‘समृद्ध धरान र सुखी धराने बनाउने भिजन मसँग छ’– चोत्लुङ्ग

‘धरानको मेयर बन्न मसँग अनुभव र स्पष्ट भिजन छ’– चोत्लुङ्ग


 

सैघाली खबर काठमाडौ २०५७ सालदेखि राजनीतिमा सक्रिय युवा नेता फोक्वा हाङ सुव्वा (चोत्लुङ) एक दशक भन्दा लामो समयदेखि धरानको भूगोल, माटो र धराने जनतासँग प्रत्यक्ष परिचित छन् । उनी तत्कालिन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा सहभागि भएका कुशल, सालिन संगठक र योद्धा हुन् । हालसम्म देश र जनताको मुक्तिका खातिर अविवाहित रहेर व्यक्तिगत जीवन र परिवारभन्दा माथि उठी सम्पूर्ण जीवन राष्ट्रको समृद्धि र जनताको खुशीका लागि ठूलो त्याग र बलिदान गर्दै आएका छन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत भई धरान उपमहानगरको संयोजक समेत भईसकेका चोत्लुङ्ग धरान उपमहानगरपालिकामा सर्वदलीय संयन्त्रको संयोजक बनेर काम गरिसकेका छन् । धरानमा सबै राजनीतिक दलको नेतृत्व समेत गरिसकेका चोत्लुङ्ग अहिले नेकपा एमाले र माओवादी केन्द्रको एकता पश्चात् बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीको जिल्ला सदस्य हुन् । धरान उपमहानगरपालिका यतिबेला नगरप्रमुख बिहिन बनेको छ । आगमी मंसिर १४ गते धरान उपमहानगरपालिका सहित देशभरका रिक्त रहेका जनप्रतिनिधिहरुको उपनिर्वाचन हुँदैछ । धरानमा नगरप्रमुख (मेयर) को उम्मेद्वार नेकपाले छनौट गर्न ढिलो गरिरहेको छ । यद्यपी अनुभवी, स्व. मेयर तारा सुब्बाका सहयात्री समेत रहेका फोक्वा हाङ सुब्बा (चोत्लुङ) नेकपाबाट मेयर बन्नुपर्ने आवाज उठिरहेको छ । यसै सन्दर्भमा मेयरको चुनाव र धरानको समग्र विकासमा केन्द्रित भई उनीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

मंसिर १४ गते धरानमा मेयरको चुनाव हुन्छ त ?
अवश्य हुन्छ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते निर्वाचनको मिति सार्वजनिक गरि निर्वाचनको तयारी गरिसकेको छ । दल दर्ता देखि चुनाव चिन्ह दिने सम्मको काम सम्पन्न गरिसकेको छ । मलाई विश्वास छ कार्तिकको पहिलो साता निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजानिक गर्ने छ । फेरी यो आम चुनाव नभएर उपचुनाव हो । यो सरकारको नियमित र सामान्य कार्य भित्र पर्दछ । यसकारण निर्वाचन हुनेमा दुविधा छैन ।

धरानको मेयर कस्तो हुनुपर्छ ?
उपनिर्वाचन पछि आउने धरान नगर प्रमुखको कार्यकाल भनेको अढाई बर्ष हो । यसकारण यो छोटो अवधीलाई आउने मेयरले नेतृत्व गर्नु पर्ने हुन्छ । यसरी हेर्दा अब आउने मेयरको दुईवटा जिम्मेवारी हुन आउछ । पहिलो यस अगाडी नगर सरकारले सारेको योजनाहरुलाई कार्यान्वयन गर्दै पुरा गर्ने र धरानको दिर्घकालिन योजनाहरुलाई तयारी गर्दै अगाडी बढाउने । सुशासन कायम गर्दै आम नगरवासीको सेवा प्रवाहलाई प्रभावकारी बनाउने । यसरी हेर्दा यो दुईटै अभिभारा पुरा गर्ने गर्न सक्ने अनुभव सहितको सक्षम नेतृत्व अहिलेको धरानको आवश्यकता हो । यसरी हेर्दा धरानको निर्णय भईसकेका र निर्माणका क्रममा रहेको योजनाहरु बारे जानकार र अनुभव भएको साथै समृद्ध धरान निर्माणको लागि स्पष्ट भिजन भएको मेयर आजको आवश्यकता हो ।

