बिमस्टेक सम्मेलन : भारतीय प्रधानमन्त्रीसँग रेल्वेसहित दुईवटा छुट्टै सम्झौत



काठमाडौँ — आगामी १४ र १५ हुने बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीकाको प्रयास (बिमस्टेक) सम्मेलनको अवसरमा भारत र नेपालबीच छुट्टै दुई सम्झौता हुने भएका छन् ।परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीका अनुसार रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थीत कार्यक्रममा उक्त सम्झौता हुने भएका हुन्।

बिमस्टेक बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री
ज्ञावलीले सबै तयारी पुरा भएको बताएका छन्। उनका अनुसार बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले बैठकमा आउने निधो गरी नेपाललाई जानकारी पठाइसकेका छन्।
बैठकमा बंगलादेशकी प्रधानमन्त्री शेख हसीना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति राष्ट्रपति मैथ्रिपाला सिरीसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका प्रधानमन्त्री वीन मिन्ट, भुटानका अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष छिरिङ तोग्वे सहभागी हुने भएका हुन्।
‘आगामी १२, १३ र १४ गते सबै प्रमुखहरु आउनु हुने छ,’ परराष्ट्रमन्त्री ज्ञावलीले भने, ‘बैठकको तयारीको अन्तिम चरणमा छौं। सानातिना कामहरु मात्रै बाँकी छन्।’ श्रीलंकका राष्ट्रपती मैथ्रिपाला र म्यानमारका प्रधानमन्त्री वीन मिन्ट लुम्बिनी भ्रमणमा जाने कार्यतालिका तय भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति दर्शन गर्ने र धर्मशाला उद्घाटन गर्ने कार्यक्रम छ।
बैठकको तयारीका लागि १२ गते विदेश मामिला सचिवहरुको बैठक हुने छ। १३ गते विदेश मामिला मन्त्रीहरुको बैठक बस्ने छ। यी दुई बैठकले बिमस्टेक बैठकका ऐजेन्डा र छलफलका विषयहरुलाई अन्तिम रुप दिने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञावलीले बताए।
उनका अनुसार पाँचवटा क्षेत्रमा केन्द्रित रहेर बैठक सञ्चालन हुने छ। कनेक्टीभिटि, गरिबि निवारण, व्यापार र लगानी, जलविद्युत र जलवायु परिवर्तन सम्बन्धी ऐजेन्डामा छलफल हुने छ। ‘बिमस्टेक सदस्य राष्ट्रहरुबीचको महत्वपूर्ण विषय लगायत बुद्धिष्ट सर्किट बनाउने विषयमा नेपालको विशेष जोड हुने छ,’ उनले भने।
बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरु भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका, थाइल्यान्ड र आयोजक नेपालका राष्ट्रप्रमुख, विदेशमन्त्री र राज्य मन्त्रीहरु सहभागी हुने छन्। चार वर्ष अघिबाट अध्यक्ष भएको नेपाल आयोजक राष्ट्र हो।
यो संगठन सन् १९९७ मा स्थापना भएको हो। यसको पहिलो सम्मेलन थाइल्याण्डमा सन् २००४ मा भएको थियो। दोस्रो भारतमा सन् २००८ मा भएको थियो। तेस्रो शिखर सम्मेलन ६ वर्षपछि सन २०१४ मा म्यानमारमा भएको थियो। त्यसपछिको अध्यक्ष नेपाल हो। कार्य तालिका अनुसार नेपालमा चौथो सम्मेलन हुन लागेको हो। आयोजक राष्ट्रको व्यवस्थापन गर्ने प्रमुख निकाय परराष्ट्र मन्त्रालयले बैठकका लागि तयारी अन्तिम चरणमा रहेको जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्