एकैदिन ४२ अर्ब राजश्व, २ केन्द्रीय नेतासहित ६ जनालाई भ्रष्टाचारको मुद्दा दायर



काठमाडौंबाट बिहिबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । आजका सबै पत्रपत्रिकाले नुवाकोटको तारुका चन्दनीमा माघे संक्रान्तिका अवसरमा आयोजना गरिएको गोरु जुधाउने मेलाबारेको समाचारलाई महत्वका साथ समेटेका छन् । अर्थतन्त्र ओरालोतिर, विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषयमा पनि आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

अन्नपूर्ण पोष्ट् दैनिकले अर्थतन्त्र ओरालोतिर शीर्षकमा प्रमुख समाचार बनाएको छ । समाचारमा लेखिए अनुसार सरकार, निजी क्षेत्र र घरायसी क्षेत्रबाट हुने लगानी र खर्च शिथिल हुँदा अर्थतन्त्र ओरालो लागेको हो । पछिल्लो समय अर्थतन्त्र ओरालो लाग्नुका कारणहरूमा कर्जा विस्तारमा ब्रेक लागेको, सरकारी खर्च सुस्त देखिएको, राजस्व असुलीमा धक्का लागेको, विप्रेषण आप्रवाहमा कमी आएको र उपभोगमा कमी देखिएको समाचारमा विश्लेषण गरिएको छ ।यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताउनुभएको समाचारलाई पनि पत्रिकाले प्रथम पृष्ठमै समेटेको छ ।

सरकारले मुलुकभित्र विभिन्न माध्यमबाट आर्जन गरेको चलअचल सम्पत्ति फिर्ता गर्ने गरी भ्रष्टाचार निवारण ऐन संशोधनको तयारी गरेको नागरिक दैनिकमा समाचार छ । मुलुकभित्र भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति विदेशमा राख्ने गरेको चर्चा चलिरहेका बेला सरकारले विदेशमा राखेको सम्पत्ति फिर्तासम्बन्धी कारवाही चलाउने व्यवस्थासहित भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्ने विधेयक संसद्मा ल्याएको हो । भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति विदेशमा रहेको देखिएमा त्यस्तो सम्पत्ति पहिचान गर्ने, रोक्का गर्ने र फिर्ता गर्ने सम्बन्धमा पारस्परिक समझदारी वा सन्धिको आधारमा नेपाल सरकारमार्फत आवश्यक व्यवस्था गर्न सकिने व्यवस्था विधेयकमा थप गरिउको छ । ऐनको दफा ६० को ६० ९क० मा नयाँ प्रावधान राखिएको छ । विदेशमा रहेको सम्पत्ति फिर्तासम्बन्धी कारबाहीको व्यवस्था गरी भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि अनुकूल बनाउन सरकारले यो विधेयक ल्याएको हो । राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचार गरेमा रकमअनुसारको सजाय पनि तोकिएको छ ।

गोरखापत्र दैनिकमा ‘एकैदिन ४२ अर्ब राजश्व शीर्षकमा प्रमुख समाचार छापिएको छ । समाचार अनुसार सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रूपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मंगलबार ४२ अर्ब ४६ करोड रुपियाँ राजश्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको पत्रिकामा उल्लेख छ ।

राजस्व सङ्कलन लक्ष्य जसरी पनि पूरा गर्ने बाध्यतामा रहेको सरकारले एकै दिन विभिन्न कर शीर्षकमा २५ अर्ब ५५ करोड, गैर कर शीर्षकमा १६ अर्ब ९० करोड र अन्य प्राप्तिमा दुई अर्ब ३० करोड रुपियाँ सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्म चार खर्ब ३३ अर्ब १५ करोड रुपैयाँ सङ्कलन गरिएको छ । यो कुल राजस्व लक्ष्यको ३८।९५ प्रतिशत हो । पुससम्म पाँच खर्ब ३७ अर्ब राजस्व सङ्कलन गर्ने सरकारले लक्ष्य राखेको भएपनि समीक्षा अवधिसम्म एक खर्ब चार अर्ब न्यून राजस्व सङ्कलन भएको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिकमा तत्कालीन भूमिसुधारमन्त्रीले खोला नै आफ्नो नाममा बनाएर बेचेको खुलासा भएको समाचार छ । ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ । आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् । ०२१ को नापीले मध्यपुर थिमि नगरपालिका–३ सागबारीस्थित २८ रोपनी तीन आना दुई पैसा जग्गा कित्ता नम्बर १०१२ मा हनुमन्ते खोलाको नाममा दर्ता गरेको थियो । तर, खोलाले धार परिवर्तन गरेको मौका छोपी ३१ वैशाख ०३१ मा आचार्यले खोलाको १७ रोपनी १४ आना आफ्नो नाममा दर्ता गरे । जिल्ला मालपोत कार्यालय भक्तपुरको जग्गाधनी पुर्जा स्रेस्ताअनुसार खोलाको कित्ता १०१२ लाई ११२० र ११२१ मा टुक्र्याएर ११२० को १७ रोपनी १४ आना उनले आफ्नो नाममा दर्ता गरेका थिए । भूमि प्रशासनको निर्णयबमोजिम खोलाको जग्गा आचार्यले आफ्नो नाममा दर्ता गरेको भन्ने मालपोतको लिखतमा उल्लेख छ ।

