एमाले महाधिवेशनमा सहभागी हुन आएकाले सडकमै खाना बनाएर खाए [फोटोफिचर]



चितवन । चितवनमा शुक्रवारबाट नेकपा एमालेको १०औँ महाधिवेशन हुँदै छ । मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटेल भरिभराउ भएका बेला जनकपुर, महोत्तरी र सर्लाहीबाट आएका एमाले कार्यकर्ताले भने सडकमै खाना पकाएर खाएका छन् ।

जनकपुरबाट चार वटा जिपमा ५७ जनाको टोली शुक्रबार बिहान ८ बजे चितवन आइपुगेको छ । सर्लाहीको बरहथवा नगरपालिकाबाट दुई वटा बसमा ११५ जना आएका छन् ।   भरतपुरस्थित  बसपार्कमा साढे ८ बजे आइपुगेर उनीहरूले खाना पकाएर खाएका हुन ।

ग्यास, तरकारी, प्लेट, पानी आफैँ ल्याएको कार्यकर्ता सुदिप प्रसाद उप्रेतीले जानकारी दिए ।

महोत्तरी गौशालाबाट २५० जना कार्यकर्ता ५ बजे बसपार्क आइपुगेका थिए । चामल र तरकारी आफ्नै कार्यकर्ताबाट उठाएको गौशाला नगर कमिटी अध्यक्ष अजय कुमार कुशवाहले जानकारी दिए ।

होटेलमा बसेर खर्च गर्नुभन्दा आफै ल्याएर पकाएर खाएको उनले बताए । उनीहरू खाना खाइसकेर महाधिवेशन स्थल नारायणी नदी किनारमा जाने तयारीमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्