विश्वकप फुटबल : नेपाली कलाकार कस्को फ्यान ?



सैघाली खबर, ३१ जेठ।
८८ वर्षे विश्वकपको इतिहासमा सर्वाधिक महँगो मानिएको ‘२१ औँ फिफा विश्वकप २०१८’ रुसमा शुरु भएको छ । ३२ देशका खेलाडीको प्रतिनिधित्व रहने रोमाञ्चित प्रतिस्पर्धात्मक खेल सुरु नहुँदै देश र खेलाडीको समर्थनमा सामाजिक सञ्जाल रङ्गिन थालिसकेका छन् । सबैले विश्वकप जित्न सक्ने टिम र देशको विषयमा आआफ्नै अड्कलबाजी पनि देख्न पाइन्छ । फुटबलको यो महाकुम्भ मेलासँग नेपाली कलाक्षेत्र पनि अछुत रहन कहाँ सक्छ र ? नेपाली कलाकार पनि यो खेलको विषयलाई लिएर निकै उत्साहित देखिएका छन् । केही कलाकारले आफ्नो मनपर्ने टिम र खेलाडीको समर्थनमा जर्सी लगाएर फोटो खिचाएको समेत देख्न सकिन्छ । यो विश्वकपमा कलाकारले समर्थन गर्ने टिम र खेलाडीको विषय यहाँ चर्चा गर्न सकिएको छ ।

भुवन केसी
सदाबहार अभिनेता भुवन केसी अहिले छोरा अनमोललाई लिएर फुटबल खेलको विषयमा ‘क्याप्टेन’ चलचित्र बनाइरहेका छन् । उनी पनि अर्जे्न्टिनाका समर्थक हुन् । मन पर्ने खेलाडी म्यारोडोना भएको उनी बताउँछन् ।

दीपकराज गिरी
कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीले सन् १९९० देखि अर्जे्न्टिनाको समर्थक गर्दै आएका छन् । अर्जे्न्टिना यसपालि कपको प्रमुख दाबेदार नभए पनि जित्न सक्ने उनले बताए । ‘छक्का पन्जा ३’ चलचित्रको सुटिङका लागि पोखरा रहेका उनको मनपर्ने खेलाडी मेस्सी, अगुइरो हो ।

प्रियङ्का कार्की
पछिल्लो समय व्यस्त र दर्शकले रुचाएको अभिनेत्री मध्यकी एक हुन् प्रियङ्का । प्रियङ्काको मनपर्ने टिम स्पेन हो । वल्र्डकप स्पेनले उठाउन सक्ने बताउने उनी खेलाडीमा डेभिड सिल्भा मन पराउँछिन् ।

प्रदीप खड्का
केही सफल चलचित्र दिएका अभिनेता प्रदीप खड्का ब्राजिलको समर्थनमा उभिएका छन् । नेयमार खेलाडी मन पराउने उनी वल्र्डकप ब्राजिलले नै जित्ने बताउँछन् ।

जीतु नेपाल
हाँस्य कलाकार जीतु नेपाल अर्जे्न्टिना र पोर्चुगल दुवैको समर्थक हुन् । डाइहार्ट रूपमा कसैको समर्थन गरेर झगडा गर्दै हिँड्ने, अरूलाई गाली गर्नेमा आफू नपर्ने उनले बताए । ‘यसो गर्दा अरूको मन दुख्छ’, उनले भने ‘प्रतिभा भएका राम्रा खेलाडी पनि यसपालि आएका होलान् । खेल हेरर मनपर्ने खेलाडी छान्छु ।’

मलिना जोशी
पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी ब्राजिलले विश्वकप जितेको हेर्न आतुर छिन् । आफू फुटबल प्रेमी नभए पनि ब्राजिलको समर्थक पहिलेदेखि नै रहेको उनी बताउँछिन् ।

आर्यन सिग्देल
पछिल्लो समय ‘कायरा’ चलचित्र निर्माण अभिनय गरिरहेका अभिनेता आर्यन सिक्देल पनि ब्राजिलको समर्थनमा छन् । नेयमार खेलाडी मन पराउने उनी ब्राजिलले यसपालि कप उठाउने दाबी गर्दछन् ।