कान्तिपुर दैनिकमा आर्थिक वर्षको ८६ करोड रुपैयाँ भुक्तानीको विषयलाई लिएर प्रदेश २ को प्रदेशसभामा गत भदौदेखि जारी गतिरोध अझै नहटेको समाचार छ । उपभोक्ता समितिलाई उचालेर विपक्षी र सत्तासीन दलका सांसदहरु आफै पनि भुक्तानी माग्दै प्रदर्शनमा उत्रिएपछि पछिल्लो समय प्रदेशसभा बैठक नै अनिश्चितकालका लागि स्थगन गरिएको छ । भुक्तानीसम्बन्धी विवादका कारण प्रदेशसभाको तेस्रो अधिवेशन एक वर्षदेखि लम्बिइरहेको छ । भुक्तानी र योजना छानविनका लागि प्रदेशसभाले सभामुख सरोज यादवकै संयोजकत्वमा संसदीय समिति बनाएपछि भदौमा चार दिनसम्म बसेको प्रदेशसभा बैठकले दलित सशक्तिकरण विधेयक पास गर्न भ्याएको थियो । त्यसयता बसेको प्रदेशसभा बैठकमा सांसदहरुले भुक्तानीकै मुद्दा उचाल्दै गतिरोध कायम राखेका छन् । भदौयता प्रदेशसभाको बैठक भुक्तानी मुद्दामै अल्झिएकाले दार्ता भइसकेका २३ वटा विधेयक पास हुन सकेका छैनन् । प्रदेशसभाले दुई वर्षमा २३ वटा विधेयक पारित गरेको थियो । त्यसपछि टेबुल भएका अरु विधेयक अलपत्र छन्

कारोबार दैनिकमा पछिल्लो एक दशकमा मुलुकमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यास खपत उच्च दरमा वृद्धि भएको हो ।नेपाल आयल निगमको तथ्याकंअनुसार आर्थिक वर्ष २०६५र६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएकामा आव २०७५र७६ सम्ममा ४ लाख १२ हजार ८५३ पुगेको हो ।वर्षेनि ग्यासको खपत बढ्दै गएपछि आयात पनि सोही अनुपातमा बढ्दै गएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले ग्यासको प्रयोग बढ्दै गएकाले खपत पनि सोही अनुपातमा बढ्दै गएको छ ।

नयाँ पत्रिकामा फर्जी उपभोक्ता समिति गठन गरी सडक निर्माणका नाममा बजेट पारेर हिनामिना प्रयोग गरेको अभियोगमा पूर्वसांसद विश्वनाथ यादव (बिपी यादव)सहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको समाचार छ । आयोगले बुधबार यादवसहित पूर्वाधार विकास कार्यालय सिराहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत र नायब सुब्बा भागवत यादवविरुद्ध मुद्दा दायर गरेको हो । यस्तै, तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण भन्ने हरि मण्डल, वीरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । आयोगले ‘सुनियोजित तवरले फर्जी उपभोक्ता समिति गठन गरी सरकारी रकम हिनामिना गर्ने उद्देश्यले भ्रष्टाचारको कसुरमा प्रत्यक्ष संलग्नता देखिएको’ आरोप लगाएको छ । बिपी, हरि, वीरेन्द्रकुमार र कृष्णकुमारले एक–आपसमा मिलेमतो गरी फर्जी उपभोक्ता समितिमार्फत रकम हिनामिना गर्ने प्रयास गरेको आयोगको ठहर छ । उनीहरूले सप्तरीको राजगढ गाउँपालिकास्थित मुतनीनदी सिँचाइ आयोजनाको काम गर्न गठित उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकता फोटोकपीमा विवरण सच्याएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्