मेयरमा तपाईलाई पार्टीले टिकट दिएमा के गर्नु हुन्छ ?
मलाई पार्टीले जिम्मेवारी दिएमा धरानको विकास र समृद्धीको अभियान अगाडी बढाउन तयार छु । १० वर्ष सम्म धरान उपमहानगरपालिकाको विभिन्न कार्यमा औपचारिकरुपमा र अनौपचारिकरुपमा रहेर धरानको विकासको लागि गरेको कार्यहरुको अनुभवलाई धरानको विकास समृद्धीको लागि सदुपयोग गर्नेछु ।

धरानमा नेकपाले जित हासिल गर्ने आधार के के हुन् ?
धरान नेकपाको आधार क्षेत्र हो । बैचारिक, राजनैतिक र संगठनको हिसावले हेर्दा नेकपाले धरानमा दुई तिहाई मतका साथ निर्वाचन जित्ने आधार रहेको छ । विगतमा नेपालका दूई ठुला कम्युनिष्ट पार्टीले छुटाछुटै निर्वाचन जितेका छन् । आज ति पार्टीहरु मिलेर नेकपा भएको छ । अर्को पाटो भनेको धरानको आजको चित्र भनेको नेकपाको नै देन हो । हिजो जनपक्षिय उमेद्वारहरु कृष्ण कुमार राई, बम देवानले गरेको काम हुन या ४६ सालको आन्दोलन पछि ध्यान बहादु राई, मनोज मेन्याङको देखी तारा सुव्वा सम्म आउदाको कुरा हेरौ या मनमोहन अधिकारी, लिला सुव्वा, कुन्ता शर्मा, किरण राई, कृष्ण कुमार राई सम्म धरानमा जेभएका छन् । नेकपाको नेतृत्वमा भएका छन् । साथै हाल जे विकासका कार्यहरु भईरहेका छन् ति नेकपा कै नेतृत्वमा भईरहेका छन् । अवश्य सिमा कमी कमजोरी हुन्छ नै । तर स्रोत साधनलाई आधार मानेर ७७ जिल्लालाई हे¥यौ भने धरान अब्बल नै छ । अगाडी नै छ । यी नै आधारमा नेकपाले धरानमा जित हासिल गर्नेछ ।

