आजदेखि अर्को चरणको उद्धार उडान सुरु



काठमाडौं / ०९ भदौ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार भदौ ९ गते मङ्गलबारदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक गरिएको हो ।

नयाँ तालिकाअनुसार भदौ ९ गते साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ । यस्तै १० गते आबुधाबीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ ।

उद्धार उडानका लागि यात्रुहरूले पीसीआर रिपोर्ट ल्याउनुपर्ने, पीसीआर टेस्ट गरेका र नगरेकालाई एकै ठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्नेछ ।

कोषको खर्चबाट उद्धार गरिएकाबाहेक अन्यलाई अनिवार्य एक साता होटल क्वारेन्टाइनमा राखिने भएको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिबाहेक अन्य तरिकाले उद्धार उडानबाट नेपाल आउने नेपाली नागरिक काठमाडौँ उपत्यका भित्रका होटलमा आफ्नै खर्चमा कम्तीमा सात दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ ।

तर पीसीआर नेगेटिभ आएमा उडानबाट आएका नेपाली नागरिकलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्