रणनीतिमा छन्।

त्यति बेला सिटौला समूहबाट महामन्त्रीको प्रत्याशी बनेका गगन थापा अहिले आफ्नो पक्षमा आएको बुझाइमा पौडेल छन्। सह महामन्त्री पद थपेर सिटौलालाई साथ दिइरहेका प्रदीप पौडेलसहितलाई आफ्नो समूहमा समेट्ने रणनीतिमा नेता पौडेल छन्।

महामन्त्रीको प्रत्याशी बन्ने घोषणा गरेका प्रदीप पौडेललाई आफ्नो समूहमा ल्याएर सह महामन्त्रीमा मनाउने पक्षमा नेता पौडेल छन्। सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका प्रकाशमान र शेखरलाई उपसभापतिमा मनाउने पौडेलको तयारी छ।

मीनचन्द्र रिजाललाई महामन्त्रीमा अघि सार्ने पौडेलको चाहना छ। थापालाई पनि महामन्त्री बनाउन पौडेलमाथि दबाब परेको जानकारी दिँदै स्रोतले भन्यो, ‘अन्य सिनियर ९वरिष्ठ० नेताको व्यवस्थापनलाई पनि ध्यानमा राखेर थापालाई सह महामन्त्री वा महामन्त्रीमा समेटेर टिम बनाउनुपर्छ भन्नेछ।’

अहिलेसम्म संस्थापन इतर पक्षबाटै सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका शशाङ्क, प्रकाशमान, शेखरसहितका नेताले आफ्नो दाबी छाडेका छैनन्। उनीहरू पनि उपसभापति, संसदीय दलको नेतासहित आगामी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेर एक अर्कालाई मनाउने रणनीतिमा छन्।

काँग्रेसमा हाल सभापति, दुई दुई उपसभापति र महामन्त्री, आठ सह महामन्त्री र एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ। कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने विधानको व्यवस्था भए पनि आठ सह महामन्त्री समावेशी सिद्धान्तका आधारमा चुनिन्छन्। आजको नागरिक दैनिकमा समाचार छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्