त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता विस्तारः २ वर्षसम्म भएन टेन्डर



सैघाली खबर, २९ जेठ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त हुनेबित्तिकै रवीन्द्र अधिकारीले बढिरहेको हवाई चाप कम गर्न आफू व्यवस्थापकको रूपमा काम गर्न तयार रहेको बताए । मन्त्री अधिकारीले तत्कालको समस्या समाधान गर्न भन्दै २१ घण्टा विमानस्थल चलाउनेदेखि काभ्रेको नागिडाँडामा विमानस्थल बनाउनेसम्मको योजना अगाडि सारे ।

जसमा विमानस्थल २१ घण्टा सञ्चालन भयो भने नागिडाँडाको लागि बजेट विनियोजन पनि भइसकेको छ । तर, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको क्षमता विस्तार आयोजनाको बारेमा कुनै प्रतिक्रिया दिएनन् । एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्न थालेको छ । वर्षेनी बढ्ने यात्रु र उडानका कारण सिमित क्षमताको विमानस्थलले धान्न धौ–धौ भए पनि क्षमता विस्तारको काम भने रोकिएको छ ।

क्षमता विस्तारको मुख्य काम पार्किङ वे र ट्याक्सी वे बनाउने कामको लागि टेन्डर नै भएको छैन । स्पेनिस कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेसँगको ठेक्का रद्द भएको २ वर्ष भए पनि उक्त कामको लागि अहिलेसम्म टेन्डर भएको छैन । काम गर्न नसकेको भन्दै सान्जोसेसँग नागरिक उड्डयन प्राधिकरणले ठेक्का रद्द गरेको थियो ।

२०७३ मंसिरमा सान्जोसेसँग ठेक्का रद्द भएपछि विभिन्न प्याकेजमा स्वदेशी कम्पनी पनि सहभागी हुनेगरी टेन्डर गर्ने प्राधिकरणले योजना बनाएको थियो । सोही योजनाअनुसार अन्तर्रा्ष्ट्रिय टर्मिनल भवनको क्षमता विस्तार, र टर्मिनल भवनभित्रको युटिलिटीको काम गर्न स्वदेशी कम्पनीले ठेक्का पाएर काम गरिरहेका छन् ।

त्यस्तै दक्षिणतिर ३ सय मिटर धावन मार्ग विस्तारको काम पनि टेन्डर भएको छ । चिनियाँ कम्पनीले जिम्मा पाएको उक्त धावनमार्ग विस्तारको अझैसम्म सुरु भएको छैन । विमानस्थलमा यात्रु क्षमता थेग्न नसक्ने टर्मिनल भवन, पर्याप्त पार्किङ वे नभएको भन्दै एसियाली विकास बैंकको ऋण सहयोगमा विमानस्थलको क्षमता विस्तार आयोजना अगाडि बढाइएको थियो । धावन मार्गसँगै समानन्तर ट्याक्सी वे बनाउने, १९ वटा पार्किङ वे बनाउने, टर्मिनल भवनको क्षमता विस्तार गर्ने उक्त आयोजनाको उद्देश्य रहेको थियो ।

जहाज होल्ड हुने मुख्य कारण मध्येको एक पार्किङ वे अभाव हो, त्यस्तै धावनमार्ग बराबरको समानन्तर ट्याक्सी वे नहुँदा उडान तथा अवतरणले समय बढी लिने गरेको प्राविधिकहरूले भनाइ छ । यस्ता पूर्वाधार निर्माण भएपछि हालको भन्दा २० देखि ३० प्रतिशत ट्राफिक क्षमता बढ्ने अधिकारीहरूको अनुमान छ । तर पनि यो कामको लागि टेन्डर हुन सकेको छैन ।

अरु तीनवटा प्याकेजको टेन्डर भएको चौथो प्याकेजको लागत अनुमान र टेन्डर डकुमेन्ट अन्तिम चरणमा रहेको प्राधिकरणको प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘सान्जोसेसँग रद्द भएपछि आयोजनाको लागत, डिजाइनमा पनि हेरफेर गर्नुपर्ने भयो त्यसैले अहिले त्यसको काम अन्तिम चरणमा पुगेको छ’ उनले सेतोपाटीसँग भने । अधिकारी मन्त्री भएपछि पनि यो प्याकेजले गति लिन सकेको छैन । मन्त्री अधिकारीको ध्यान विमानस्थल २१ घण्टा चलाउने, वैकल्पिक विमानस्थल बनाउनेतिरमात्र रहेको पर्यटन मन्त्रालयका अधिकारीको भनाइ छ ।

‘मन्त्रीको प्राथमिकतामा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको क्षमता विस्तार परेको छैन, उहाँले खाली देखिने काममात्र ध्यान दिनुभएको छ’ मन्त्रालयका एक अधिकारीले भने,‘लामो समय लाग्ने आयोजनामा उहाँको खास ध्यान छैन ।’ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा व्यवस्थापन गरेपछि अहिले साँघुरिएको क्षमता कम्तिमा ५ देखि ७ वर्षसम्म लम्बिने एशियाली विकास बैंकको प्रक्षेपण रहेको छ ।।setopati

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्