आतंककारी बनाउने को नेता कि समाज ??



महाभारत रचनाकाल भन्दा पहिल्यै रचना भएको वसिष्ठ स्मृतिमा भएको एउटा श्लोक आजको परिस्थितिमा पनि सान्दभिक छ । उक्त श्लोकले भन्छ ,

अग्निदो गरदश्चैव शस्त्रपाणिर्धर्नापहः ।
क्षेत्रदारापहर्ता च षडेते ह्याततायिनः ।।
आगो लगाउने, बिष खुवाउने, शस्त्र लिएर मार्न उद्यत हुने, धनको अपहरण गर्ने, जग्गाजमिन अपहरण गर्ने र स्त्री हरण गर्ने यी छ आततायी (आतंककारी) हुन ।

यो आतंककारीको सर्वकालिक परिभाषा हो । सनातनी समाजमा मात्र नभएर सबै समाजमा आतंककारीको यो परिभाषा मान्य नै छ ।

उपरोक्त छ वटा मध्ये कुनै एक काम गर्ने विश्वभरी नै आतंककारी मानिन्छन । कुनै पनि देशको कानुनले पनि यो काम गर्न छुट दिएको छैन ।

केवल केही समाजवादको आवरणमा आफुलाई ढाक्ने देशका कानुनमा यस मध्ये केही कार्य गर्न राज्य संयन्त्रले छुट लिएको पाईन्छ । तर, त्यो छुट पनि पुर्णरुपमा छैन ।

किन्तु परन्तुको खोल ओडाएर र फलाना उदेश्यको निमित्त राज्यले कानुन बनाएर यी मध्ये केही काम गर्न सक्छ भन्ने उल्लेख गरेर समाजवादी देशको सरकार केही नागरिक माथी यो आतंककारी विभेद गर्न उद्यत हुन्छ ।

राज्यको यही तर्कलाई भर्‍याङ्ग बनाएर कुनै न कुनै राजनितिक लक्षको ढाल ओडेर विभिन्न समुहहरु पनि आफुले यो काम गर्न पाउनु पर्ने मान्यता राख्दछन । आज मुलुक राज्यको र त्यस्ता समुहहरुको आतंकबाट पोलिएको छ, पिल्सिएको छ ।

राज्य वा राजनैतिक प्रणालीको निमित्त जनता होईनन्, जनताको निमित्त राज्य वा राजनितिक प्रणाली हो भन्ने साश्वत सत्य आजका बुद्धिजीविहरुले भुलेका छन ।

सत्ता वा शक्तिको कृपाबाट प्राप्त हुने मान सम्मान, भोग विलास वा धन सम्पत्तिको लोभमा आफ्नो आत्माको आवाजको विपरित काम गर्ने वा मान्यता बनाउने यस्ता बुद्धिजीविहरुलाई के भन्ने ?

एउटी महिलाले भौतिक आबश्यकताको निमित्त आफ्नो ईच्छा विपरित कसैसंग पनि यौन सम्बन्ध राख्नु र आफ्नो आत्माको आवाज, आत्मज्ञानले देखाएको बाटो बिपरित काम गर्नु एकै प्रकारको परिस्थिती होईन र ?

त्यो महिलालाई वेश्या नाम दिई तिरस्कृत गर्ने समाजले यस्ता बुद्धिजीविहरुलाई भने अगुवाको नाम दिई संम्मानित गर्नु समाज कै पनि नैतिक पतन भएन भनेर भन्न सकिन्न ?

हत्या जुनसुकै उदेश्यको निमित्त गरेको भए पनि हत्या नै हो, चोरी जुनसुकै कारणले गरेको भए पनि चोरी नै हो ।

न्यायधिशहरुले कारण र परिस्थिति अनुसार सजाय कम या ज्यादा गर्न सक्लान तर अपराध मुक्त भने गर्न सक्दैनन ।

त्यसै गरेर आगो लगाउने काम आतंक नै हो ।

बिष खुवाउने वा हतियार लिएर मार्ने डर देखाई जबरजस्ती गर्ने काम पनि पुण्य हुन सक्दैन ।

कसैको धनको स्त्री वा परिवारको अपहरण गर्ने र जग्गा जमिन जस्ता कमाई खाने साधन खोस्ने काम जसले गरे पनि आतंककारी काम नै हो ।

