जनप्रतिनिधिमाथि कुर्सी प्रहार



रुकुम पूर्व । सिस्ने गाउँपालिका उपाध्यक्षसहितका जनप्रतिनिधिमाथि कुर्सी प्रहार भएको छ । सिस्ने गाउँपालिका–८ नम्बर वडा कार्यालयमा भइरहेको छलफलमा सहभागी उपाध्यक्ष गोवर्द्धन बुढा, ५ नम्बर वडाध्यक्ष शान्तेबहादुर विक, ६ नम्बर वडाध्यक्ष सुदन रेग्मीलगायत माथि कुर्सी प्रहार भएको हो ।

सोही गाउँपालिका ८ नम्बर वडामा उत्पादित विद्युत्‌को विषयमा छलफल गर्ने क्रममा आफूहरुमाथि हमला भएको रेग्मीले बताए।

शनिबार बेलुका जामाखोला लघु जलविद्युत् आयोजनालाई गाउँपालिका मातहत ल्याउने विषयमा छलफल भइरहेको बेला केही युवाले कुर्सी प्रहार गरेको रेग्मीले बताए। ‘छलफल जारी थियो, विद्युत्‌का विषयमा ५ नम्बर वडाध्यक्षज्यु बोलिरहनुभएका बेला केही व्यक्तिले उपाध्यक्षसहित हामीमाथि आक्रमण गरे,’ रेग्मीले भने।

उपाध्यक्षसहित जनप्रतिनिधिमाथि कुर्सी प्रहार गरिएपछि छलफल अगाडि बढ्न सकेन। आफूहरु र वडा कार्यालयमा हमला गर्ने विरुद्ध सार्वजनिक अपराधअन्तर्गतको मुद्दा दिने तयारी गरिएको रेग्मीले बताए। उनले प्रहरीमा मौखिक उजुरी गरिसकेको र लिखित उजुरी आज आइतबार मात्रै गर्ने जानकारी दिएका छन्।

साविक स्यालापाखा गाविसमा निर्माण भएको उक्त आयोजनालाई गाउँपालिका मातहत लिने कि नलिने भन्ने विषयमा विवाद बढ्दै गएको छ। साविकको स्यालापाखा गाविसका १ देखि ७ नम्वर वडावासीको श्रमदानमार्फत उक्त विद्युत आयोजना निर्माण गरिएको थियो।

साविक स्यालापाखा गाविसका ३ र ४ नम्वर वडा रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, मा परेका छन् भने अन्य ७ वडा रुकुम पूर्वको सिस्ने गाउँपालिकाको ७ र ८ नम्बर वडामा परेका छन्।

विशेषगरी मुसीकोट नगरपालिकामा परेका वडावासीहरु विद्युत् आयोजना गाउँपालिका मातहत नभई उपभोक्ता समितिमार्फत नै सञ्चालन गर्नुपर्ने पक्षमा छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्