इटहरी उपमहानगरपालिकाले लियो ४० कार्टुन आँप नियन्त्रणमा



इटहरी । इटहरी उपमहानगरपालिकाको वजार अनुगमन टोलीले ४० कार्टुन आँप नियन्त्रणमा लिएको छ ।

इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादी (कारवाईड) प्रयोग गरेर पकाएको आँप भेटिएपछि नियन्त्रणमा लिइएको हो ।

उपभोक्ता हित संरक्षण शाखा अधिकृत प्रकृति चौलागाइका अनुसार इटहरीको अनुगमन गर्दा आँप प्याक गरिएको कार्टुनमा सेतो कागजमा सानो पोको भेटिएको थियो । त्यो पोको खोलेर हेर्दा सेतो धुलो भेटिएपछि कारवाईड भएको पत्ता लागेको हो ।

कार्वाइड नेपालमा प्रतिबन्धित छ । कारवाईड प्रयोग गरेर पकाएको आँपको ४० कार्टुन उठाएर उपमहानगरमा ल्याइएको छ । उपमहानगरमा ल्याएर अनुगमन टोली, उपभोक्ता मञ्च, र संचारकर्मीको रोहबरमा मुचुल्का उठाइएको छ । विषादीयुक्त आँपलाई नष्ट गरिने उपमहानगरले निर्णय गरेको छ ।

खाद्य विज्ञ केपी लम्सालका अनुसार कारवाईड प्रयोग गरिएको आँप खाँदा पाचन प्रणालीमा असर पर्ने हुन्छ । लम्सालले आँखा र छालामा पनि विषादी मिसिएका आँपले असर पार्ने पार्छ । कारवाईड हालेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

कारवाईड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, वान्ता हुनेलगायतका शारीरिक समस्या उत्पन्न हुनुकासाथै गम्भिर प्रकारको क्यान्सरसमेत हुनसक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । नेपालमा प्रतिबन्धित कारवाईड प्रयोग गरेर पकाईएको आँप इटहरीमा खुलेआम बिक्री भइरहेको पाइएपछि उपमहानगरले बजार अनुगमन गरेको उपभोक्ता हित संरक्षण शाखा अधिकृत प्रकृति चौलागाइले बताए ।

कारवाईड प्रयोग गरेर पकाइएको आँप हेर्दा पहेलो, लोभलाग्दो र आकर्षक देखिने भए पनि मानव स्वास्थ्यका लागि हानिकारक हुने अनुगमनमा सहभागि उपभोक्ता हित मंचका प्रतिनिधि डिल्ली दाहालले बताए ।

त्यस्तै अर्का सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका खाद्य निरीक्षक सिर्जन जोशीले भने–‘नेपालमा कारवाईड प्रतिबन्धित छ, यसले आँप पकाउन पाइदैन ।’

कारवाईड प्रयोग गरेर पकाईएको आँपको भेट्ना आसपास साह्रो हुन्छ, भने आँपको अन्य ठाउँ कमलो हुन्छ, पाकेको देखिन्छ । चिकित्सकका अनुसार कारवाईड प्रयोग गरेर पकाइएको आँपको रंग, स्वाद र बास्ना पनि विकास भएको हुँदैन । कारवाईडबाट ग्यास निस्कन्छ, जसले आँप पकाउन मद्दत गर्छ । कारवाईड प्रयोग गरेर पकाएको आँप खाँदा क्यान्सर समेत हुने भएकाले नेपालमा यसको प्रयोग बन्द गरिएको हो ।

खाद्य ऐन २०२३ को दफा ५ उपदफा ३ मा कारवाईड प्रयोग गरेमा सात महिनादेखि एक वर्षसम्म कैद र पाँचदेखि दश हजार रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले कार्वाइड हालेको आँप वेच्न राखेको पाइए उपमहानगरमा तुरुन्त खवर गर्न उपभोक्तासँग आग्रह गरेकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्