डा. थापाको चितवन पुग्ने सपना अधुरै , बिरामी बेडमै



 

सैघाली खबर

काठमाण्डौ ३० फागुन। एक साता अघि भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा भर्ना भएका बुटवलका पिताम्वर सापकोटाको टाउकोमा रगत जमेको थियो । बरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापा सोमबारसम्म चितवन आइपुग्ने र राति अप्रेशन गर्ने तयारी सापकोटाको थियो । डाक्टर आई पुग्ने खबरले निकै उत्साहित बनेका सापकोटा नयाँ जीवन पाउँने आसमा उक्तिकै बसेका थिए । उनका आफन्तहरुले घरी घरी आज त डा. त आउँनु हुन्छ होला नै है भन्दै कार्यरत डाक्टरलाई सोध्दै थिए । परिवार संग भेट हुने बंगलादेश बाट उडेको मन क्षणभर मै ध्वस्त भयो । अब डा. बालकृष्ण थापा न परिवार संग कहिल्यौ भेट हुन पाउँने छन न  त बेडमा छटपटाई रहेका सापकोटाको अप्रेशन गर्न

अफसोच डा. थापा अब हाम्रा माझमा आएनन् ।बेड नम्बर ३१२ मा भेटिएका ७४ वर्षीय सापकोटा भन्छन्, ‘हिजो मेरो अप्रेशन गर्ने कुरा थियो तर, डाक्टर साब त भगवानको अप्रेशन गर्न जानुभएछ ।डा. थापा न्यूरो सम्वन्धी सम्मेलनमा भाग लिन फागुन २५ गते बंगलादेशको राजधानी ढाकातर्फ गएका थिए । उनी आइतबार नै काठमाडौं फर्कने तालिका थियो । तर, कारणवस आइतबार आएनन्, सोमबारको टिकट लिए ।

तर, डा। थापासहित ७१ जना सवार यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा पर्‍यो ।काठमाडौं ओर्लिएलगत्तै बुद्ध एयरको फ्लाइटबाट चितवन आउने र साँझ अप्रेशन गर्ने उनको योजना सफल हुन सकेन । भौतिक रुपमा नै अस्ताए डा. थापा ।सयौं बिरामीलाई मृत्युको मुखबाट बचाएका डा. थापाले अल्पायुमै परेर ज्यान गुमाए । अहिले उनी कार्यरत अस्पतालमा सन्नाटा छाएको छ ।

को हुन् डा. थापा

भरतपुरको वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालका बरिष्ठ न्यूरो सर्जन हुन् डा. बालकृष्ण थापा । काभ्रेको कुशादेवी ३ मा २०२४ माघ ४ मा जन्मिएका डा. थापा चिकित्सकीय पेशाका अलवा साहित्य सिर्जनामा पनि सक्रिय थिए ।२०४१ सालको एसएलसीमा काभ्रे जिल्ला प्रथम भएका उनले सरकारी छात्रवृत्ति पाएर एमवीवीएस अध्ययन गरे । त्यसपछि उनले कहिल्यै दोस्रो हुनु परेन । २०५१ सालका एमवीवीएस गोल्ड मेडलिष्ट हुन् उनी ।

ढाकास्थित बंगबन्धु शेखमुजिब विश्वविद्यालयबाट न्युरोमा एमएस गरे । त्यहाँ पनि टप गरे । चिकित्सा शिक्षा अध्ययनका क्रममा ३ पटक गोल्ड मेडल प्राप्त गरे ।

‘थापा निकै चलाख थिए, दिमाग खुब छिटो चलाउँथे’ १२ वर्षदेखि थापासँगै काम गरेका वरिष्ठ नाक, कान, घाँटी रोग विषेशज्ञ डा. देजकुमार गौतम सम्झन्छन् ।

उनी चिकित्सक संघका क्षेत्रीय उपाध्यक्ष र नेपाल न्युरो सर्जन समाजका महासचिव पनि हुन् । मोफसलमा बसेर पनि गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने दृढ खालको अठोट उनमा थियो । चितवनमा नै बसेर केही गर्ने र भरतपुरको क्यान्सर अस्पताल सुधार गर्ने सपना उनी सुनाउँथे ।

