आर्थिक अभावको चपेटामा गुरुङ सङ्ग्रहालय



ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको एकमात्र गुरुङ सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन । स्थानीय गुरुङ समुदायका महिलाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना गरेको गुरुङ सांस्कृतिक सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन नसकेको हो ।

सङ्ग्रहालयमा कार्यालय व्यवस्थापन र कर्मचारी खर्चको अभावका कारण समस्या भएको बताइएको छ । स्थानीय महिलाले विभिन्न निकायबाट सहयोग जुटाई करीब रु १० लाखको सहयोगमा २०६२ सालमा सङ्ग्रहालय भवन निर्माण गरेका थिए । स्थानीय महिला समूहको पहलमा शुरुआत भएको सङ्ग्रहालयमा गुरुङ जातिको ऐतिहासिक सामग्री राखिएको तर व्यवस्थापकीय समस्याका कारण उलेख्यरुपमा पर्यटक तथा अवलोकनकर्ता आउन नसकेको आमा समूहका उपाध्यक्ष सीता गुरुङले बताए । “हामीले सबैलाई चन्दा मागेर भए पनि यतिको बनायौँ, बजेट अभावका कारण अरु केही गर्न सकेका छैनौँ”, गुरुङले भने, । कुनै कुनै साल त समूहको लेखापरीक्षण गर्नसमेत समस्या हुने गरेको उहाँको अनुभव छ ।

सङ्ग्राहलयमा गुरुङ समुदायले प्रयोग गर्ने ऐतिहासिक ढिकी, जाँतो, चौँठो, हर्पे, जरु, चुङ्गे, घुम, सांस्कृतिक वेषभूषालगायत गुरुङ संस्कृति झल्कने पुराना सामग्री राखिएको छ तर सङ्ग्रहालयभित्र बत्तीको समेत व्यवस्था गर्न नसकेको स्थानीय खड्गबहादुर गुरुङले बताए। “हामीले सङ्ग्रहालयभित्र रहेका सामग्रीसमेत व्यवस्थितरूपमा सजाएर राख्न सकेका छैनौँ”, गुरुङले भने । स्थानीयका अनुसार सङ्ग्रहालय निर्माण गर्ने क्रममा पूर्वमन्त्री सूर्यमान गुरुङले सांसद् विकास कोषको रकमबाट केही सहयोग गर्नुभएको थियो । त्यसपछि विभिन्न समयमा सरकारीस्तरबाट सहयोग भए पनि थोरै मात्र बजेट विनियोजन भएका कारण देखिने गरी काम गर्न नसकिएको आमा समूहका उपाध्यक्ष सीता गुरुङको भनाइ छ ।

पछिल्लो समय फुङलिङ नगरपालिकाले समेत केही रकम सहयोग गरेको उनीहरुको भनाइ छ । सो रकमबाट सङ्ग्रहालयको भौतिक विकासमै खर्च गरेको बताइएको छ । “हामीले यसलाई सबैसामु पु¥याउन प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने हो, तर सकिराखेका छैनौँ”, खड्गबहादुर गुरुङले भने, । जिल्लाको पर्यटन प्रवद्र्धनलाई थप टेवा पु¥याउन र पुरानो सांस्कृतिक सामग्रीको संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालयको निर्माण गरिए पनि आर्थिक अभावकै कारण सङ्ग्रहालयको व्यवस्थापन गर्न नसकिएको व्यवस्थापन पक्षले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्