नीतिगत परिवर्तनविना परिवर्तनको अनुभूति हुँदैन : मन्त्री शर्मा



काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि कानून र नीति निर्माणमा जोड दिएको बताएकी छन्।जनपत्रकार सङ्गठनका केन्द्रीय पदाधिकारीसँगको भेटमा उनले नीतिगत परिवर्तनविना परिवर्तनको अनुभूति नहुने भएकाले आफू पुराना कानूनको परिमार्जन र आवश्यक कानून निर्माणको गृहकार्यमा रहेको बताइन्।

सञ्चार, सूचना प्रविधि, चलचित्र सबै क्षेत्रमा पुराना कानून रहेको उल्लेख गर्दै उनले पुराना कानूनको समयानुकूल परिमार्जन र नयाँ कानून निर्माणमा ध्यान दिइएको बताइन्।

मन्त्रालयले विज्ञहरूको टोली नै बनाएर राय सुझावसहितको प्रतिवेदन प्राप्त गरिसकेको उल्लेख गर्दै उनले आम सञ्चार प्राधिकरण, मिडिया काउन्सिल र पत्रकारिता प्रशिक्षण प्रतिष्ठान विधेयकको मस्यौदामा छलफल भइरहेको जानकारी दिइन्।

पुरानो कानूनले अनलाइन मिडियालाई नचिन्ने तर अहिले अनलाइन मिडियाको प्रभाव बढिरहेकाले अनलाइन पत्रकारिताको कानूनी आधार तयार पार्नेतिर मन्त्रालय लागिरहेको पनि मन्त्री शर्माले जानकारी दिइन्।

नयाँ ऐन बन्न समय लाग्ने भएकाले अनलाइन मिडियालाई कानूनी मान्यता प्रदान गर्न सजिलो होस् भनेर केही नेपाल ऐन संशोधनमार्फत अघि बढाउन खोजिएको पनि उनले स्पष्ट पारिन्।

पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोग बढिरहेकाले यसको स्वनियम, सचेतना र नियमनका लागि मौजुदा कानूनको आधारमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका बनाउन थालिएको मन्त्री शर्माले जानकारी दिइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्