कृष्ण अधिकारी
काठमाडौ, ३० जेठ
दुई वर्षअघिसम्म मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका नामटारकी चन्द्रकला रुम्बा घरायसी कामबाहेक अशिक्षाले गर्दा अरु कामधन्दा गर्न नजान्ने भएकाले घरमै सीमित थिइन । छोरीले पढ्न हुँदैन भन्ने सामाजिक अन्धविश्वास र घरको आर्थिक अवस्थाले गर्दा उहाँको विद्यालय जाने चाहना कहिल्यै पूरा भएन ।
सानो उमेरमै बिहे भएर अर्काको घरमा गएपछि त मेलापात, घरधन्दा र चुलोचौकामा नै उनको आधा जीवन बित्यो । आफ्नो पर्याप्त जग्गा नभएकाले अर्काको जग्गा अधियाँमा कमाएर र ज्याला मजदुरीबाट घरको गुजारा चलाउन उहाँलाई हम्मेहम्मे पर्दथ्यो ।
रातपछि बिहान भएजस्तै उनको जीवनमा पनि घाम उदायो । दुई वर्षअघिसम्म गरिब परिवारकी गृहिणीको रुपमा रहेकी उहाँको एक्कासी परिचय सफल महिला व्यवसायीको रुपमा फैलिएको छ ।
४२ वर्षीया चन्द्रकलाको जीवनले विस्तारै कोल्टे फेर्न थाल्यो ।
घर उही, परिवार सदस्य उति नै, तर फेरिंदो जीवन । वल्लोपल्लो गाउँमा समेत उहाँलाई नचिन्ने कमै होलान । सङ्घर्षशील महिलाको रुपमा चिनिनुहुन्छ उहाँ । दुई छोरा, दुई छोरी र श्रीमान गरी छ जनाको परिवार उहाँकै पाखुरामा निर्भर रहेको छ । श्रीमान शारिरीकरुपमा अशक्त भएकाले घर व्यवहारको जिम्मेवारी पनि उहाँकै काँधमा रहेको छ ।
गाउँघरमा अरुले तरकारी खेतीबाट पैसा कमाएको देखेर उहाँलाई पनि तरकारी खेती गर्ने विचार आयो । जग्गाको नाममा भएको आठ कठ्ठामा सानो खरको छानो भएको घर बनाएर बसेको थियो उहाँको परिवार । तरकारी लगाउने प्रसस्त बारी नभए पनि उहाँले अरुको अधियाँ कमाएर खेती सुरु गरेकी छिन ।
थोरै जग्गामा लगाएको तरकारीले सुरुमै राम्रो आम्दानी दिएपछि उहाँलाई व्यावसायिक रुपमा तरकारी खेती गर्ने जाँगर बढ्यो । कमाएको आधा साहूलाई दिनुपर्दथ्यो र समय अनुसार विउबीजन नपाउँदा कहिलेकाहीँ त उनलाई खेती छोडेर अन्य व्यवसाय गर्ने विचार पनि नआएको होइन । तर त्यस्तो व्यवसाय गर्न उहाँसँग पूँजी नभएको र कसैले दुई÷चार हजार रुपैयाँ पनि नपत्याउने भएकाले तरकारी खेतीमै निरन्तर लागिरहेकी छिन ।
निरन्तरको साधनाले सफलता दिन्छ भने झैं २०१४ अप्रिलपछि उनको तरकारी खेतीले फस्टाउने अवसर पायो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र एमडिसी नेपालको प्राविधिक सहयोगमा गाउँमा भू–क्षय रोकथामद्वारा जलवायु समानुकूलनमा समुदायको दिगो जीविकोपार्जन कार्यक्रम लागू भएपछि उनलाई ढुङ्गा खोज्दा देवता मिलेजस्तै भयो । यसले उहाँलाई पुनः तरकारी खेतीमै लाग्ने प्रेरणा मिल्यो ।
कार्यक्रमले विभिन्न समूहमा जैविक वातावरणमैत्री ताजा तरकारी उत्पादन सम्बन्धी तालिम दिएपछि उहाँमा तरकारी खेतीबाटै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्यो । उहाँलाई लाग्यो अब बल्ल मेरो जिन्दगीले अनेक घुम्ती र खोँचहरु पार गर्दै मूल सडकमा आइपुग्यो । तालिमले उहाँले कसरी तरकारी उत्पादन तथा बजार व्यवस्थापन गर्नुुपर्ने रहेछ भन्ने थाहा पाएपछि उहाँले व्यावसायिक ढङ्गबाट तरकारी खेती गर्ने निधो गरिन ।
सुरुमा आफ्नो आठ कठ्ठा र अरुको अधिँया चार कठ्ठा जमिन लिएर तरकारी खेती गर्न सुरु गरेकी थिइन । बजारमा अरुले उत्पादन गरेको तरकारी आउनुअघि नै आफ्नो तरकारी लैजान सके बढी मूल्य पाइने भएकाले आफूले १२ कठ्ठा जग्गामै बेमौसमी तरकारीहरु लगाउने थालेको उन िबताउँछीन । एकै सिजनमा सबै खर्च कटाएर उहाँले रु.एक लाख ५० हजार खुद नाफा कमाउन सफल एको चन्द्रकलाको भनाइ छ ।
खेतबारीमा मलपनि हुने र दुध तथा मासु बिक्री गरेर आम्दानी पनि गर्न सकिने भएकाले अहिले उहाँले दुई÷तीनवटा भँैसी र केही बाख्रापनि पाल्न थालेकी छिन । प्राङ्गारिक मल राखेको तरकारीको मूल्य बढी पाउने र रासायनिक मल किन्ने पैसा पनि बचत हुने देखी भैँसी र बाखाको मललाई भकारो सुधार गरी सुधारिएको गोठेमल बनाएको उनी भन्छिन ।
गाई भैँसीको पिसाब सङ्कलन गरी अर्गानिक तरकारी खेती गर्ने उहाँको लगन, मेहनतको गाउँमा सबैले प्रशंसा गर्न थालेका छन । उनको तरकारी अर्गानिक भएकाले मानिसहरु खोजीखोजी घरमै आएर पनि धेरै पैसा तिरेर किन्ने गरेकाले अब उहाँलाई बजारमा बेच्न जानुपर्ने समस्या छैन् । मूल्य पनि राम्रो पाएपछि उहाँको आर्थिक हैसियत बढ्न गएको छ ।
हिजोसम्म अर्काको जगगा अधियाँ गरेर जेनतेन घर परिवार चलाउँदै आएकी चन्द्रकला अहिले समाजमा हुनेखानेमा चिनिन्छीन । दुई छोरी र दुई छोरालाई राम्रो क्याम्पस र स्कुल पढाउन सक्षम उहाँलाई अब घरखर्चमा कुनै समस्या छैन । पहिले खरको छाप्रोमा गुजारा गर्दै आएकामा उहाँले अहिले पक्की बनाएकी छीन ।
उन िभन्छिन्, ‘‘ज्ञान र सीप पाएपछि आफ्नो मेहनतले अघि बढ्छु ।’’ यस वर्ष तरकारी खेतीबाट तीन लाख रुपैयाँ कमाउने उनको योजना छ । पहिले त पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने लाग्थ्यो तर अहिले यहीँ बसेर मेहनत साथ खेती गरियो भने विदेशको भन्दा बढी कमाइ गर्न सकिने रहेछ भन्ने अनुभव उनको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।