यसरि उसिनेको अण्डालाई काँचै अवस्थामा फर्काउन सकिन्छ…



उसिनेको अण्डालाई पुनः काँचै अवस्थामा फर्काउन सकिएला ? कल्पना गर्नुभएको छ ? वैज्ञानिकहरुले यो सफलता हासिल गरेका छन् । यो प्रक्रिया क्यान्सरको उपचार, जैविक प्रविधि (बायोटेक्नोलोजी) र व्यापक मात्रामा खाद्य उत्पादनमा सहयोगी हुनेछ ।

अमेरिका र अस्ट्रेलिया सरकारको आर्थिक सहयोगमा सञ्चालित अध्ययनका मुख्य लेखक ग्रेगरी वीसलाई उद्धृत गर्दै समाचारपत्र द इन्डिपेन्डेन्टले लेखेको छ, ‘हामीले कुखुराको उसिनेको अण्डालाई पहिलेकै अवस्थामा लैजाने तरिका पत्ता लगाएका छौं ।’

उसिनेको अण्डाको सेतो भागमा प्रोटिन हुन्छ, जसको बारेमा अहिलेसम्मको मान्यता त्यसलाई उसिन्नुअघिको अवस्थामा लैजान सकिँदैन भन्ने थियो । वैज्ञानिकहरुले अण्डालाई पूर्वस्थितिमा लैजान तथा प्रोटिनलाई अलग अलग गर्ने तरिका पत्ता लगाएका हुन् ।

उसिनेको अण्डालाई फुटाउनको लागि युरियाको प्रयोग गरियो र त्यसपछि त्यसमा एक उच्च क्षमता भएको मेसिन ‘भोर्टेक्स फ्लूड’ उपकरणको प्रयोग गरियो । त्यसपछि प्राटिन आफ्नो पूर्व अवस्थामा फर्कियो । यसरी उसिनेको अण्डा पुनः काँचो अवस्थामा आयो । यो प्रक्रिया क्यान्सरको उपचारमा पनि उपयोगी हुन्छ ।

यो प्रक्रियाद्वारा प्राप्त प्रोटिनको प्रयोगबाट विभिन्न वैज्ञानिक एवम् निर्माण प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा त यो हो कि यो प्रक्रियाबाट प्राप्त प्रोटिनले क्यान्सरजस्तो गम्भीर रोगका लागि एन्डीबडीको निर्माण गर्न सक्छ, जुन असाध्यै सस्तो हुन्छ ।

यो अध्ययनको आर्थिक व्यवस्थापन अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ जनरल मेडिकल साइन्सेज तथा अमेरिकाका रिसर्च काउन्सिलद्वारा गरिएको थियो । उक्त अध्ययन पत्रिका ‘केमबायोकेम’मा प्रकाशित छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्