डेटिङमै प्रेमिकाको विभत्स हत्या, धोका दिएको आरोप



विराटनगर.मोरङको विराटनगर महानगरपालिकाबाट ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर एक युवकले प्रेमिकाको शुक्रबार विहान विभत्स हत्या गरेका छन् ।

विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्राईले आफ्नी प्रेमीका २३ वर्षीय शिखा घिमिरेको विहान १० बजे हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

उनका अनुसार दुवैजना घुम्न भनेर शुक्रबार विहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा भट्राईले आफूसँग रहेको धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दै गर्दा भट्राईलाई स्थानीय बासिन्दाले घेरा हालेर नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका छन् ।

नियन्त्रणमा लिन खोज्दा उनले स्थानीय बासिन्दालाई आफूसँग रहेको छुरा निकालेर प्रहार गर्न खोजेको एसपी केसीले बताए । त्यस क्रममा गाउँलेसँग घम्साघम्सी हुँदा छुराले भट्राईको हात समेत काटेको छ ।

पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुईजना प्रेमी–प्रेमिका भएको पत्ता लागेको छ ।

‘दुईजना केही समयदेखि प्रेममा रहेको कुरा खुलेको छ,’ एसपी केसीले भने, ‘युवतीले धोका दिन खोजेको भनेर युवकले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

उनका अनुसार हत्या गरिएकी युवती एक सातापछि अस्ट्रेलिया जाने तयारीमा थिइन । अरु नै केटासँग लागेर धोका दिँदै अष्ट्रेलिया जान खोजेकाले आफूले हत्या गरेको बयान भट्राईले प्रहरीलाई दिएका छन् ।

‘केही दिनदेखि शिखा अरु नै केटासँग लागेको थाहा पाएँ । उनी एक सातापछि अष्टे«ेलिया जाँदै थिइन,’ भट्राईलाई उधृत गर्दै प्रहरीका एक अधिकारीले भने, ‘अरु केटासँग नलाग्न धेरै सम्झाउँदा पनि उनले मानिनन् । त्यसपछि सँगै घुम्न गएको मौकामा एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ ।’

स्थानीय बासिन्दाले युवतीको विभत्स शव भेटेपछि हत्या गरेर भाग्दै गरेका युवकलाई समातेर प्रहरीलाई खबर गरेका थिए ।

युवतीको अनुहार, घाँटी र पेटमा धारिलो हतियार दाउ प्रहार गरेर विभत्स हत्या गरिएको प्रहरीले जनाएको छ । एसपी केसीले भने, ‘धेरै तिर धारिलो हतियार प्रहार गरिएको कारण शव चिन्न सक्ने अवस्थामै थिएन ।’ प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवैजना चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ ।

 

किशोर बुढाथोकी ,अन्नपुर्ण

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्