यस्ता छन् मोबाइल स्लो हुने कारण र समाधान गर्ने उपाय



यो सबैको साझा समस्या हो । धेरैलाई एउटै भ्रम छ, पुरानो भएपछि मोबाइल ह्याङ हुन्छ । वास्तवमा मोबाइलका सफ्टवेयर र भार समय समयमा व्यवस्थापन गरिएन भने मोबाइल स्लो हुने गर्छ । मोबाइलले त्यस बेला दुःख दिन्छ, जुन बेला हतार हुन्छ । यस्तो हुन नदिन समय समयमा मोबाइलको सफ्टवेयर र हार्डवेयरको सरसफाइ गर्नुपर्छ ।

अधिकांशका मोबाइलमा अटो अपडेट वा अटो डाउनलोड अप्शन अन भइरहेको हुन्छ । यसले पनि मोबाइललाई स्लो हुने गर्छ । ब्याकग्राउण्डमा एप्स सञ्चालन भइराख्दा पनि मोबाइल स्लो हुने समस्या आइपर्छ । डाउनलोड तथा इन्ष्टल गरिएका एप, क्यासमा बसेका डाटा, ब्याकग्राउण्डमा चलिरहेका एप, एनिमेशन स्पीड, आदि कारण मोबाइलको स्पीड स्लो हुने गर्छ । यी समस्याको समाधानका लागि एण्ड्रोइड मोबाइल तथा आईफोनको स्पीड बढाउने उपाय जान्नु आवश्यक छ ।

अनावश्यक एप तथा गेम डिलिट गर्ने
कतिपयले आवश्यक नै नभएको एप पनि के होला भनेर डाउनलोड गर्छन् । अचेल फेसबूकमा पनि एप डाउनलोड गर्न प्रेरित गर्ने खालका विज्ञापन आइरहेका हुन्छन्, जसले गर्दा अञ्जानमै एप डाउनलोड हुन जान्छ । धेरैजनाले वाइफाइ भेट्यो कि केही न केही नयाँ एप डाउनलोड गर्ने गर्छन् । यसरी डाउनलोड भएका वा हुन गएका एप यत्तिकै मोबाइलमै राखिरहने पनि गरिन्छ । यसले गर्दा मोबाइल स्लो हुने गर्दछ । फुर्सदमा खेलौंला भनेर गेम इन्ष्टल गरी नचलाउँदा पनि मोबाइलको सीपीयूमा केही न केही रिसोर्स प्रयोग भइरहेको हुन्छ । यस्ता अनावश्यक एपलाई डिलिट गर्नुपर्दछ ।

इण्टर्नल मेमोरी खाली गर्ने
एण्ड्रोइड फोन स्लो हुनुको अर्कोे कारण इण्टर्नल मेमोरी भरिनु पनि हो । त्यसैले, मेमोरी सकेसम्म खाली गर्नुपर्छ । यसका लागि फोनमा रहेका काम नलाग्नेरप्रयोग भइसकेका फोटो, हेरिसकिएका भिडियो र फाइल हटाउनुपर्दछ । यस्ता सामग्री पछिसम्मलाई आवश्यक पर्ने भएमा कम्प्युटर वा पेन ड्राइभमा सार्न सकिन्छ । अचेल सबैजसो स्मार्टफोन ओटीजी पेनड्राइभ सपोर्ट गर्ने खालको हुने हुँदा मोबाइलबाट नै सीधै फोटो र भिडियोहरू पेनड्राइभमा सार्न सकिन्छ । यसैगरी भिडियो र फोटोलाई ग्यालरीको सट्टा गूगल ड्राइभ, क्लाउड वा गूगल फोटोजमा सेभ गर्नुपर्छ । यसबाट फोनको स्टोरेजमा बढी लोड पर्दैन ।

क्याष्ड डाटा क्लीन गर्ने
कुनै एप वा साइट खोल्दा सामान्यतया धेरै प्रयोग भइरहने फोटो तथा आइकन मोबाइलमा स्टोर भएको हुन्छ । यो क्याष्ड डाटा कुनै एप डिलिट गरे पनि स्टोर भइरहेको हुन सक्छ, जसले मोबाइलको मेमोरी ओगटिरहेको हुन्छ । त्यसैले, मोबाइलको स्पीड बढाउन समय समयमा क्याष्ड डाटा क्लीन गर्ने गर्नुपर्दछ ।

