भूकम्पले क्षतिग्रस्त यी १९ अपार्टमेन्टले अझै पाएनन् ग्रीन सर्टिफिकेट



सैघाली खबर, १० साउन ।

भूकम्पले क्षति पुर्याएको १९ वटा अपार्टमेन्टले अझैसम्म ग्रीन सर्टिफिकेट पाएका छैनन । ग्रीन प्रमाणपत्रको मतलब सो अपार्टमेन्ट पुर्णतया बस्न योग्य छ भन्ने हो । क्लासिक टावर, बाग्मती अपार्टमेन्ट, कलश अपार्टमेन्ट लगायत १९ वटा अपार्टमेन्टले ग्रीन प्रमाणपत्र नलगेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका बरिष्ठ इन्जिनियर तथा सूचना अधिकारी लिला खतिवडाले बताए ।

उनका अनुसार क्षति पुगेका ५१ वटा अपार्टमेन्ट मध्ये ३२ वटा अपार्टमेन्ट बस्न योग्य भएका छन् भने १९ वटाले बस्न योग्य भएको प्रमाणपत्र पाएका छैनन् । यद्यपि, खतिवडाले ९ वटा अपार्टमेन्टले बस्न मिल्ने गरी तयार गरिसकेकाले ग्रीन प्रमाणपत्र दिने प्रक्रियामा रहेको बताए । ७ वटाले मर्मत गरिरहेको भएपनि सो बारे विभागलाई कुनै जानकारी गराएका छैनन् । सिग्नेचर एक र सिग्नेचर २ टेकु, बाग्मती अपार्टमेन्ट लगायतले कुनैपनि जानकारी विभागलाई गराएका छैनन् ।

यता बस्नै नमिल्ने अवस्थामा रहेका (रेड स्टिकर पाएका) पार्क भ्यु होराइजन बसुन्धरा र ओरियन्टल दुई कुलेश्वरले रेट्रोफिटको काम अहिलेसम्म शुरु गरेका छैनन् । पार्क भ्यु होराइजनले गत असोज ६ गते नै रेट्रोफिट गर्न विभागबाट अनुमति लगेपनि हालसम्म कुनै काम अघि बढ्न सकेको छैन । रेट्रोफिटको अनुमति लगेको ३ महिनापछि काम शुरु गर्नुपर्ने हुन्छ ।

समयमै काम शुरु नगर्दा विभागले पटक–पटक पार्क भ्यु लाई ताकेता गरेको वरिष्ठ इन्जिनियर खतिवडाले बताए । प्रतिबद्धता अनुसार किन काम गर्न सकेनौँ भनेर स्पष्टिकरण माग्दा उनीहरुले वित्तिय रुपमा अप्ठेरोमा परेको जानकारी गराउने गरेका छन्, उनले भने । ३० महिनामा सम्पूर्ण काम सकेर बस्न मिल्ने बनाउनुपर्ने हो तर अझै  काम शुरु भएन ।

यी हुन ग्रीन सर्टिफिकेट नपाएका १९ अपार्टमेन्ट
१. क्लासिक टावर, हात्तिवन

२. ग्राण्ड अपार्टमेन्ट, धुम्बराही

३. गुण कोलोनी, सिनामंगल

४.कलश अपार्टमेन्ट, ताहाचल

५.कमलपोखरी अपार्टमेन्ट, कमलपोखरी

६. एलएलपि अपार्टमेन्ट, पानीपोखरी

७. एलपी अपार्टमेन्ट, लाजिम्पाट

८. ओरियन्टल २, कुलेश्वर

९. पार्क भ्यु होराइजन, बसुन्धरा

१०.स्ट्याटस इन्क्लेभ, सानेपा

११. सनराइज अपार्टमेन्ट, नख्खु

१२. सनराइज टावर १, बागडोल

१३. सनराइज टावर २, बागडोल

१४ टिसिएच ३, पानीपोखरी

१५. टिसिएच ४, सितापाइला

१६. विनायक अपार्टमेन्ट बालुवाटार

१७. सिग्नेचर १, टेकु

१८. सिग्नेचर २, टेकु

१९. बागमती अपार्टमेन्ट शंखमूल

भूकम्प पछि सुस्तायो नयाँ आपार्टमेन्ट निर्माण
२०७२ सालको भूकम्पले ५१ वटा अपार्टमेन्टमा क्षति पुगेपछि नयाँ अपार्टमेन्टहरु दर्ता हुन  अझैपनि डराइरहेका छन् भन्ने पुष्टि हालसम्म शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालयमा परेको निवेदनले प्रष्ट हुन्छ । ३ वर्षमा जम्मा २ वटा मात्र नयाँ अपार्टमेन्टले निर्माणको लागि अनुमति माग गरेकोमा केही महिना अघि सिइ रियल स्टेट प्रवद्र्धक रहेको प्रिमियर अपार्टमेन्टले मात्र अनुमति पाएको छ ।

महाराजगञ्जमा निर्माण हुने प्रिमियरले २०७४ पुष ३ गते विभागमा अनुमति माग गर्दै निवेदन दर्ता गराएको थियो । यता पुलतीसडकमा निर्माण गर्ने भन्दै अनुमति माग गरेको नन्दनन्दनले भने अनुमति पाउन सकेन । नन्दनन्दनले अपार्टमेन्टसम्म जाने बाटोको स्पष्ट नक्सा देखाउन नसकेकोे र प्रारम्भिक वाताबरण परिक्षण विवरण नबुझाएको भन्दै अनुमति नदिएको खतिवडाले भने ।

हालसम्म काठमाडौ, ललितपुर र भक्तपुरमा गरेर ७४ वटा संयुक्त आवास भवन दर्ता भएको  तथ्याङ्क विभागसँग छ । आर्थिक वर्ष २०६५/६६ बाट दर्ता शुरु भएकोमा ०६९/७० सम्म अपार्टमेन्टहरु सबैभन्दा बढी दर्ता भए । त्यसपछि नयाँ दर्ता गर्नेक्रममा कमी आएको र भूकम्पपछि त झनै कम भएको विभागले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्