पुच्छरले हल्लाएका मान्छेहरू- डा. टीकाराम पोखरेल

लघुकथा


लघुकथा : पुच्छरले हल्लाएका मान्छेहरू डा. टीकाराम पोखरेल उसका पार्टीका कार्यकर्ता उसलाई नेता मात्र देख्दैनथे, राजनेता नै देख्थे । उसका पार्टीका कार्यकर्ता जस्तै अर्को पार्टीका कार्यकर्ता पनि आफ्नो पार्टीको नेतालाई विशुद्ध नेता मात्र होइन, प्रजातन्त्रको पर्यायवाची नै ठान्थे राजनीतिक बजारमा विशुद्ध नेता कोही थिएनन् । राजनेता, प्रजातन्त्रवादी नेता, राष्ट्रवादी नेता, दलित नेता, महिला नेतृ, विकासवादी नेता, जनजाति नेता, त्यागी नेता आदि प्रशस्तै विशेषणधारी नेता मात्र थिए । हरेक नेताको एउटा न एउटा पुच्छर झुन्डिएको थियो । राजनीतिक बजारको पुच्छर आतङ्कले अन्य क्षेत्रलाई पनि गाजेको थियो । महान् चित्रकार, महान् कलाकार, प्रसिद्ध समाजसेवी, समाजवादी चिन्तक, राष्ट्रिय खेलाडी, वरिष्ठ पत्रकार, युवा कवि, बाल प्रतिभा जस्ता पुच्छरधारीहरू बग्रेल्ती थिए । तर पुच्छर नभएका मान्छे भने बजारमा कमै थिए । बजारमा पुच्छर भएको मान्छेको राम्रो भाउ थियो, पुच्छर नभएकाहरू भने बिक्री हुँदैनथे। त्यसैले पुच्छर नभएकाहरू पनि पुच्छर उमार्ने दौडाहामा थिए । कारण प्रस्ट थियो- मान्छेले पुच्छर हल्लाउने युग समाप्त भएर पुच्छरले मान्छेलाई हल्लाउने युगको सुरुवात भैसकेको थियो ।

लघुकथा  लेखक : डा टिकाराम पोख्रेल राष्ट्रिय मानव अधिकार आयोगका प्रबक्ता हुन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्