नेपाली राजनीतिमा प्रदीप गिरिको अभाव खड्किरहेको छ : प्रधानमन्त्री



लहान। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको अभाव नेपाली राजनीतिमा खड्किरहेको बताएका छन्।

आज सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरि आश्रम’ मा नेता गिरिको प्रथम वार्षिकी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्व नेता गिरिको विचार र चिन्तनको मौलिकता तथा सबैसँग सरल र सहज सहकार्य गर्नसक्ने विलक्षण क्षमता भएकाले उहाँबाट सिक्न धेरै कुरा बाँकी रहेको महसुस गरेकोे बताए।

“प्रदिप गिरि मौलिक र विलक्षण चिन्तनको धनी हुनुहुन्थ्यो । उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन, राजनीतिक विश्लेषण र तिनलाई हेर्ने उहाँको आफ्नै मौलिक दृष्टिकोण थियो। जसको कारणले नेपाली समाजको सबै वर्ग, तह र तप्काले उहाँलाई उत्तिकै सम्मान र भरोसा गरिरहेका छन्”, प्रधानमन्त्री दाहालले भने, “प्रदिप गिरिको तुलना अरु कोहीसँग गर्न कठिन छ। उहाँको उच्च विचार र राजनीतिक संस्कारबाट हामीले ऊर्जा लिनुपर्छ।”

त्यसैगरी नेता गिरिको निधनले आउने पुस्ताका लागि विचार, चिन्तन र ऊर्जा प्राप्तिमा अमर रहिरहने विश्वास रहेको उनले व्यक्त गरे। प्रदिप गिरि मेमोरियल ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले नेता गिरिको पूर्णकदको शालिक अनावरण गरे।

समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले सिरहाको भौतिक पूर्वाधारको विकास र लहानमा प्रदीप गिरिको नाममा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। “विसं २०७० को निर्वाचनमा सिरहाले मलाई जिताएर नै म दोस्रो पटक प्रधानमन्त्री बनेको थिएँ। तपाईंहरूले लगाएको गुन मैले पूरै तिर्न पाएको छैन, यो पटक कुनै न कुनै रूपमा तिर्नु छ”, उनले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्