नेपालको यथार्थता : रक्सी र कुखुरा खुवाएर बनाइएका सडकमा पहिरो र भेल !



सैघाली खबर, २६ असार ।
यो वर्षको वैशाखमा मात्रै बझाङका रुमैली, थलारा, सबेडाको चौठ्या, लुयाटा मटेलालगायतका ठाउँमा आएको बाढी र पहिरोमा परेर १० जनाले ज्यान गुमाए । ७ हजार रोपनी जमिन बगर बन्यो । दर्जनौं पशु चौपाया मरे । केहि घर परिवार विस्थापित भए । गाउँमा उज्यालोको एकमात्र विकल्प बनेका कयौं लघु जलविद्युत आयोजना पनि बाढीले बगायो ।

सडककै कारण थलारा गाउँपालिका वडा नम्बर ८ को आमवगरमा त गाउँ नै जोखिममा परेको छ । बैशाखमै यस्तो बाढी र पहिरोको प्रकोप भोगेका बझाङका धेरैजसो गाउँका नागरिक बर्खामा के हुने हो भन्ने डरले थुरुरु छन् । यस्तै तेह्रथुमका ६ वटा स्थानीय तहका ४३ वटै वडामा सडक पुगेका छन् । अन्धाधुन्ध खनिएका केहि सडकमा हिउँदमा त गाडी चल्छन्, तर बर्खामा भने धेरैजसो सडकमा कतै पोखरी नै बनेका हुन्छन् भने कतै बाटोको नामो निशानो नहुने गरी सडक बगेका भेटिन्छन् ।

मध्यपहाडी लोकमार्गमा गएको बर्ष एक सय भन्दा धेरै ठाउँमा पहिरो गएको थियो । २६ किलोमिटर लामो जिल्ला भित्रने बसन्तपुर–म्याङलुङ सडकमा पनि पहिरै पहिरा छन्, २६ किलोमिटर पार गर्न न्युनतम ६ घन्टा लाग्ने गरेको छ । जिल्लाका मेन्छ्यायम गाउँपालिकाका कुनै पनि सडक बर्खामा चल्दैनन् । लालीगुराँस गाउँपालिकामा पु¥याइएका सडकमा सानो पानी पर्दा पनि पहिरै पहिरो देखिन्छ । बझाङ र तेह्रथुम त उदाहरण मात्रै हुन् ।

अरु जिल्लाका पनि धेरैजसो गाउँमा बनाइएका अव्यवस्थित सडकको हालत बयान गरिनसक्नु छ । सडकका कारण धेरै गाउँ पहिरोको जोखिममा परेका छन् । अन्धाधुन्ध खनिएकै सडकको कारणले सानो पानी पर्दा पनि ठुलो बाढी आइरहेका छन् । सडककै कारण धेरै पहाडी क्षेत्रमा माथिबाट पहिरो झरेर वस्ती नै सोहोर्ने हो कि तलबाट गाउँ नै तान्ने हो भन्ने खतरा बढ्दै गएको छ । ‘गाउँमा डोजर पुगेपछि आफूलाई पायक पर्ने ठाउँबाटै बाटो लैजान डोजर चालकलाई बेलुकी लोकल कुखुरा र रक्सी खुवाउने अनि आफूलाई अनुकूल हुने ठाउँबाट बाटो खनाइएका धेरै उदाहरण हामीले देखेका छौं’ ।

राष्ट्रिय राजमार्ग र सहायक राजमार्गसडक विभागले बनाउँछ । विदेशी सहयोग र विभिन्न सहायता परियोजनाका ठूला सडक पनि सडक विभाग अन्तर्गत नै बन्दै आएका छन् । यस्ता राजमार्ग बनाउँदा प्राविधिक अध्ययन गरिन्छ र केही हदसम्म वातावरणीय प्रभाव मूल्यांकन पनि गरिन्छ । राष्ट्रिय राजमार्ग र सहायक राजमार्गबाहेकका अरु सडक साविकको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, डोलिडारले बनाउँदै आएको छ ।

डोलिडारले पनि सकभर इन्जिनियरिङ हिसाबले कुन ठाउँबाट सडक खन्दा ठीक छ भनेर प्राविधिक अध्ययन त गर्छ, तर सडक योजनागाउँगाउँमा पुग्दा राजनीतिक दल र पहुँचवालाले प्राविधिक अध्ययन उल्टाएर आफूलाई पायक पर्ने ठाउँबाट बाटो खन्ने गर्छन् । डोलिडारले जिल्लाका सदरमुकामदेखि स्थानीय तहका केन्द्रसम्म जोड्ने २५ हजार ७ सय २८ किलोमिटर र ३१ हजार ९ सय ४ किलोमिटर गाउँ छिचोल्ने गरी ५७ हजार ६ सय ३२ किलोमिटर सडक बनाएको छ ।

५७ हजार किलोमिटर ग्रामिण सडकमध्ये जम्मा २ हजार किलोमिटर सडकमा मात्रै कालोपत्रे गरिएको छ । कच्चीबाहेकको अधिकांश सडकले गाडीलाई भन्दा पनि पहिरोलाई निम्त्याइरहेका छन् । देश संघीयतामा गैसकेपछि वडाले आफूले चाहेको क्षेत्रमा बजेट खर्च गर्न सक्छन् । गाउँघरमा विकास भन्नेबित्तिकै घरघरमा मोटरबाटो भन्ने बुझाइ रहेको छ । चालू आर्थिक वर्षमा धेरैजसो स्थानीय तहले बजेटमा बाटो निर्माणमै खन्याएका छन् । कुनै अध्ययनविना नै रातारात गाउँमा बाटो खनिएको छ ।

गएको हिउँदमा र अहिले वर्खा लागिसकेपछि पनि गाउँमा धेरै सडक खनिएको छ । जभाभावी बाटो खन्दा गाउँमा पहिरो र ठूलो बाढीको डर भएको डोलिडारको स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमका संयोजक तथा सिनियर डिभिजनल इन्जिनियर महेशचन्द्र न्यौपाने बताउछन् ।

गाउँमा इन्जिनियर अध्ययन हुनुपर्छ, सर्वे हुुनुपर्छ भन्ने आवाज उठ्यो भने इन्जिनियरलाई पैसा खान लागेको आरोप लगाइन्छ, नेताले नै इन्जिनियर चाहिन्न भन्छन् अनि त्यस्ता बाटोमा पहिरो नगए के जान्छ त ? लामो समय स्थानीय सडकको क्षेत्रमा काम गरेका सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेत पनि गाउँमा नेताले जता भन्छन त्यतै त्यतै खनिएका सडकले बर्खामा विनाश निम्त्याएको बताउछन् ।ujyaalo

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्