एनिमेशन अफ गर्ने वा नचलाउने
एनिमेशनले सीपीयू रिसोर्स निरन्तर ओगटिरहेको हुन्छ । यसो हुन नदिन सेटिङभित्रको एबाउट फोनमा गई ब्युल्ड नम्बरमा जानुपर्दछ । ब्युल्ड नम्बर एबाउट डिभाइसको सफ्टवेयर इन्फोभित्र पनि हुन सक्छ । ब्युल्ड नम्बर बटन फेला परेपछि यसलाई सातचोटि लगातार ट्याप गर्नुपर्छ । यसो गर्दा हामी डेभलपरमा परिणत हुन्छौं । त्यसपछि एक वा दुई स्टेप ब्याक हुँदा डेभलपर अप्शन देख्न सकिन्छ । डेभलपर अप्शनको सिष्टममा गई विण्डोज एनिमेशन, ट्राञ्जिशन एनिमेशन, एनिमेशन स्केल र एनिमेशन ड्युरेशन स्केललाई फाइभएक्स वा अफ मोडमा लगेपछि मोबाइल स्लो हुन पाउँदैन ।

अपटुडेट रहने
नयाँ अपडेटमा पुराना सफ्टवेरमा भएका समस्या समाधान भएर आएका हुन्छन्, जसले सीपीयू, ¥यामलगायत हार्डवेयर्स र एपहरूबीच कम्युनिकेशन राम्रो गराउँछ । यसका लागि मोबाइलको अपरेटिङ सिष्टम अपटुडेट गर्न जरुरी हुन्छ ।

फ्याक्ट्री रिसेट
फ्याक्ट्री रिसेटले मोबाइलको सेटिङ्स तथा डाटाहरू क्लीयर गर्छ । मोबाइल पुरानो हँुदै जाँदा स्पीड पनि स्लो हुँदै जान्छ । त्यसैले, महत्त्वपूर्ण डाटाहरू ब्याकअप गरी फ्याक्ट्री रिसेट गर्दा पनि मोबाइलको स्पीड बढ्छ ।

क्लीनर एप
पुरानो भर्शनका मोबाइलमा मेमोरी बुष्टर क्लीन माष्टर र एवीजी क्लीनर जस्ता एप्लिकेशन गूगल प्लेस्टोरबाट डाउनलोड गरेर फोनको स्पीड बढाउन सकिन्छ । त्यस्तै, मोबाइलमा सीपीयूको उपयोगिता थाहा पाउन ट्रेपन प्रोफाइलर पनि डाउनलोड गर्नु पनि एउटा विकल्प हो । यसको मद्दतले फोनलाई स्लो बनाएको कारण थाहा हुनुका साथै अनावश्यक सामग्री हटाउन सकिन्छ ।

नोटिफिकेशन अफ मोड
धेरैजसो एप्लिकेशन लाइभ अपडेट हुन्छन्, जसको कारण मोबाइलमा नोटिफिकेशन आइरहन्छ । नोटिफिकेशन धेरै भएपछि मोबाइल स्लो हुन्छ ।

इण्टर्नल मेमोरीबाट एसडी कार्डमा एप्स सार्ने
स्मार्टफोनमा जति पनि एप्स हुन्छन्, ती सबै इण्टर्नल मेमोरीमै सेभ गरिएको हुन्छ । यदि फोनमा बढी एप्स छन् भने फोनको प्रोशेसिङ स्लो हुन्छ । त्यसैले, एपहरूलाई एसडी कार्डमा सार्नुपर्दछ । यसबाट फोनको प्रोशेसिङ तीव्र हुनेछ ।

क्याश क्लीयर
फोनमा रहेको क्याश मेमोरी क्लीयर गर्दै जानुपर्छ । यसका लागि फोनको सेटिङ मेनुमा गएर एप्लिकेशन म्यानेजरको छनोट गर्नुपर्छ । अल ट्याबभित्र गएर जुन एप्समा समस्या छ, त्यसमा क्लिक गरेपछि ‘फोर्स स्टप’, ‘क्लीयर क्याश’ र ‘क्लीयर डाटा’ छनोट गर्नुपर्छ ।

फोन रिस्टार्ट
समय समयमा फोनलाई रिस्टार्ट गर्दा पनि फोन स्लो हुन पाउँदैन । फोन तातो हुँदा होस् वा ह्याङ हुँदा, रिस्टार्ट गरेमा केही हदसम्म भए पनि मोबाइल स्लो हुने समस्या अन्त्य हुन्छ । –एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्