धनी बन्न विदेश जानै पर्दैन, घुस खानै पर्दैन-गभर्नर



काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताउनुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उहाँले भन्नुभयो, ‘देशभित्रै व्यापार व्यवसायका लागि प्रशस्त सम्भावना रहेकाले धनी बन्नका लागि विदेश जानै पर्दैन, घुस खानै पर्दैन ।’

गभर्नर डाक्टर नेपालले जागिरमा मात्रै ध्यान गएकाले नेपालीहरुमा उद्यमी बन्ने सोच अझै विकसित हुन नसकेको उल्लेख गर्दै अरुलाई जागिर दिने मान्छे बन्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

‘व्यापार भनेको नयाँ अन्वेषण र योजना हो’, उहाँले भन्नुभयो, ‘व्यापार गर्नेको तीक्ष्ण दिमाग हुन्छ, त्यसैले अब घरबाटै आविष्कारीय र व्यापारिक योजना सुरु गर्नुपर्छ ।’

गभर्नर डाक्टर नेपालले देश विभिन्न कानून निर्माणका चरणमा रहेका बेला व्यापार गर्ने वातावरण झन सजिलो रहेको उल्लेख गर्दै सबैभन्दा ठूलो समस्या अर्थशास्त्रको सिद्धान्तलाई नेपालीले बुझ्न नसकेको बताउनुभयो ।

‘अर्थतन्त्रको सूक्ष्म विषयवस्तु समेटिएकाले यो पुस्तकमा पढ्न लायक छ’, उहाँले भन्नुभयो, ‘घरभित्रै पनि अर्थशास्त्रका विषयमा छलफल जरुरी छ ।’

नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्प आचार्यले शासन परिवर्तनले मात्रै देश समृद्धि नहुने बताउँदै समृद्धिका लागि मुलुकमा उद्यमशीलताको विकास जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।

युवा उद्यमशीलताका उत्प्रेरक आकाश श्रेष्ठ, नरोत्तम अर्याल तथा नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरारी पराजुलीले समृद्ध नेपाल निर्माणका लागि मुलुकमा व्यापार, व्यवसायको विकास तथा विस्तार हुनुपर्नेमा जोड दिनुभयो । | रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्