सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त



काठमाडौं। दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्ध विच्छेदको घोषणा गरे। विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्। यो निर्णयले फ्यानसँगै ऐश्वर्याका पिता रजनीकान्त पनि निराश छन् । छोरीको निर्णयबाट चिन्तित बनेका रजनीकान्तले अहिले दुवैलाई मिलाउने प्रयास गरिरहेका छन्।

समाचारअनुसार रजनीकान्तमाथि छोरीको सम्बन्ध विच्छेदले नराम्रो असर परेको छ । उनी लगातार रूपमा ऐश्वर्यालाई सम्झाइरहेका छन् । उनले छोरीलाई सम्बन्ध विच्छेदअघिकै जस्तो जीवन बिताउन आग्रह गरिरहेका छन् ।

यता रजनीकान्त ज्वाइँलाई भेट्ने प्रयास गरिरहेका छन् । यद्यपि धनुषले भने रजनीकान्तसँग भेट्न चाहिरहेका छैनन् । उनी रजनीकान्तसँग दूरी बढाइरहेका छन् । धनुष रजनीकान्तको इज्जत गर्ने र उनको भनाइलाई सहज स्विकार्ने भएकाले पनि धनुष रजनीकान्तसँग छलफलमा बस्न चाहिरहेका छैनन् ।

धनुषका पिता कस्तुरी राजाले छोराबुहारीको सम्बन्ध विच्छेदकै कारण पारिवारिक झगडा भएको बताएका थिए । ‘यो परिवार बिचको झगडा हो । विवाहित जोडीबिच यस्तो भइरहन्छ’, उनले भनेका थिए ।

धनुष र ऐश्वर्या दुवैको परिवारले सम्बन्ध विच्छेदको निर्णयलाई पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । सम्बन्ध विच्छेदपछि पनि यो जोडी हैदराबादको एक होटलमा बसेका थिए । यद्यपि सम्बन्ध विच्छेदपछि पनि ऐश्वर्याले सामाजिक सञ्जालबाट पतिको नाम हटाएकी छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्