एन्फाको १६ औं साधारणसभा काठमाडौंमा सुरु ।।



सैघाली खबर/काठमाण्डौँ, २२ बैशाख।
अखिल नेपाल फुटबल संघ एन्फाको १६ औं साधारणसभा काठमाडौंमा सुरु भएको छ । साधारणसभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका छन् । यही साधारणसभाले आगामी चार वर्षका लागि एन्फाको नयाँ कार्यसमिति पनि चयन गर्नेछ । उद्घाटनपछि समारोहलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले विधि र विधानसम्वत हुन लागेको निर्वाचनपछि आउने नयाँ कार्यसमितिले एन्फालाई चलायमान बनाउँदै नेपाली फुटबलको विकासका लागि सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री विश्वकर्माले एन्फा साधारणसभामा उपस्थित सबै प्रतिनिधिलाई सक्षम नेतृत्व चयन गर्न सुझाव दिएका हुन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय संसद जीवनराम श्रेष्ठले पनि एन्फाको नयाँ नेतृत्व चयनका क्रममा रहेकाले सुभकामना दिएका छन् । त्यस्तै फिफा प्रतिनिधि सञ्जिवन बालासिंघमले फिफा अध्यक्ष जियानी इफान्तिन्होको सन्देश सुनाएका थिए । एन्फा साधारणसभामा जिल्ला, क्लव, खेलाडी, रेफ्री, प्रशिक्षक र महिला संघका गरी २१० प्रतिनिधि सहभागी छन् ।

उदघाटन सकिएपछि बन्दसत्र सुरु भएको छ । नयाँ नेतृत्वका लागि आजै निर्वाचन हुने निर्वाचन समितिले जानकारी दिएको छ । दिउँसो १ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । एन्फा चुनावमा परिवर्तन पक्षधरबाट पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र वर्तमान वरिष्ठ उपाध्यक्ष मणि कुँवर प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि कुँवरले विधान उल्लंघन गरी चुनाव गर्न लागिएको भन्दै चुनाव नलड्ले घोषणा गरेका छन् ।

उनी निर्वाचन प्रक्रियाबाट बाहिरिए पनि चुनावमा अध्यक्षका उम्मेदवारकै रुपमा रहने निर्वाचन समितिका संयोजक अभिवक्ता सुमन केसीले जानकारी दिएका छन् । एन्फा चुनावमा अध्यक्ष, ४ उपाध्यक्ष र ११ सदस्यका लागि निर्वाचन हुनेछ । महिला सदस्यमा भने पेमा लामा निर्विरोध निर्वाचित भइसकेकी छन् । चार उपाध्यक्षका लागि ९ जना चुनावी प्रक्रियामा छन् । यद्यपि कुँवर प्यानलबाट उपाध्यक्षका उम्मेदवार कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दले पनि निर्वाचन बहिष्कार गरेका छन् ।

त्यस्तै ११ जना केन्द्रीय सदस्यका लागि २९ जना चुनावी प्रतिस्पर्धामा छन् । एन्फा चुनावमा ७७ मत हुन्छ । जसअनुसार ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ९ बी डिभिजन क्लब, ५ सी डिभिजन क्लब, महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघका एक–एक प्रतिनिधिले चुनावमा मताधिकार प्रयोग गर्न पाउँछन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्