तपाई धरानको मेयर बन्नु भएपछि के के गर्नुहुन्छ ?
पहिलो प्रथमिकता भनेको आम धरानबासी र नगर सरकार विच विश्वासको वातावरण निर्माण गर्नु हुने छ । किन की नगर सरकार र नगरबासीको विश्वास विना धरानको विकास सम्भव छैन । यसका लागि सुशासन महत्वपूर्ण पाटो हो । दोश्रो विगतमा हामी आफैले अगाडी सारेको र परियोजनाहरु धरान खानेपानी आयोजना सम्पन्न गर्ने र खानेपानी बोर्ड धराने जनताको प्रतिनीधी हो भन्ने विश्वास पैदा गराउने, धरान बसपार्क निर्माणको डिपीआर बनी सकेको हँुदा त्यसका लागि आर्थिक स्रोत जुटाउने र ३ वर्ष भित्र सम्पन्न गर्ने गरी काम अगाडी बढाउने साथै त्यहाँ रहेको सुन्दर बस्ती जग्गा विकास आयोजनाको समस्या सामाधान गर्ने, धरान विमान निमार्णको स्वीकृती भई सकेको र विमान स्थल निमार्ण गर्ने निकाय नेपाल नागरिक उड्यायन प्राधिकरणले जग्गा व्यावस्थापन गर्न नगर सरकारलाई पटकपटक ताकेता गरिसेको हुँदा तत्काल जग्गा व्यावस्थापनको लागि प्रकृया अगाडी बढाउने, जग्गा धनी बासिन्दाहरुकोे न्याय पुर्ण व्यास्थापन गर्ने, यसका लागि आर्थिक स्रोत जुटाउने र निर्माण कार्य अगाडी बढाउने, धरान रंगशालालाई सम्पन्न गर्ने, खेलकुद ग्राम बनाउने, सर्दु सेउतीको तटबन्धन निर्माणलाई एकीकृत रुपमा अगाडी बढाउने, पर्यटन संग सम्बन्धित पुर्वाधारहरु प्याराग्लाईडिङ, निजी सार्वजानिक साझेदारीमा सुविधा सम्पन्न रिसोर्ट तथा होटल निर्माण गर्न जग्गा व्यावस्थापन गरी निजी क्षेत्रलाई लगानी गर्ने बातावरण मिलाउने, विजयपुर क्षेत्रलाई ऐतिहासिक तथा धार्मिक क्षेत्र घोषणा गरी विजयपुर ऐतिहासिक साँस्कृतिक नगरी निर्माण गर्ने, धरान–भेडेटार केवलकार निमार्ण परियोजना अगाडी बढाउने, धरान मुलघाट सुरुङ मार्ग र यसलाई खानेपानी समेत जोडेर अगाडी बढाउन सहजीकरण गर्ने, लिङक रोडहरुको निर्माण, बहुजातीय संग्राहलय सम्पन्न गर्ने, धरानमा रहेको सम्पुर्ण तह र तप्का संग सहकार्य गर्ने, गुणस्तरीय शिक्षामा विषेश जोड दिदै शैक्षिक नगरी बनाउने आधार तयार गर्ने, बिषेशज्ञ स्वाथ्य सेवामा जोड दिने, करको दर वृद्धी होईन दायरा बिस्तारको निती लिने । पानमारीमा औद्योगीक ग्रामको विस्तार गर्ने, सुकुम्बासीको व्यावस्थापनको लागि हाल भई रहेको कार्यलाई सम्पन्न गर्दै लालपुर्जा र व्यवस्थित आवासमा जोड दिने । विष्णुपादुका र पाँचकन्यामा योजनाबद्धरुपमा कृषी क्षेत्रको प्रर्वदन गर्ने लगायत कार्य गर्ने मेरो योजना रहेको छ ।

खानेपानी, एयरपोर्ट, बसपार्क, रंगशाला आदिका विषय चुनावी मुद्दा मात्रै हो कि यसमा तपाईको धारणा के छ ?
हो आज सम्म धरानको खानेपानी, एयरपोर्ट, बसपार्क, रंगशाला आदि चुनावी मुद्दा जस्तो मात्र बनेको देखियो । तर वास्तविकता त्यस्तो होईन । धरानको खानेपानी आयोजना धरानमा रहेका हामी राजनैतिक दलहरुको निर्णय र सिफारिसम बनेको र अगाडी बढेको योजना हो । करिब ९५ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको यो योजनालाई पुरा गर्नु पर्छ । कुनै राजनैतिक दलले चुनावी मुद्दा बनाउनु आवश्यक छैन । हो यदि परियोजना सन्चालनमा गलत कार्यभएका छन् भने आवश्यक छानबिन गर्नै पर्छ । फटाई गरेको भेटिए कार्बाही गर्नु पर्दछ । धरान विमान स्थल स्वीकृत भई सकेको छ । धरान उपमहानगरपालिकाले जग्गाको व्यावस्थापन गर्नु पर्ने कार्य बाँकी रहँदा निमार्ण शुरु गर्न सकिएको छैन, निर्वाचनमा धरान विमान स्थल नबनाउने भन्ने मुद्दा हुनै सक्दैन, बरु हामीले कसरी जग्गा ब्यावस्थापन गर्ने र बाँकी काम सम्पन्न गर्दछौ योजना अगाडी सर्ने हो । धरान रंगशालामा निमार्णाधीन चरणमा छ । सर्दु र सेउती तटबन्धनको लागि टेण्डर प्रकृया अगाडी बढ्दै छ । यसका यी चुनावी मुद्दा बनाउने कुरा मात्र होईन छिट्टै यथार्थतामा बदल्ने योजनाहरु हुन् यसलाई केवल चुनावी मसला बनाउनु भन्दा यी योजानहरु पुुरा गरी छाड्ने संकल्प गरी अगाडी बढ्दा धरानवासीको लागि हितकर हुने छ ।

