८३ वर्षीयाले यसरी निर्माण गरिन् मोबाइल एप



एजेन्सी । जापानकी ८३ वर्षीया मासाको वाकामिया विश्वकै सबैभन्दा वृद्ध मोबाइल एप निर्माता हुन् । आफ्नो ख्याल राख्ने कोही नभएकाले नै आफूलाई यस काममा सहज भएको उनले बताएकी हुन् । यसरी कम्प्युटर र प्रोग्रामिङ जस्ता अत्यन्तै कठिन प्राविधिक विषयहरु मात्र नभएर उनले वृद्ध अवस्थामा अनपेक्षित भाषागत् चुनौति समेत पार गरेकी हुन् । मासाको भन्छिन्, “सबै कुरा अङ्ग्रेजीमा थियो र स्वभाविक रुपमा मेरो पीढीका सबैलाई अङ्ग्रेजी अत्यन्तै गाह्रो लाग्छ ।”

मासाकोले ६० वर्षको उमेरमा आफ्नी आमाको हेरचाह गर्दैगर्दा पहिलो कम्प्युटर खरिद गरेकी थिइन् । साथीहरुसँग सम्पर्क राख्ने उद्देश्यले उनले कम्प्युटर चलाउर्ने विचार गरेकी थिइन् । उनले भनिन्, “तर कम्प्युटरबारे नयाँ कुराहरु सिक्दै गर्दा मलाई यसमा मेरो धारणा विस्तृत हुँदै गइरहेको महसुस हुन थाल्यो । जसपछि मलाई दुनियाँ मैले सोचेको भन्दा धेरै ठूलो र विविध रहेछ भन्ने आभास भयो अनि म झन् उत्साहित भएँ ।”

यसरी प्रोग्रामिङ र सफ्टवेयर विकास गर्नमा पूर्ण केन्द्रित रहँदै उनले २०१७ मा मात्र आफू जस्तै वृद्धहरुलाई लक्षित मोबाइल गेम ‘हिनादन’ लन्च गरेकी हुन् ।

विश्वकै सबैभन्दा ठूलो वृद्ध जनसङ्ख्या रहेको जापानमा आफ्ना पीढीका अधिकांश एक्लोपना र मानसिक तनावको शिकार भइरहेको हुँदा प्रविधिले नयाँ सम्बन्ध स्थापना गर्नका साथै एक्लोपना र तनावसँग लड्न समेत मद्दत गर्ने मासाकोको भनाइ छ । त्यसैले आफूले सबैलाई प्राविधिक शीप हासिल गरि यसको फाइदा उठाउन प्रोत्सहन गर्न चाहेको उनले बताइन् ।

उनी भन्छिन्, “मैले प्रविधि कति महान छ भन्ने थाहा पाएपछि मलाई आफ्नो पीढीका अरुलाई पनि जागरुक बनाउन मन लाग्यो । यसैले मैले मेरो सानो घरमै कम्प्युटर सलोन खोलेँ र आफू जस्ता वृद्धहरुलाई कम्प्युटरबारे पढाउन सुरु गरेँ ।”

यसैबीच मासाकोले आफ्नो कथा जापानमा मात्र नभएर बाहिर पनि पुर्याउन चाहिन् र यसक्रममा विभिन्न देशको भ्रमण गर्दैगर्दा उनले संयुक्त राष्ट्र संघको समारोहमा एप्पलका प्रमुख टिम कुकसँग भेटवार्ता गरेकी हुन् । उनले भनिन्, “विशेषगरी अहिलेका युवाहरुले म जस्तो बूुढाबूढीको विचारलाई स्वीकार गर्नेबारे म शंकामा थिएँ तर सबैले मलाई ताली सहित न्यानो स्वागत गरे । उनीहरुले मेरो पीँढी, राष्ट्रियता, लिङ्ग कुनै कुराको ख्याल नराखि म प्रति सहानुभूति प्रकट गरे जसले मेरो मन छोयो ।”

अहिले मासाकोले ‘माइक्रोसफ्ट स्प्रेडसिट’ को एप्लिकेसन लुगा र क्राफ्ट डिजाइन गर्न समेत प्रयोग गरिरहेकी छन् जसलाई उनले ‘एक्सेल आर्ट’ नाम दिएकी हुन् । उनले भनिन्, ‘एक्सेल हामी जस्ता बूढापाकालाई व्यर्थको लाग्ने गरेपनि मैले यसको प्रयोग रमाइलो तरिकामा गर्न सकिनेबारे विचार गरेँ । जस्तै जापान वा कुनैपनि देशका वृद्धहरुले यसमार्फत बुनाइ लगायतका कला प्रदर्शन गर्न सक्छन् र एक्सेलबाटै आफूले चाहेअनुसारको बुन्ने शैली पनि अपनाउन सक्नेछन् ।’

प्रविधिले सबै पीढीलाई आफ्नो शीप र कला प्रस्तुत गर्न नयाँ माध्यम दिइरहेको बताउँदै उनले थप भनिन् ‘ म यस्तै सक्रिय रहन चाहान्छु र सबै युवा तथा बालबालिकाहरुलाई पनि आफ्नो मौलिक कलाको सदुपयोग गरि नयाँ रचना गर्नतर्फ जोड दिन सुझाउँछु । मलाई जापानका वृद्धहरुमा पनि उत्तिकै विश्वास छ किनकी उनीहरु वास्तवमै आफूमा सुधार ल्याउन तत्पर छन् र आफ्नो बढ्दो उमेरबारे पनि सजक छन् । ’

यसरी ६० वर्षको उमेरमा आफुले नयाँ जीवन पाएको बताउँदै मासाकोले आउँदो भविष्यबारे अझ उत्साहित रहेको बताइन् । ‘मैले मेरो वृद्ध अवस्थामा पनि आफूलाई मन लागेको काम गरिरहेको छु तर सबैलाई आफ्नो बढ्दो उमेर स्वीकार्न सहज हुँदैन । किनकी वास्तवमै बूढेसकाल भनेको अस्ताउन लागेको सूर्य विरुद्ध लड्नु हो र मलाई पनि यो धेरै थकानपूर्ण लाग्छ । यसैले सबैले सूर्यसँग लड्नु भन्दा सूर्यअस्तको मज्जा लिनुपर्दो रहेछ ।’ सीएनएनबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्