प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा, नेपाल टेलिकमले ल्यायो अफरै अफर



काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा अबदेखि अन्तर्राष्ट्रिय रोमिङ सुविधा उपलब्ध हुने भएको छ । यसका लागि आज आउटबोण्ड रोमिङ सफ्ट लन्च भएको छ । टेलिकमले आफ्नो १५ औ बार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइल सेवामा पनि रोमिङ शुरु गर्न लागेको हो ।

यसअघि कम्पनीको नेटवर्कमा विदेशी अपरेटरका ग्राहक तथा कम्पनीका पोष्टपेड ग्राहकलाई मात्र विदेशी अपरेटरको नेटवर्कमा रोमिङ सेवा प्रदान गरेको थियो । आजदेखि यो सेवा प्रिपेडमा पनि लागू भएको छ ।

टेलिकमले पहिलो चरणमा भारत र चीनमा यो सेवा उपलब्ध हुने जानकारी दिएको छ । यसमा कुनै धरौटीको व्यवस्था गरिएको छैन । यद्यपि, पहिलेदेखि अन्तर्राष्ट्रिय रोमिङ कल सुविधा पाउँदै आएका पोष्टपेड ग्राहकले भने १० हजार धरौटी राख्नुपर्ने व्यवस्था जनवरी १ बाट लागू भएको छ । यसअघि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्थ्यो ।

यसैगरी कम्पनीले बार्षिक उत्सवको अवसर पारेर माघ २२ देखि फागुन २२ सम्म एनटी मोबाइल एप डाउनलोड तथा रजिष्ट्रेसनमा निशुल्क १० एमबी डाटा उपलब्ध गराउने जनाएको छ । जिएयसएम पोष्टपेड ग्राहकलाई ९०० रुपैयाँको प्याकेजमा प्रति महिना दुइ जीवि डाटा र ५०० रुपैयाँको निशुल्क रिसोर्स उपलब्ध गराउँदै आएकोमा अब प्रतिमहिना अल टाइम डाटा ३.३ जिबी र ५०० रुपैयाँको रिसोर्स उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

यता, माघ २३ देखि फागुन ८ सम्म रजिष्ट्रर हुने नयाँ जिएसएम पोष्टपेड मोबाइल ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना अल टाइम डाटा एक जीबि र १०० मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध हुनेछ । यस्तै, माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज अन्र्तगत क्रमशः ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र ५०० रुपैयाँमा १६५ मिनेट उपलब्ध हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्