गठबन्धन टुटे गठबन्धनमा आबद्ध दलहरू धुलोपिठो हुन्छन् : ओली



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुटेको खण्डमा गठबन्धनमा आबद्ध दलहरू धुलो पिठो हुने दाबी गरेका छन्। नेकपा एमालेको गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आगामी स्थानीय चुनावमा गठबन्धन टुटाएर गए गठबन्धनमा आबद्ध दलहरू धुलो पिठो हुने दाबी गरेका हुन्।

गठबन्धन नटुटाउनका लागि एमसिसी पास गर्ने सहमति भएको खबर आफूले पाएको भन्दै उन भने, ‘भर्खरै मैले सुने, एमसिसी पास गर्ने, गठबन्धन नटुट्ने। यो गठबन्धन टुट्दैन, टुट्नै हुँदैन, टुट्यो भने धुलो पिठो हुन्छ।’ आफूहरू पनि एक्ला एक्लै बोलाएर किस्ता किस्तामा लड्ने पक्षमा नभएको ओलीको भनाइ थियो। हामी लड्न आउनेलाई ‘वान बाई वान’ आऊ भन्दैनौँ, दुवै हातको इशाराले देखाउँदै उनले भने, ‘आऊ एकैपटक भन्छौँ, सबैलाई एकमुस्ट पार्छौँ र एकैपटक पछार्छौँ।’

एमाले अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलहरूमा एक्ला एक्लै चुनाव लड्ने ‘हुत्ती’ नभएको टिप्पणी गरे। गठबन्धन टुटाएर एक्लै चुनाव लड्ने हुत्ती छ भन्ने प्रश्न गर्दै उनले चेतावनी युक्त भाषामा भने, ‘वैशाख ३० गते मात्र आओस् न। एक झट्का हान्दा ७ दिन नउठ्ने गरी पछार्छौँ।’ उनले गठबन्धनमा आबद्ध दलहरूले जसरी ढुङ्गा हानेर नभई जनताको पवित्र मन जितेर चुनाव जित्ने दाबी गरे। ‘जनता कहिले चुनाव आउला र सूर्यमा ड्यामका ड्याम छाप लगाउँला भनेर बसेका छन्,’ उनले भने।

अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलहरूले चुनावमा हारिन्छ भन्ने डरले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाए। ‘चुनाव हुन नदिन प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर मुद्दा दर्ता गरिसकेका छन्,’ उनले भने।
एमालेप्रति जनलहर आएको बताउँदै उनले आगामी चुनावमा एमालेले नजित्ने ठाउँ र कारण नभएको बताए। जनतामा लहर आए पनि नेताहरू ठास्सठुस्स पर्दा केही निराशा छाएको बताउँदै उनले थपे, ‘हामी स–साना कुरामा अल्झिनु देशका लागि दुर्भाग्य हुन्छ, कम्युनिस्ट आन्दोलनका लागि दुर्भाग्य हुन्छ। त्यसैले हामी त्यस्तोमा अल्झिनु हुँदैन।’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनका कार्यकर्ताले एमसिसीको पक्षधरलाई ढुङ्गा हान्नु छाडेर आफूलाई ढुङ्गा हान्ने गरेको भन्दै गुनासो गरे।

‘ढुंगापनि कसलाई हान्ने भन्दा एमसिसी नेपालमा ल्याई पाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोमा हिँड्दा ढुङ्गा हान्दैनन्, बरु ताली बजाउँछन्। एमसिसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुङ्गा हानिँदैन। नेपाली काँग्रेसले एमसिसी पास गर्नुपर्छ भन्छ तर ढुङ्गा हानिँदैन।

संसद्मा टेबल गर्ने सभामुखलाई पनि ढुङ्गा हानिँदैन। तर मलाई ढुङ्गा हानिन्छ,’ उनले भने। सत्तारुढ गठबन्धनले तमासा देखाइरहेको टिप्पणी गर्दै उनले भने,‘देशमा शान्ति सुव्यवस्था छैन, तमासा पनि हदको हुन्छ नि सरकारमा पनि उनै छन्, कार्यकर्ता पठाएर बाटो भत्काउन उनैले पठाउँछन्, प्रहरी र मान्छे देख्नै हुँदैन ढुङ्गा हान्छन्।’

अध्यक्ष ओलीले एमालेलाई खुत्रुकेको रूपमा नबुझ्न काँग्रेस, माओवादीलाई चेतावनी दिए। ‘हिजो मेरो प्रधानमन्त्री र प्रचण्ड दुवैसँग भेट भएको थियो। मैले दुवैलाई भनेको छु, हामीलाई खुत्रुकेका रूपमा नबुझ्नुस्, जसलाई जति बेला चाहियो त्यति बेला फुटाएर काम चलाउने,’ उनले भने। उनले एमाले प्रधानमन्त्री पदका लागि स्वाँस्वाँ र फ्वाँ फ्वाँ गरेर कुद्ने पार्टी नभएको बताए।

आफू नेतृत्वको सरकार ढालेर प्रचण्ड र माधव नेपालले जनतालाई धोका दिएको उनले आरोप लगाए। उनले माधव नेपाल कम्युनिस्ट नै नभएको भन्दै उनको पछि नलाग्न नेकपा एकीकृत समाजवादीका कार्यकर्ता लाईसमेत आग्रह गरे।
अध्यक्ष ओलीले एमालेका नेतारकार्यकर्ताहरू केही पाउँला र खाउँला भनेर राजनीतिमा नलागेको बताए।

‘एमालेमा दृढता छ देश बनाउने, अठोट, प्रतिबद्धता र सङ्कल्प छ देश बनाउने। त्यहीँ भएर प्रतिपक्षमा हुँदा पनि एमालेमा आउनेको लहर छ,’ उनले भने। कसैले एमालेले सरकारमा हुँदा के र्गयो भनेर प्रश्न सोधेमा आफै बसेको वरीपरि देखाइदिन ओलीले सुझाव दिए। ‘यता, उता, जताततै भएका विकास देखाउन सक्नुहुन्छ, केहि पाउनु भएन भने नेपालको नक्सा देखाइदिनुस्,’ उनले भने। गुमेको भू–भाग फिर्ता ल्याएकाले त्यहीँ नक्सा मात्रै पनि विपक्षीका लागि काफी हुने उनको भनाइ थियो। नागरिक दैनिकमा समाचार छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्