चौथो बिमस्टेक शिखर सम्मेलन– नेपाल र थाइल्यान्ड बिच सीघा यातायात संचालन हुने



काठमाण्डौ ११ भदौ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल (बिमस्टेक)को आसन्न शिखर सम्मेलनमा
मुलुकमा सबै किसिमका सवारीसाधन निर्वाध आवतजावतको सुविधा का बारेमा बृहत छलफल हुने भएको छ ।  शिखर सम्मेलनका क्रममा बिमस्टेक मुलुकहरूबीच मोटर सवारीसाधन सम्झौता (बिमस्टेक मोटर भेइकल एग्रिमेन्ट) पनि हुने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले दिए । मोटर भेइकल सम्झौतापछि बिमस्टेक मुलुकहरूबीच सबै किसिमका सवारीसाधनहरूको आवागमन सहज रूपमा हुनेछ ।

 

 

सुरुमा बिमस्टेक मुलुकबीच एक–अर्काका यात्रुवाहन तथा मालबाहक गाडीको निर्वाध आवागमनलाई सहजीकरण गर्ने गरी सम्झौताको तयारी भएको थियो । तर, टापु मुलुक श्रीलंकामा अन्य मुलुकबाट गाडीहरूको आवागमन हुने तत्काल सम्भव नभएकाले सबै मुलुकबीच मल्टिमोडल ट्रान्सपोर्ट सहज रूपमा हुने गरी समझदारी गर्न लागिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मल्टिमोडल पारवहन भन्नाले पानीजहाज, रेल, गाडी, हवाईजहाजलगायत सबै किसिमका साधानबाट हुने आवागमन भन्ने बुझिन्छ । यस किसिमको सम्झौतापछि नेपालका गाडी वा रेल म्यानमार र थाइल्यान्डसम्म यात्रा गर्न पाउनेछन् । यसबाट बिमस्टेक मुलुकबीच युरोपेली संघकै जस्तो बलियो एकीकरणको वातावरण बन्ने आशा गरिएको छ ।

केहीअघि भारतमा मुख्य कार्यालय रहेको कट्स इन्टरनेसनल र बिमस्टेक सचिवालयले संयुक्त रूपमा गरेको अनुसन्धानले यस किसिमको एकीकरणबाट यस क्षेत्रका सबै मुलुकले सुरुमा पर्यटनबाट लाभ लिन सक्ने जनाएको थियो । ‘पर्यटनमार्फत हुने एकीकरणपछि यस क्षेत्र लगानी तथा व्यवसायकै करिडोर बन्न सक्नेछ, जसले यी मुलुकको आर्थिक वृद्धिका साथै एक–आपसबीचको सम्बन्धलाई पनि बलियो बनाउनेछ,’ अनुसन्धानमा भनिएको छ ।

यसअघि सार्क मुलुकबीच मोटर भेइकल सम्झौताको तयारी भए पनि भारत र पाकिस्तानबीचको असहज सम्बन्धका कारण त्यो सम्भव भएको छैन । यस्तो अवस्थामा बिमस्टेक देशहरूबीच मल्टिमोडल पारवहनलाई सहजीकरण गर्ने गरी सोही प्रकृतिको सम्झौता हुन लागेको हो । भुटान, बंगलादेश, भारत र नेपालबीच भने यसअघि नै मोटर भेइकल सम्झौता भइसकेको छ ।

बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्यान्ड गरी सात मुलुक सदस्य छन् । बिमस्टेकको चौथो शिखर सम्मेलन यही १४ र १५ भदौमा काठमाडौंमा हुँदै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्