निर्मला पन्त हत्या काण्ड : डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर



काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुको साथै प्रमाण नष्ट गरेको सरकारी छानविन समितिले औंल्याइएको थियो । साथै घटनामा संलग्न भएको आशंकामा पक्राउ परेकाहरुलाई यतना दिएर अपराध स्वीकार गर्न दबाव दिएका थिए ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा बुधबार जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो ।
बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको छ भने इन्सपेक्टर एकेन्द्र खड्का जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई अदालतमा उपस्थित गराइएको छ । उनीहरुको बयान आजबाट सुरु हुनेछ ।

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीकाअनुसार ६ जना कञ्चनपुर प्रहरीको हिरासतमा छन् । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउन आदेश हुनेछ ।

१० साउनमा साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्