पहुँचवाला व्यक्तिलाई रकम दिने प्रचलन कायमै, उपचार खर्चका नाममा रोकिएन राज्यकोष दोहन



सैघाली खबर, ३० जेठ।
उपचार खर्चका नाममा विशिष्ठ र पहुँचवाला व्यक्तिलाई राज्यकोषबाट रकम दिने प्रचलनलाई नेपाल कम्युनिस्ट पार्टीको सरकारले पनि निरन्तरता दिएको छ । सरकारी खर्च कटौति गर्ने राम्रो निर्णयबाट प्रशंसा बटुलेको सरकारले उपचार खर्चका नाममा राज्यकोष दोहन भने रोक्न नसकेको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेयता उपचार खर्चका नाममा बिगतमा जस्तो धेरै व्यक्तिलाई मनपरी रकम वितरणमा रोक लागे पनि केही विशिष्ठ व्यक्तिलाई मन्त्रिपरिषदबाटै निर्णय गरेर दिइएको पाइएको छ ।

उपचार खर्च पाएकामध्ये कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का तथा नेकपा नेता तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको भने निधन भइसकेको छ । यद्यपि बिगतमा जस्तो निवेदनकै भरमा उपचार खर्च दिने प्रवृत्तिलाई भने सरकारले नियन्त्रण गर्न खोजेको छ । कम्युनिष्ट पार्टीको सरकार गठन भइसकेपछि राजपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्का, नेकपा नेता स्वर्गीय जागृत भेटवाल र नेकपाका नेता विश्वेश्वरा दाहाल तथा लव प्रधान मित्रलाई मन्त्रिपरिषदबाट निर्णय गरेर उपचार खर्च दिइएको छ ।

यद्यपि राजपा अध्यक्ष तथा पूर्वमन्त्री ठाकुरले भने राज्यकोषबाट दिने निर्णय भएको उपचार खर्च नलिएको स्रोतले जनाएको छ । दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएका ठाकुरको हकमा सरकारले गत वैशाख ४ गतेको निर्णयअनुसार बिल बमोजिम भुक्तानी गर्न दिल्लीस्थित दूतावासलाई निर्देशन दिएको थियो । सरकारको निर्णयबारे जानकारी गराउन मेदान्त अस्पताल पुगेका कार्यवाहक राजदूत भरत रेग्मीले बिल बमोजिम भुक्तानी गर्ने जानकारी दिएका थिए ।

तर ठाकुरले उपचार खर्च लिन रुचि नदेखाएको र उनको उपचार खर्च अरु नै व्यक्तिले व्यहोरेको स्रोतले जनाएको छ । यद्यपि सरकारको निर्णयअनुसार बिल बमोजिम भुक्तानी गर्ने निर्णय भइसकेकाले ठाकुर परिवारले बिल पेश गरेमा सो रकम भुक्तानी हुनेछ । मन्त्रिपरिषदको चैत १४ गतेको बैठकबाटै खुमबहादुर खड्कालाई १५ लाख र जागृत भेटवाललाई पनि १५ लाख रुपैयाँ उपचार खर्च बापत दिने निर्णय भएको थियो ।

त्यस्तै चैत २४ गतेको मन्त्रिपरिषद बैठकले चितवनको भरतपुर–११ का बासिन्दा ध्रुव घिमिरेलाई उपचार खर्च बापत ७ लाख रुपैयाँ दिइएको छ । घिमिरे तीनै व्यक्ति हुन् जसकी छोरी अन्जनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मिर्गौला दिएकी थिइन् । ओलीको मिर्गौलाले काम नगरेपछि अन्जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । अन्जना नाताले ओलीकै भाइबुहारी पनि पर्छिन् । उनका पिता ध्रुव घिमिरे तत्कालिन एमालेका कार्यकर्ता हुन् ।

घिमिरेले आफूलाई ओलीसँग भेट गर्न नदिइएको र गुनासो नसुनेको भनेर पार्टीमा असन्तुष्टि जनाउने गरेका थिए । सरकारले नेकपाका पुराना नेता तथा विराटनगरका पूर्वमेयर लव प्रधानलाई ९ लाख रुपैयाँ र नेकपाकै पूर्वसांसद तथा शहीद रामनाथ दाहालकी पत्नी विश्वेश्वरा दाहाललाई उपचार खर्च बापत ७ लाख रुपैयाँ दिइएको छ ।

उनीहरु दुवैलाई वैशाख ११ को मन्त्रिपरिषद बैठकबाट उपचार खर्च दिने निर्णय भएको थियो । सरकारले उपचार खर्च दिएका व्यक्ति पटकपटक सांसद, मन्त्री वा राज्यका बिभिन्न पदमा पुगेका व्यक्ति नै हुने गरेका छन् । ओली नेतृत्वको सरकारले उपचार खर्च लगायत राज्यकोषबाट रकम बाँड्ने प्रचलन बन्द गर्ने भने पनि अझै केही व्यक्ति अपवादमा परेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्