किसानको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने सिके राउतको चेतावनी



वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । 

बुधवार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए।

‘सरकारले पहिला किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौँ,’ राउतले भने, ‘ माग सम्बोधन नभए अरू ठाउँमा त भन्न सकिन्नँ तर झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौँ,’ उनले भने ।

जनमत पार्टी निर्वाचन विरोधी नभएको बताउँदै राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौँ । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्‍यो । किनकि एक दिनमा यो समस्या समाधान हुने होइन,’ उनले भने ।

अर्को चरणको किसान आन्दोलन फागुन १ गतेबाट घोषणा हुने पत्रकार सम्मेलनमा अध्यक्ष राउतले बताए । मौसमको खराबीका कारण राजमार्ग केन्द्रित आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै उनले फागुनबाट सशक्त कार्यक्रम आउने जानकारी दिए ।

डेढ महिनादेखि किसानको आन्दोलन जारी रहँदा पनि किसानहरूको मागमा सरकारले चासो नदिएको भन्दै उनले आक्रोश समेत पोखे । किसान आन्दोलनमा उठेका माग दीर्घकालीन समाधानका लागि किसानसँग सम्बन्धित विधेयक ल्याएर ठोस कानुन नै बनाउनुपर्ने आफूहरूको माग सङ्घीय सरकारसँग रहेको अध्यक्ष राउतले बताए ।

किसान आन्दोलनको विरोध गर्नेहरूप्रति लक्षित गर्दै अध्यक्ष राउतले थपे, ‘किसान आन्दोलनमा किसानहरूले प्रहरी-प्रशासनको दमनको सामना गरिरहँदा यहीँकै केही पार्टीहरू जो प्रदेश सरकारमा छन् सङ्घीय सरकारमा छन् उनीहरूले आन्दोलनको विरोधमा प्रदर्शन गरे । प्रेस विज्ञप्ति जारी नै गरेर आन्दोलनमा दमन गर्न प्रोत्साहन गरे ।’

कृषि मन्त्री मधेशकै भए पनि किसानको माग सुन्न समेत नचाहेको जिकिर अध्यक्ष राउतले गरे । डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरूको मागमा सरकारले चासो नदिएको प्रति अध्यक्ष राउतले दुःख व्यक्त गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्