आज कल छल वा बलले उस्ता कामलाई जत्तिकै राम्रो फुलबुट्टा भरे पनि भोलीले पुन मुल्यांकन गर्ने नै छ ।

हत्याले कुनै जीवलाई एकै चोटी समाप्त पार्दछ तर ज्यान जाने डर , धन सम्पत्ति हरण हुने डर वा आफ्ना परिवारको कुभलो हुने डरबाट पैदा हुने आतंकले उसलाई हरपल तिलतिल गरेर मार्दछ ।

यस कारण आतंक हत्या भन्दा पनि जघन्य अपराध हो । यस्ता अपराधहरु राज्य , समुह वा व्यक्ति कसैले गरे पनि क्षम्य हुनै सक्दैन । अझ सवै जनताको भलोकुभलोको जिम्मेवार भएको राज्यले यसो गर्दछ भने त्यसको अपराधको त कुनै तुलना नै हुन सक्दैन ।

यदि यस्ता अपराधलाई कसैले महिमा मण्डित गर्दछ भने त्यो त झन ठूलो अपराध गर्दछ । समर्थनले काम गर्नेको हौसला बढाउँदछ र अझ धेरै र गम्भिर प्रकारका यस्तै काम गर्न हौसिन्छ ।

कुनै कारणले यस्ता कामको बिरोध गर्न नसक्नु केहि मात्रामा क्षम्य हुन सक्ला तर ठिक हो भनेर त्यसको ओड पस्नु त त्यस अपराधमा संलग्न हुनु नै हो ।
शास्त्रहरुलाई मिथक नै मान्ने हो भने पनि यी हालसालका होईनन । यीनिहरुको रचना काल परापुर्व नै हुन आउँदछ । तीनिहरुमा वर्णित धटनाहरुलाई काल्पनिक मान्नेहरुले पनि तीनिहरुमा निहित सुत्र वा ज्ञानका कुराहरुलाई अस्विकार गर्न सक्दैनन् ।

त्यस ज्ञान वा सिद्धान्तसंग असहमत हुने वा सहमत हुने अधिकार सबैलाई छ ।

सनातनी (हिन्दु) समाजले आफ्ना मान्यताभन्दा फरक विचार वा सिद्धान्त अपनाउनेहरुको पनि अस्तित्व स्विकार गरेको छ , मान राखेको छ । यसको उदाहरणको निमित्त चार्वाकको नाम नै प्रयाप्त छ ।

पुनर्जन्म , लोक परलोक वा पापको फल भोग्ने नरक र पुण्यको उपभोग गर्ने स्वर्गको अवधारणको विपरित खरानी भएर जाने शरिर कहिले पो फर्कन्छ र तसर्थ जहिलेसम्म बाच्छौं सुखि भएर बाँच ऋण गरेर भए पनि धिउ पिउ भन्ने चर्वाकलाई यो समाजले अहिलेसम्म पनि सम्झिरहेको छ ।

रामायणको खलपात्र रावणले रचना गरेको शिवस्तुति आज प्रयान्त शिव उपासनामा गाईने गरिन्छ , त्यसरी गाउदा रावणलाई राम्रो र रामलाई खलपात्र भनेर भनिदैन ।

यसरी विवेचना गर्दा सनातनी समाज सबैभन्दा समतामूलक, व्यक्ति स्वतन्त्रताको सम्मान गर्ने तथा व्यक्ति पूजक नभई कामको परिणमको आधारमा मुल्यांकन गर्ने समाज हो ।

मेरो पक्षले कुनै काम गरेमा त्यो प्रशंसनिय र मेरा बिरोधी पक्षले सोहि काम गर्दा त्यो जघन्य र अक्षम्य अपराध भनेर भन्ने पाखण्डिपन देखाउने तथाकथित बुद्धिजीविहरुबाट आज यो देश आक्रांत छ ।

जत्ति क्षति आतंक मच्चाउनेहरुले गर्दछन त्यो भन्दा कयौं गुणा ज्यादा क्षति त्यसको मतियारहुने बुद्धिजीविले गरेका छन ।

काटेको घाउमा नुनचुक छर्ने यस्ताहरुको ज्यादती नेपाली जनताले कहिलेसम्म चुपचाप सहनु पर्ने हो त्यो त सर्वशक्तिमा ईश्वरलाई नै थाहा होला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्