तपाई कुन हातले लेख्नु हुन्छ ? देब्रे हातले लेख्नेको संख्या किन कम !



काठमाडौं, २० साउन । हातले केही समाउन सिक्ने बेला बच्चाहरूले दुवै हातको प्रयोग गर्छन् । तर बल बढ्दै जाँदा उनीहरूले दुइटै हातको प्रयोग गर्न थाल्छन् । कतिपय बच्चाले दाहिने हातको प्रयोग बढी गर्छन् भने कतिपयले देब्रे हातको ।

हामी बच्चालाई दाहिने हातको प्रयोग गर्न सिकाउँछौं किनकी मान्छेहरूले त्यही हातको बढी प्रयोग गर्छन् । तर त्यसको बावजुद केही बच्चाहरू देब्रे हातकै प्रयोग गर्छन् । यदि तपाईंको बच्चाले पनि त्यस्तो गर्छ भने त्यसो गर्ने ऊ एक्लो होइन । त्यस्ता धेरै बच्चा छन् जसले देब्रे हातको प्रयोग गर्छन् । हुन त संसारमा देब्रे हातको प्रयोग गर्नेहरूको संख्या थोरै नै छ ।

असन्तुलन
संसारमा देब्रे हातको प्रयोग गर्ने बच्चाहरूको संख्या किन कम होला ? हाम्रो शरीरमा एउटा विशेष खालको असन्तुलन छ । फोनमा कुरा गर्दै केही लेख्नुपरेमा हामी देब्रे कानमा फोन राख्छौं र दाहिने हातले लेख्छौं । अर्थात् हामीलाई जसरी सजिलो हुन्छ त्यसरी नै काम गर्छौ । शरीरका अङ्गको पनि हामीले त्यसैगरी नै प्रयोग गर्छौ । सालाखाला ४० प्रतिशत मानिसले देब्रे कानको, ३० प्रतिशतले देब्रे आँखाको र २० प्रतिशतले देब्रे खुट्टाको प्रयोग गर्छन् । तर हातको कुरा गर्नुपर्दा संसारमा केवल १० प्रतिशत मानिसले मात्रै देब्रे हातको प्रयोग गर्छन् ।

त्यस्तो किन होला ?
मान्छेले जस्तै जनावरले पनि कतिपय कामका लागि देब्रे र कतिपयका लागि दाहिने हातको गर्छन् । उदाहरणका लागि चिम्पाञ्जी । तर वैज्ञानिक अनुसन्धानबाट आधा संख्यामा चिम्पाञ्जीहरूले देब्रे हातको र आधा संख्यामा दाहिने हातको प्रयोग गर्ने गरेको देखिएको छ । मान्छेको कुरा गर्नुपर्दा १० जनामा एक जनाले मात्रै देब्रे हातको प्रयोग गर्छन् ।

मान्छेले दाहिने हातको प्रयोगमा कहिलेदेखि जोड दिन थालेका होलान् ? हामीले हाम्रा हातको प्रयोग शुरू गरेकोबारे जान्न मान्छेको विकासको इतिहास खोतल्नुपर्ने हुन्छ । ‘नियान्डर्थल’ मानवका दाँतबाट यसको संकेत मिल्छ । हातको प्रयोग मज्जाले सिकिसके पनि तिनीहरू केही अव्यवस्थित थिए । दाँतले नै कोतरेर तिनीहरूले मासु खान्थे । मासु काट्नलाई तिनीहरूले अलि बढी बल चाहिने हातको प्रयोग गर्थे ।

अनुमान
तिनीहरूले जसरी औजारको प्रयोग गर्थे त्यसको बनोट हेरेर तिनीहरूले कुन हातले खाना समाउँथे र कुन हातले औजारको प्रयोग गर्थे भन्नेबारे अनुमान लगाउन सकिन्छ । अनुसन्धानकर्ताहरूका अनुसार ‘नियान्डर्थल’ मानवले पनि दाहिने हातको बढी प्रयोग गर्थे । तिनीहरूमा पनि १० जनामध्ये एक जनाले मात्रै देब्रे हातको प्रयोग गर्थे । जुन प्रवृत्ति अहिले मान्छेमा देखिन्छ । देब्रे वा दाहिने हातको प्रयोग गर्न मान्छेलाई केले प्रेरित गर्छ भन्ने कुरा पत्ता लगाउन अनुसन्धानकर्ताले प्रयास जारी राखे पनि अहिलेसम्म उत्तर भेटिसकेका छैनन् ।

प्रश्न यो पनि छ कि देब्रे हातको प्रयोग गर्ने मानिसहरूको जीवनमा के त्यसको कुनै असर हुन्छ ? यो विषयमा लामो समयदेखि बहस चल्दै आएको छ । हाम्रो देब्रेतिरको मस्तिष्कले दाहिने हातलाई र दाहिनेतिरको मस्तिष्कले देब्रे हातलाई नियन्त्रण गर्ने गरेको बताइन्छ ।
युनिभर्सिटी कलेज लण्डनस्थित मनोविज्ञान विषयका प्राध्यापक क्रिश म्याकमेनसका अनुसार देब्रे हातको प्रयोग गर्नेहरू बढी क्षमतावान् हुन्छन् ।

अरूभन्दा भिन्न
उनको यो बुझाइप्रति अरू अनुसन्धानकर्ता चाहिँ सहमत देखिँदैनन् । अक्सफोर्ड युनिभर्सिटीकी प्राध्यापक डोरोथी बिशप देब्रे हातको प्रयोग गर्छिन् । उनलाई लाग्छ उनी अरूभन्दा भिन्न छिन् । उनी भन्छिन्, ‘डिस्लेक्सिया अर्थात् पढ्न–लेख्नमा हुने समस्या र अटिज्म जस्ता रोग देब्रे हात प्रयोग गर्नेहरूलाई हुने गर्छ भन्ने दावीहरू पनि छन् । अर्कोतर्फ सकारात्मक कुरा पनि छ–शिल्पकार र संगीतकारहरूले धेरैजसो देब्रे हातको प्रयोग गर्छन् ।’

विज्ञानले यतिसम्म फड्को मारिसकेको छ कि बच्चा गर्भमै रहँदा जन्मेपछि उसले देब्रे अथवा दाहिने कुन हातको प्रयोग गर्नेछ भनेर थाहा पाउन सकिन्छ । उत्तरी आयरल्याण्डको क्वीन्स युनिभर्सिटीका डा. पीटर हेपरले यसबारे पत्ता लगाएका छन् । उनले गर्भमा रहेका बच्चाहरूको अल्ट्रासाउण्ड गर्दा १० जनामध्ये नौजनाले दाहिने हातको बूढीऔंला चुस्ने गरेको पाए । जबकी एक जनाले मात्रै देब्रे हातको बूढीऔंला चुस्ने गरेको देखियो । जन्मपछि ती बच्चाहरूले गर्भमा रहेको बेला जस्तै हातको प्रयोग गरेको देखियो अर्थात् नौ जना दाहिने हातको प्रयोग गर्ने भए भने एकजना देब्रे हातको । बीबीसी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्