केकी अधिकारी
केही पहिले रिलिज ‘कोहोलपुर एक्सप्रेस’ चलचित्रबाट निर्मातासमेत बनेकी अभिनेत्री केकी पनि अर्जे्न्टिनाको समर्थक हुन् । खेलाडीमा उनलाई मेसीले खेलेको खेल निकै मनपर्छ रे ।

केदार घिमिरे
हाँस्य अभिनेता केदार घिमिरे पनि अर्जे्न्टिनाको समर्थकमा पर्छन् । मेस्सी खेलाडी मन पर्ने बताउँने उनी अर्जे्न्टिनाले यस पटकको वल्र्ड कप उचाल्ने सुनाए ।

झरना थापा
अहिले ‘ए मेरो हजुर–३’ निर्देशनको तयारी गर्दै रहेकी अभिनेत्री निर्देशक झरना थापाको पनि मनपर्ने टिम अर्जे्न्टिना हो । अर्जे्न्टिना वल्र्डकपको दाबेदार बताउने उनी खेलाडीमा मेस्सी मन पराउँछिन् ।

खगेन्द्र लामिछाने
भर्खर प्रदर्शनमा आएको चलचित्र ‘डमरुको डन्डिबियो’बाट सोचेजस्तो सफलता हात पार्न नसकेका अभिनेता खगेन्द्र ब्राजिलले खेल जितोस् भन्ने चाहन्छन् । उनको मनपर्ने खेलाडी भने मेस्सी हुन् ।

निरुता सिंह
पछिल्लो समय भारतमा रहँदै आएकी अभिनेत्री केही समयदेखि काठमाडौँमा छिन् । उनको मनपर्ने फुटबल टिम अर्जे्न्टिना र ब्राजिल हो । यी दुवैमध्ये जुनैले कप उठाए पनि उनी खुसी हुनसक्छिन् । मनपर्ने खेलाडी मेस्सी र थियागो सिल्भा बताइन् ।

पल शाह
मोडलिङबाट चलचित्र अभिनयमा जम्प मारेका अभिनेता पल शाहले चलचित्र भने राम्रो सफलता पाउन सकिरहेका छैनन् । अहिले राम्रो प्रोजेक्टको पर्खाइमा रहेका उनी साउथ कोरिया र जापानको खेल मन पराउँछन् । उनको मनपर्ने टिम नेदरल्यान्ड पनि हो । रोबिनको खेल राम्रो लाग्छ रे उनलाई ।

वर्षा राउत
चर्चा कम भए पनि म्युजिक भिडियो र चलचित्रले गर्दा व्यस्त रहेकी अभिनेत्री हुन् वर्षा राउत । उनी पनि ब्राजिलको फ्यान हुन् । उनको मनपर्ने खेलाडी भने नेयमार रहेका छन् ।

सन्तोष सेन
६ वर्षीय छोरा लिएर चलचित्र बनाउँदै गरेका सन्तोष ब्राजिल टिमको समर्थनमा छन् । आफ्नो मनपर्ने खेलाडी नेयमार भएको उनले बताए ।

रेखा थापा
एक चलचित्र निर्देशन गरिरहेकी अभिनेत्री रेखा पोर्चुगलको समर्थनमा छिन् । क्रिस्टियानो रोनाल्डा उनको मनपर्ने खेलाडी हुन् ।

ऋचा शर्मा
‘सुनकेसरी’ चलचित्र आफ्नै निर्माणमा ल्याएकी ऋचाले सिक्वेलसमेत घोषणा गरेकी छन् । चलचित्रबाट ठूलै आस गरे पनि आमसिक सफलता हात पारेकी अभिनेत्री ऋचा जर्मनी टोलीको समर्थनमा छिन् । उनको मनपर्ने खेलाडी भने क्रिस्टियानो रोनाल्डो हुन् ।

रमेश उप्रेती
लामो समय विदेश बसेर फर्किएका अभिनेता रमेशको कमब्याक चलचित्र राम्रो बन्न सकेन । ‘ऐश्वर्या’ मार्फत निर्मातासमेत बनेर सफलता हात पारेका उनी अर्जे्न्टिनाको समर्थनमा उभिँदै आएका छन् । खेलाडीमा भने मेस्सी मनपर्ने बताए ।।ratopati

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्