गर्भवतीलाई आइरन चक्की बाँडेर रक्तअल्पता घट्दैन



डा. अरुणा उप्रेती।

कतिपय ग्रामीण समुदायमा घरपरिवारले गर्भवतीको स्वास्थ्यको उति वास्ता गर्दैनन् । ‘वंशको रक्षा गर्ने गरी छोरा जन्माइन’ भने मात्रै उनको हेरविचार हुन्छ ।

यस्तै कारणले गर्दा धेरै महिला रक्तअल्पताको सिकार हुन्छन् । तर, जुनसुकै महिला रक्तअल्पताको सिकार हुनुको अर्थ हो— शरीरमा लौहतत्वको मात्र होइन, प्रोटिनको पनि कमी हुनु ।त्यस्ता गर्भवतीलाई भिटामिन, क्याल्सियम र अन्य पोषकतत्वको पनि कमी हुन्छ, किनभने उनले घरमा भएका स्वस्थकर खानेकुरा पनि पेटभरि खान पाएकी हुन्नन् ।

सन् २००६ मा सरकारले गरेको अध्ययनअनुसार नेपालमा गर्भवती मध्ये ३६ प्रतिशतमा रक्तअल्पता भएको पाइएको थियो । यसैगरी आइरन चक्की बाँडिरहको अवस्थामा सन् २०१६ मा गरेको अर्को अध्ययनमा यसको संख्या बढेर ४१ प्रतिशत पुगेको छ । यो अध्ययनले पनि के देखाउँछ भने आइरन चक्की बाँड्दैमा रगत बढ्ने होइन रहेछ ।

योसँगै जोडिएका कैयौँ कुरा छन् भन्ने यो गतिलो उदाहरण हुनसक्छ ।अझ प्रदेश २ मा त ५५ प्रतिशत गर्भवतीलाई रक्तअल्पता छ ।

खाद्य पदार्थका कतिपय विज्ञापनमा ‘घरमा भएका खानेकुराले शिशुलाई र गर्भवतीलाई पोषण पुग्दैन, त्यसैले बाहिरको पोषण किनेर क्याल्सियम र आइरनतत्वले तिनको पोषण पु¥याउनुपर्छ’ भनिएको हुन्छ ।

यस्ता गलत विज्ञापनले मानिसहरूमा भ्रम छरिरहेका छन्, किनभने यिनलाई स्वास्थ्यकर्मीले पनि गलत भन्ने गरेका हुन्नन् । प्याकेटका खानेकुरा किन्दा पैसाको दुरुपयोग मात्रै हुन्छ ।

बकुला, सिमी, बोडी जस्ता तरकारीमा पर्याप्त प्रोटिन त पाइन्छ नै, क्याल्सियम र लौहतत्व पनि धेरै हुन्छ । तिनको मूल्य बजारिया वा विदेशी संस्थाहरूले दिने खानेकुराभन्दा निकै कम हुन्छ, पोषणचाहिँ बढी हुन्छ ।

गेडागुडीलाई उमारेर पकाउनाले यसमा पौष्टिकतत्वको मात्रा बढ्छ । पाकिसकेपछि अलिकता कागतीको अमिलो वा गोलभेंडा हालिदिनाले भिटामिन सीले यिनमा रहेको लौहतत्व राम्ररी सोसिन पाउँछ । त्यसैले होला, पहिले–पहिले दालभात, साग, अमिलो मोही खाने चलन थियो ।

स्वास्थ्य मन्त्रालयचाहिँ गर्भवतीलाई आइरन चक्की दिएर नै रक्तअल्पता कम हुन्छ भनी जताततै आइरन चक्की बाँड्छ ।

कति महिलालाई त्यसले वाकवाकी लाग्छ, अनि खान छोड्छन् । अहिले त कतिपय प्रदेशमा किशोरीलाई समेत आइरन चाहियो भन्दै फोलिक एसिड बाँड्ने कार्यक्रम चलाउने रे १ मानव पोषणलाई टुक्रा–टुक्रामा विचार गरेर, टुक्रे–टुक्रे कार्यक्रम गरेर महिला र किशोरीको स्वास्थ्य रक्त अल्पता कम हुँदैन ।

रक्त अल्पता सामाजिक समस्या हो र आइरन चक्की बाँडेर समाधान हुँदैन भनी यो मन्त्रालयले कहिले बुझ्ने होला ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्