सुरुङ खन्ने औजारसहित ‘हेभी इक्विपमेन्ट लिजिङ कम्पनी’ खोल्न प्रस्ताव



सैघाली खबर, २९ जेठ।
सरकारले निजी क्षेत्रसँग संयुक्त रुपमा हेभी इक्विपेन्ट लिजिङ कम्पनी खोल्न प्रस्ताव गरेको छ । देशमा पूर्वाधार विकासका लागि आधुनिक हेभी इक्विपमेन्टको अभाव रहेको ठहर गर्दै सरकारले निजी क्षेत्रसँग साझेदारी गर्न खोजेको हो । अर्थमन्त्री युवराज खतिवडाका अनुसार यसमा निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया पनि दिएको छ । अब यसका लागि थप छलफल गरेर अघि बढ्ने तयारी अर्थ मन्त्रालयको छ । सरकारले यो वर्षबाट पूर्वाधारमा सुरुङ अर्थात टनेलिङ प्रविधिलाई प्राथमिकता दिने बताएको छ ।

त्यसलाई अघि बढाउने मूल ध्येयसहित औजार मेसिनरी भाडामा दिने कम्पनी खोल्न गृहकार्य सुरु भएको हो । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा लिजिङ कम्पनी खोल्न सकिए देशमा आधुनिक पूर्वाधारहरुको विकासमा महत्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री खतिवडा बताउँछन् । ‘निर्माण व्यवसयमा देखिएको समस्या क्षमताका कारण नै हो । धेरै ठेक्का लिने अनि क्षमता र मेसिन औजार नपुग्ने भयो ।

कहिलेकाँही परामर्श सेवा पनि ढिलो भइरहेको छ,’ अर्थमन्त्री खतिवडाले भने,’यी सबै कुरालाई ध्यानमा राखेर संयुक्त रुपमा निर्माण सामाग्री लिजमा दिने लिजिङ र परामर्श कम्पनी खोलौं भनेर मैले आह्वान गरेको हुँ ।’ अहिले ठूला पूर्वाधार निर्माण गर्दा भारत, युएई लगायतका मुलुकका कम्पनीबाट आधुनिक मेसिनरी भाडामा ल्याउनुपर्ने अवस्था छ ।

अग्ला भवनकै लागि जग खन्ने लगायतका प्रयोजनमा आवश्यक मेसिनरी नेपालका व्यवसायीसँग पनि छैन । सरकारसँग पनि आधुनिक निर्माण मेसिनहरु छैनन् । पूर्वाधारको विकासका लागि अब आधुनिक मेसिनरीको अभाव हटाउन सरकारले निजी क्षेत्रको साथ खोजेको हो । टनिलिङका लागि आवश्यक टीबीएम मेसिनसहितका आधुनिक उपकरण प्रस्तावित कम्पनीले ल्याएर भाडामा लगाउनेछ । ‘टनेलिङ टेक्नोलोजीको माग मुलुकभर अत्यधिक छ । जहीँ पनि पहाडको मुनि प्वाल पारिदिनुस् न १५ किलोमिटर, ३० किलोमिटर बाटो छोटिन्छ भन्नेहरु छन् । तर, हामीले टीबीएम मेसिन भनेको भेरी(बबई डाइभर्सनमा एउटा देखेका छौं ।

त्यस्ता ४(५ वटा मेसिन ल्याउन सकियो र त्यसको कन्सलटेन्सी पनि सँगै गर्न सकिने भने निजी क्षत्रेको निर्माण व्यवसय माथि जान्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘यो गर्न सकियो भने सरकारले पनि पूर्वाधार विकासको काम छिटो गराउन सक्छ । त्यसमा हामी संयुक्त रुपमा काम गर्न चाहन्छौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सरकारको प्रस्ताव सकारात्मक भएको बताउँछन् । आधुनिक पूर्वाधारहरुको निर्माणका लागि हेभी इक्विपेन्टको लिजिङ सेवा नेपालबाटै उपलब्ध गराउन सके त्यसले मुलुकलाई ठूलो लाभ मिल्ने शर्माको भनाइ छ ।

‘अब यसमा गृहकार्य जरुरी छ । हामी पनि सरकारलाई यस्तो कम्पनी खोल्न भनिरहेका थियौं । यसवर्षको बजेटमै यो विषय आएको छ,’ शर्माले भने,’पूर्वाधारको विकासलाई अघि बढाउन यस्तो कम्पनी फलदायी सिद्ध हुन्छ ।’ शर्माका अनुसार यस्तो कम्पनीमा इक्विपमेन्ट मात्रै नभएर पूर्वाधार विज्ञहरुको पनि जरुरत पर्छ ।

त्यसैले कन्सल्टेन्सी पनि सँगै जोडेर कम्पनी बनाउनुपर्ने हुन्छ । ‘विदेशमा कतै सरकारले नै यस्तो कम्पनी चलाउँछ । कतै निजी क्षेत्रले नै थेगेका छन् । नेपालमा भने सरकारले मात्रै गर्दा व्यवस्थापनमा समस्या हुन सक्ने भनेर पीपीपी मोडलमा जान खोजिएको हो,’ शर्माले भने, ‘यसलाई अघि बढाउन निजी क्षेत्र तयार छ ।।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्