ओमिक्रोन त्रासः नौ राष्ट्रबाट नेपाल आउन रोक



कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । सरकारले सङ्क्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा पनि नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बिहीबार बसेको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन साताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

ती मुलुकबाट शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेश गर्न रोक लगाइएको हो । तर, हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले प्रवेश अनुमति पाउने भएका छन् तर अनिवार्य क्वारेनटिनमा बस्नुपर्नेछ ।

सरकारका एक मन्त्रीका अनुसार ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

सबैभन्दा पहिले ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखा परेको थियो । त्यसपछि अहिले हङकङ, दक्षिणी छिमेकी राष्ट्र भारतमा समेत नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि भइसकेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरुषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । यो भेरियन्ट डेल्टाभन्दा पनि निकै सङ्क्रामक हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । यसको सङ्क्रमणको गति विस्तृत अध्ययन हुन बाँकी छ तर यो निकै सङ्क्रामक रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्