रेल किन्न सरकारले छुट्टायो ५० करोड बजेट



सरकारले भारतको जयनगरबाट नेपालको जनकपुर आउने रेल किन्न पचास करोड रूपैयाँ बजेट छुट्टाएको छ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाका अनुसार रेल किन्न एक अर्ब रूपैयाँ लाग्ने अनुमान छ।

नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले पहिलो चरणमा सरकारले ५० करोड रूपैयाँ बजेट रेल खरिदका लागि छुट्टाएको जानकारी दिए।

भारतसँग भाडामा रेल लिएर चलाउने तयारी सरकारले अगाडि बढाए पनि प्रधानमन्त्री केपी शर्मा ओली रेल किन्ने पक्षमा उभिएका थिए।

बाँस्कोटाले छ महिनाभित्र भारतको जयनगरबाट जनकपुर आउने रेल सञ्चालन हुने बताए।

हाल रेलको लिक ओछ्याउने काम सम्पन्न भैसकेको छ। सरकारले दुई सेट रेल किन्ने तयारी गरे पनि पहिलो चरणमा ५० करोड रूपैयाँ खर्चिएर एक सेट रेल किन्न लागेको हो।

जयनगरदेखि नेपालको जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको हो। सञ्चालन हुन लागेको रेल ब्रोडगेज हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्