अढाई वर्षका लागि मेयरको पदमा बस्नु भन्दा पछि हुने चुनावमा ५ वर्षका लागि मेयरको तयारीमा लाग्दा के हुन्छ ?
यो गम्भीर प्रश्न हो । म धेरै मानिसहरुले यसै प्रकारको बहस गरेको पाउँछु । तर यो कुरा व्यक्तिसंग सम्बन्धित छ को व्यक्तिले कति चलाउने भनेर । यस प्रकारको बहस सही होईन भन्ने मेरो ठहर छ । मेरो बुझाईमा हामीले सवै भन्दा माथी धरानवासीलाई राख्नु पर्दछ । कोही पात्र विषेशलाई होइन । धरानको विकास र समृद्धलाई राख्नु पर्दछ । हामीले यो साढे दुई धरानवासीको हो भन्ने बुझन पर्दछ । हामी राजनैतिक दलहरुलाई साढे दुई वर्ष त हो नी भनेर धरानवासीको द्रुत विकासको चाहाना र समृद्धीको सपना माथि खेलवाड गर्ने छुट छैन । बरु सही पात्रलाई अगाडी सार्ने जिम्मेवारी छ । यहाँ कसले अढाई बर्ष चलाउने वा ५ बर्ष चलाउने भन्ने होईन की अढाई बर्षको समयमा नगर सरकारले के के गर्नु पर्ने छ । कस्तो धरान बनाउने हो यसका लागि ५, १० वर्ष भित्र सम्पन्न गर्नु अहिले देखि के के कुराको तयारी गर्नु पर्ने हो । यसका लागि कस्तो पात्र आवश्यक हुन्छ । र त्यस्तो उपयुक्त पात्र को हुनसक्छ भनेर हामीले छलफल गर्नु पर्दछ । अझ धरानको हकमा नेकपा यो विषयमा संवेदनशील हुन आवश्यक छ । यसकारण साढे दुई वर्षको लागि उपयुक्त पात्र छान्ने र समाजवादी समृद्ध धरानको निर्माणको आधार तयार गर्ने काम गर्नु पर्दछ ।

