जनताको घरघरमा पुगेर सरकारका कामबारे सुझाव लिनुस् : गृहमन्त्री श्रेष्ठ



कास्की। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीन वटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

पोखरामा आज नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको सातौं पूर्ण बैठकमा उनले संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको मोर्चा नै अहिले मुख्य रहेको र सदन सहयोगी रहेको उल्लेख गरे। उनले नेपाली जनताको जीवनमा तात्कालिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुपर्नेमा जोड दिए।

पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले भने, ‘हालका उपलब्धिलाई राजनीतिक परिवर्तनको क्षेत्रमा सीमित गरियो भने परिवर्तनको औचित्य आम जनतामा पुष्टि हुन सक्दैन। जनताको जीवनमा राजनीतिक परिवर्तनले परिवर्तन ल्याउन सक्नुपर्दछ।’

राष्ट्रिय एकता सुदृढ गर्नु, हालसम्मका उपलब्धि र संविधानको रक्षा गर्नु, संविधानलाई माध्यम र साधन बनाउँदै सामाजिक, आर्थिक रूपान्तरण गरी विकास र समृद्धिको यात्रा तीव्र बनाउनु देशको मुख्य कार्यभार रहेको उनले बताए।

वर्तमान सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामलाई छिटो टुंगोमा पुर्‍याउन चाहेको श्रेष्ठले बताए। ‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्ने छ, द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने छ, यस पटक हरहालतमा संक्रमणकालीन न्यायको काम पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा टुंगोमा पुर्‍याउन सरकार लागिपरेको छ,’ गृहमन्त्री श्रेष्ठले भने।

पार्टीले आगामी भदौ १६ देखि सञ्चालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’लाई गण्डकी प्रदेशमा प्रभावकारी बनाउने गरी लाग्न यस प्रदेशका नेता-कार्यकर्तालाई उनले निर्देशनसमेत दिए। अभियानका क्रममा नयाँ सदस्यता वितरण, संगठन सुदृढीकरण, संगठन पुनः गठन र विस्तारको कामलाई व्यवस्थित गर्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आग्रह गरे।

उनले भने, ‘जनताको बीचमा जाँदा हरेक जनताको घरमा पुग्नुपर्दछ, हाम्रो पार्टीको समर्थक मात्र होइन, विपक्षीको घरमा पुगेर सरकारले सुशासनका लागि गरेका कामका बारेमा सुझाव लिनुहोला। हामीले गरेको काम जनतालाई बताउनुपर्दछ, सुझाव लिनुपर्दछ र जनताले गाली गरे पनि सहनुपर्दछ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्