छापामार शैलीमा उपचार 

डा. थापाको अर्को परिचय पनि थियो, उनले सशस्त्र द्वन्द्वका क्रममा धेरै लडाकूहरुको ज्यान बचाएका थिए । उनले रातभर हिँडेर माओवादीका घाइते लडाकुको उपचारमा समेत खटिने गरेका थिए । ‘चितवनमा मात्रै होइन, धेरै ठाउँमा पुगेर उहाँले घाइते लडाकुको ज्यान जोगाउनु भएको थियो, पूर्वलडाकु रमेशकुमार तिम्सिनाले भने, ‘उहाँ छापामार शैलीमा उपचार गर्नुहुन्थ्यो । हामीलाई पटकपटक जोगाउनुभयो तर, अब आफैं रहनु भएन ।’

कर्मचारीलाई कविता सुनाउँथे

साहित्य क्षेत्रमा पनि डा. थापाको रुचि उत्ति नै थियो । डा. थापाले दुई कविता संग्रह प्रकाशन गरेका छन् । डाक्टरी कविता २०६१ र डाक्टरका कविता २०६९ एवम् निबन्ध संग्रह चिरफार २०७० प्रकाशित छन् । उनी क्यान्सर अस्पतालका कर्मचारीहरुलाई कविता सुनाएर खुसी पार्दथे ।

निजी सामान लगेर उपचार गर्थे

डा. थापा क्यान्सर अस्पतालको बेथितीप्रति असन्तुष्ट थिए र एसियाकै उत्कृष्ट अस्पताल बनाउने योजना पेश गर्थे । डा. थापा अरु चिकित्सक भन्दा फरक थिए ।

उनले थुप्रै पटक आफू आवद्ध निजी अस्पतालका उपकरण क्यान्सर अस्पतालमा लगेर समेत विरामीको उपचार गरेका थिए । कहिले भरतपुरको एलाइभ अस्पताल त कहिले चितवन मोडल अस्पतालबाट उपकरणहरु गाडीमा राखेर क्यान्सर अस्पताल लैजान्थे र बिरामीको उपचार गर्थे । डा. थापाले भनेको सम्झदै एलाइभ अस्पतालका सञ्चालक डा। प्रमोद लामिछाने भन्छन्, ‘मलाई किन यस्तो रहर लाग्छ रु’

अस्पतालमा प्रयाप्त उपकरण नहुँदा आफ्नो भएको खुबी देखाउन नपाएको गुनासो उनले पटकपटक गरेका थिए । धेरैजसो अप्रेशन उनी राति गर्थे । एलाइभका सञ्चालक डा.लामिछाने भन्छन्, ‘कहिलेकाँही त राति ४ बजे अप्रेशनको तालिकामा राख्नुहुन्थ्यो । अजिवकै व्यक्ति हुनुहुन्थ्यो ।’

अपूरणीय क्षति

थापाको निधनसँगै क्यान्सर अस्पतालमा न्यूरो सर्जनको अभाव सुरु भएको छ । डा. थापा न्यूरो सर्जरीका विभागीय प्रमुख हुन् । उनी र डा. बेन्जु रश्मी प्रधान मात्रै चिकित्सक छन् । डा. बेन्जुलाई पनि डा. थापाले नै न्यूरो सर्जन बन्न अभिप्रेरीत गरेका थिए । बेन्जु नेपालकै पहिलो महिला न्यूरो सर्जन हुन् । तर, डा.थापा भइञ्जेल बेन्जुलाई कुनै प्रेसर हुन्थ्थेन ।

ब्रेन ट्युमर भएका बिरामीहरु डा. थापा कहाँ पुग्थे । ‘क्यान्सरसम्वन्धी न्यूरो सर्जन डा. थापा जतिको भेटाउन देशमा मुस्किल छ,’ डा. देजकुमार गौतम भन्छन्, ‘उहाँजतिको व्यक्ति तयार गर्न यो देशलाई अझै ५;७ वर्ष लाग्छ ।’

डा थापाको निधन क्यान्सरका बिरामी र देशका लागि अपूरणीय क्षति हो भन्छन् उनी । उनले क्यान्सर अस्पतालको ओपीडीमा दैनिक ३५ जनासम्म बिरामी हेर्ने गरेका थिए ।

अब डा. बेञ्जु मात्रैको काँधमा त्यो जिम्मेवारी आएको छ । डा। थापाबाटै दीक्षित भएकी डा. बेञ्जुले अनलाइनखबरसँग विहान भएको भेटमा भनिन्, ‘खै सक्छु कि सक्दिन ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्