स्व. तारा सुब्बाको सहयात्री मध्ये तपाई प्रमुख पात्र हुनुहुन्छ, उहाँका अपुरा कार्यलाई कसरी पुरा गर्ने सोंच बनाउनु भएको छ ?
स्व.मेयर तारा सुव्वा र म २०६५ सालदेखि धरानको विकासमा संगै रह्यौ । त्यती खेर म नेकपा माओवादीको तर्फवाट धरान नगरको ईन्चार्जका हैसियतमा दलिय संयन्त्रमा थिएँ भने स्व.मेयर तारा सुव्वा तत्कालिन एमालेको नगर अध्यक्षको हैसियतमा दलिय संयन्त्रमा हुनुहुथ्यो । हामी स्थानीय निर्वाचन सम्म करिब १० वर्ष धरानको विकासमा निरन्तर सहकार्य गरी रह्यौ । सो समयमा हामीले ८ वटा बढी नगर परिषद् सम्पन्न गरी धरानको भिजन बनायौ । आवधिक योजना निमार्ण ग¥यौ धरानको लक्ष्य “शिक्षा स्वास्थ्य तथा पर्यटकीय व्यापारिक पुर्वाधार, बहुसांस्कृतिक आबासीय समृद्ध शहर” तय ग¥यौ । धरानको सवै भन्दा ठुलो समस्या सामाधान गर्न खानेपानी योजना अगाडी बढायौ । रंगशाला पुनः निर्माणको निर्णय शुरु ग¥यौ, धरान विमान स्थल स्वीकृत गरा¥यौ । बहुजातीय संग्रहालय बनाउने निर्णय ग¥यौ, सर्दु सेउतीको तटबन्धन तथा कोरीडोर, पाँचकन्या र विष्णुपादुका संग समझदारी गरी धरानलाई उपमहानगरपालिका बनाउने निर्णय गरियो । विग थाउजन बुद्ध परियोजना, भक्तराज कदंन्वा क्रिकेट मैदान, सुकुम्बासीहरुलाई घर नं. दिने र धुरीकर लिने, उद्योग वाणिज्य संघसंग सहकार्य गर्ने, धरान आसपासका क्षेत्रसंग धरानलाई जोड्न लिङकरोडहरु, सेउती, सर्दु, सेरा, अँधेरी लगायत नदीहरुमा पुल निर्माणका योजनाहरुको लागि निणर्य साथै पहल गर्ने कार्य गरियो । स्व.तारा सुव्वा मेयर भएपछि यी योजनाहरु मध्ये कार्यन्वयन भएकालाई सम्पन्न गर्न दृढता पुर्वक लाग्नु भो भने, सो समयमा शुरु नभएकालाई शुरु गर्नु भो । यस बाहेका नयाँ योजनाहरु समेत अगाडी सार्नु भयो । हाल का.बा. मेयरको नेतृत्वमा कार्यन्वयनको भई रहेको छ । केही शुरु गर्नै बाँकी छन् । मलाई लाग्छ यी योजनाहरुमा स्व.तारा सुव्वाको सोच र भिजन समायोजित रहेका छन् । त्यसकारण यी योजनाहरुलाई पुरा गर्दै स्व. मेयर तारा सूव्वाको सपनालाई साकार पार्दै नयाँ धरान निर्माणको लागि अगाडी बढ्ने योजना छ ।

कमजोर उम्मेद्वारका कारण नेकपा पराजय भयो भने त्यसको जिम्मेवारी कसले लिनुपर्छ ?
मेरो विचारमा कमजोर पार्टीहरुलाई, जित्ने विश्वास नभएका दलहरुले बलियो उम्मेद्वार खोज्ने हो । तर जित सुनिश्चत भएको पार्टीले राम्रो उम्मेद्वार खोज्ने हो । जसले साच्चै स्थानीय सरकार जनताको हो भन्ने विश्वास दिलाउन सक्छ । जसले शुसासन कायम गर्न सक्छ । भ्रष्टचार निर्मुल गर्न सक्छ । जो संग धरान निर्माणको स्पष्ट भिजन छ । उसलाई उम्मेद्वार बनाउनु उपयुक्त हुन्छ । बलियो त गलत मान्छे पनि हुन सक्छ । भिजन नभएको हुन सक्छ । भ्रष्टचारी पनि बलियो हुन सक्छ । यस कारण पार्टीले जति सुकै बलियो होस गलत मान्छेलाई जनताको सेवा गर्ने ताला चाबी उसलाई बुझाउनु हुँदैन । सही भनेर जसलाई पार्टी अगाडी सार्छ त्यहाँ हार जित व्यक्ति विषेशको हँुदैन पार्टीको हुन्छ । पार्टीले जिम्मा लिन्छ । मुख्यत पार्टीले चलाएको सरकारले गर्ने कामको आधारमा जनाले मत दिने हो । मलाई विश्वास छ सही व्यक्तिलाई जनताले सँधै साथ दिने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्