अनुमति विनै विद्यालय संचालन, नियमन गर्ने निकाय मौन



घोराही । दाङको घोराहीमा विना अनुमति विद्यालय संचालन भएको पाईएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ को मध्यभागमा विना अनुमति एउटा संस्थागत विद्यालय संचालन हुँदा समेत सम्बन्धित निकाय बेखबर छ ।
घोराहीको काठेकोहल चोक नजिक बेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउस नामबाट संचालन भईरहेको विद्यालयले कुनै पनि निकायवाट अनुमति नलिएर यसै शैक्षिक सत्रवाट कक्षा संचालन गरिरहेको पाईएको छ ।


विद्यालयमा एउटा मात्र कक्षा संचालनमा रहेको र जम्मा ११ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा संचालक सहित ६ जना कर्मचारी कार्यरत रहेका छन् ।
विद्यालयको आधिकारिकताको विषयमा बुझ्दा घोराही उपमहानगरपालिका अन्तरगत नगर शिक्षा समितिमा त्यस्तो नामको कुनै विद्यालयले अनुमति नलिएको वताएको छ । शिक्षा समितिका संयोजक नारायण पौडेलले उक्त विद्यालयले अनुमति लिएको सम्बन्धमा आफुलाई जानकारी नभएको वताएका छन् ।

‘अनुमतिका लागि ढिला गरी आएकोले यो वर्ष हुदैन, अर्को वर्षको लागि आउनु भनेका हौं’, ‘यसै शैक्षिक सत्रदेखी कक्षा संचालन गरेको भन्ने थाहा भएन ।’ संयोजक पौडेलले भने ।
विद्यालयको वैधानिकताको विषयमा विद्यालयकी संचालिका संगिता गुप्ताले आफुले काठमाडौंमा रहेको वेष्ट मन्टेश्वरीको शाखाको संचालन गरेकोले छुट्टै अनुमति लिनु पर्ने विषयमा जानकारी नभएको प्रतिकृया दिएकी छन् ।


‘फ्रेन्चाईजको रुपमा संचालन गरेकोले छुट्टै अनुमति लिनु पर्ने वारे थाह थिएन, पछि वडा कार्यालयमा पनि बुझ्न भएको थिए ।’ ‘समय सकिएछ’, संचालिका एवं प्रिन्सिपल गुप्ताले भनिन, ‘अर्को वर्षको लागि निवेदन दिएको छु ।’
उनले आफुले संचालन गरेको मण्टेश्वरी अवैध मान्न तयार छैनिन । उनले भनिन, ‘शुरुमा धेरै व्यवधानहरु भएका कारण समयमा दर्ता गर्न नसकेको हौं’, ‘हामीले हाम्रो अभिभावकलाई यसवारे जानकारी दिएका छौं ।’
तर विद्यालयका अभिभावक भने यस विषयमा जानकार छैनन । घर नजिकमा विद्यालय खुलेकोले ल्याउन–लैजान सजिलो हुने भएकोले बच्चा सो विद्यालयमा भर्ना गरेको एक अभिभावकले वताए ।


जिल्लामा मण्टेश्वरी संचालन गर्दा सम्वन्धित वडा कार्यालयवाट अनुमति लिनु पर्ने प्रावधान रहेको छ । विगतमा नगरपालिका, उपमहानगरपालिका वा गाउँपालिकावाट अनुमति लिनु पर्ने भएपनि हाल वडाले संचालन अनुमति दिने गरेको छ ।
विद्यालय संचालनमा रहेको घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेश पाण्डेले कक्षा संचालन अनुमति नदिएको वताएका छन् । ‘यो वर्ष ढिला भयो, अर्को वर्षको लागि तयारी गर्नुस् भनेका हौं ।’ वडाध्यक्ष पाण्डेले भने, ‘कक्षा नै संचालन गरेको भए अनुगमन र कारवाही गछौं ।’
यो एउटा विद्यालय उदाहरण मात्र हो । उपमहानगरको केन्द्रमा रहेको अवैध विद्यालय संचालन हुँदा समेत सम्वन्धित निकायको दृष्टी पुगेको देखिदैन भने जिल्लाका ग्रामिण क्षेत्रमा यस्ता अनगिन्ती विद्यालय संचालनमा भएको कस्ले देख्ने ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्