सरकार द्धारा साना किसान बाट लिएको सबै ऋण मिनाहा



काठमाडौं।सरकारले साझा सहकारीबाट साना किसानले लिएका सबै ऋण मिनाहा गरेको छ । तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड ऋण लिएका थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले यो निर्णय गरेको हो । ऋण मिनाहाबाट ६ सयदेखि सात सय परिवार लाभान्वित हुने सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

कृषि विकास बैंकले साझा सहकारीमार्फत करिब ३० करोड कर्जा प्रवाह गरेको थियो । ३५ वर्ष अघिको यो ऋणमा साँवाबाहेक ब्याजमात्रै करिब एक अर्ब पुगेको कृषि बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । ऋण मिनाहसँगै ऋण तिर्न नसकेर धितो बन्धक भएका किसानको धितोसमेत फुकुवा हुनेछ ।

संसद् अधिवेशनको तयारी भइरहेका बेला सरकारले प्रहरी समायोजन अध्यादेश जारी गर्ने गृहकार्य थालेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रहरीलाई केन्द्र र प्रदेशमा समायोजन गर्न बनेको अध्यादेश परामर्शका लागि लोकसेवा आयोगमा पठाएको छ ।

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी समायोजनका अप्ठ्यारा फुकाउन अध्यादेश ल्याउन लागिएको बताए ।

सरकारले गत साता कर्मचारी समायोजन अध्यादेश जारी गरेको थियो । प्रदेशभित्रको शान्ति सुव्यवस्था कायम गर्न तथा केन्द्र र प्रदेशबीच समन्वय गर्न प्रहरी समायोजन आवश्यक भएको उनले बताए । अन्तरप्रदेश परिषद्को हालै सम्पन्न बैठकमा मुख्यमन्त्रीहरूले प्रदेश प्रहरी नहुँदा परेको अप्ठ्यारोबारे गुनासो गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्