कर वृद्धिबारे छलफल गर्न कांग्रेसले बोलायो मेयर/उपमेयर भेला



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीबाट जितेका महानगर/उपमहानगर/नगरपालिकाका प्रमुख तथा उपप्रमुखको भेला बोलाएको छ।

भदौ ११ गते पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजे भेला बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

देशभर वृद्धि भइरहेको करको विषय भेलाका मुख्य एजेण्डा हो।

‘स्थानीय तहमा अस्वभाविक कर वृद्धि गरिएको छ’ प्रवक्ता शर्माले भने, ‘जिम्मेवार नागरिकले कर तिर्नुपर्छ। तर न्यायोचित र व्यवहारिक कर हुनुपर्‍यो।’

स्थानीय तहहरूले मनलाग्दी तवरले कर वृद्धि गरे पनि केन्द्र सरकार उदासिन भएको आरोप कांग्रेसले लगाएको छ। वृद्धि गरिएका करबारे समाधान निकाल्न कांग्रेसले सरकारलाई ध्यानाकर्षण गराएको हो।

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख/उपप्रमुखलाई प्रशिक्षात्मक अन्तरक्रियामा बोलाएको हो।

‘भेलामा करको विषयका अतिरिक्त स्थानीय नेतृत्व र पार्टीबीचको समन्वयलगायतका विषयमा पनि छलफल गर्छौं’ शर्माले सेतोपाटीसँग भने।

कांग्रेसले मुलुकी संहिताका त्रुटिहरू सुधार गर्नुपर्ने पनि बताएको छ। नयाँ संहिता भदौ १ देखि लागू भइसकेको छ। केपी शर्मा ओली नेतृत्वको सरकार छ महिने अवधिमा सात मुद्दामा चुकेको निष्कर्ष कांग्रेसको छ।

राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मूल्यवृद्धि, समृद्धि यात्रा, न्यायालयमा सरकार चुकेको कांग्रेसको आरोप छ।

‘जताभावी कर वृद्धि गरेर यो सरकार संघीयता असफल बनाउन लागेजस्तो देखिन्छ’ प्रवक्ता शर्माले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्