असल वावुआमा कशरी बन्ने वारे लेखिएको ‘हामी बाबुआमा’ पढेपछि…



गोविन्द खड्का

पुस्तक पढिरहँदा कुनै टिपोट नगरेरै टिप्पणी गर्न आँटेको छु । कण्ठस्थ गरेका प्रसंग र सारेका वाक्य भन्दा पढेका अनुभूति सुनाउने लक्ष हो । शुरुवात गर्नुअघि प्रकाशक शिकाई समूह प्रालिप्रति आभार व्यक्त गर्छु ।
भारतीय शिक्षा शास्त्री एवं लेखक गिजुभाई (गिरिजाशंकर भगवानजी बधेका) को ‘माँ–बापों की माथा पच्ची’ पुस्तक नेपाली भाषामा अनुवाद भएर आएको छ । सन् १९८५ मा गुजरातमा जन्मेका गिजुभाईले आफु ५५ वर्ष मात्रै बाँच्दा पनि आफै बालमन्दिर खोलेर बाल शिक्षणको आदर्श बाटो देखाए । यसैसम्बन्धी एक सय ५० बढी पुस्तक लेखेर दुनियाँमा पुगे ।
पाँच वर्षअघि आएको भनिएको ‘दिवास्वप्न’ दुई वर्षअघि पढ्न पाएको थिएँ । त्यसबाटै उनीतिर तानिएको म अहिलेको पुस्तक खोज्न हतारिएँ । सबै काम छोडेरै भए पनि पुस्तकमा ध्यान लगाएँ । पढिसक्दा गर्व लागेको छ ।
लामो लेख पत्रिकामा छापिएपछि ठूलो लेखक बन्ने सपना अहिले पनि धेरैको देख्छु । आफ्नो विषयवस्तु कस्तो छ र कति लामो बनाउँदा उपयुक्त हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुन्न । तिम्रो पत्रिकामा कति शब्दसम्मको सामग्री चाहिन्छ भनेर सोधेपछि लेख्न शुरु हुन्छ । या त सम्बन्धित पत्रिकाले काटेर छाप्दा पनि फरक पर्दैन । त्यस्ता लेख रचनाहरुले दिने सन्देश बोझभन्दा अरु हुन्न ।
गिजुभाईका यी दुबै कृति कम व्याख्या गरिएका र साना छन् । तर सन्देश बिशाल छ । यसमा भएका केही कुरालाई मात्रै जीवन व्यवहारमा बदल्ने हो भने भावी सन्तानले सुख भोग्छ । बच्चाको पहिलो पाठशाला घर हो । सबैले भन्छन् । त्यहाँ सिक्ने के हो भन्यो भने ‘राम्रो’ भनेर अमूर्त जवाफ आउँछ । के लाई राम्रो भन्ने प्रश्न जटिल हुन्छ ।
यसको जवाफ एक सय १५ पेजको ‘हामी आमाबाबु’ नामक पुस्तकले दिएको छ । हुन त यो हिन्दीलाई नेपालीमा अनुवाद गरिएको छ । शब्दशः अनुवाद भन्दा पुनर्लेखनमा जोड दिएको भनेर प्रकाशकले स्वीकारेका छन् । सायद गिजुभाईले दाङको पात्र बनाएका थिएनन् । अनुवादक शरच्चन्द्र बस्तीले नेपालीको अहिलेको अवस्थासँग गाँसेका हुन् । करिब ३० बर्षअघिको भारतको एउटा प्रान्तको अनुभव हुबहु अहिले लागू हुन सक्दैनथ्यो ।
प्रकाशक असफल हुन बेर लाग्दैनथ्यो । यसरी नेपालभित्रैका धेरै ठाउँ र व्यक्ति पात्र बनेका छन् । त्यसले अझै बढी अपनत्वको विकास गराउँछ । यसमा रहेका सात वटा मुख्य पाठ र धेरै उप–शीर्षक राखेर बनेका विषयवस्तुले झल्झल्ती विगतका बच्चामा गरिएका व्यवहार याद गराउँछन् ।
आफू बच्चा हुँदा अभिभावकबाट भोगेका कुरा पनि सम्झनामा आउँछ । अनि सोच्न मन लाग्यो । बच्चाले विराम गरेको देख्छौं । उसलाई सिकाउन झन्झट मान्छौं । साँच्चै बच्चाको कुनै रहर हुँदैन ? उसले बाबुआमा र घरबाट केही सिक्नुपर्ने जरुरी छैन ? घर परिवार सोच्छ सिक्ने त विद्यालयमा हो । विद्यालय भन्छ– घर परिवारले जिम्मेवारी लिनुपर्छ । हामीसँग बिताउने पाँच घण्टा हो । बाँकी १९ घण्टा समाज र घर परिवारमा हुन्छ ।
समाज भन्छ– गतिलो घरको बच्चा रहेनछ । ठूलो भएपछि पनि कस्तो कुल घरानाको भनेर मात्रै खोज्छ । तर पाउन मुस्किल हुन्छ । बच्चा आफै सभ्य, समृद्ध, देशको ठूलो मान्छे बन्नुपर्छ भन्ने मान्यता जबर्जस्त स्थापित छ । बनेन भने अरुले बनाइदिएन भनेर चित्त बुझाउने गरिन्छ ।
ता कि आफ्नो सिकाउने जिम्मेवारी होइन । यसरी बच्चाको वातावरण बनाउने जिम्मेवारी कसको हो भनेर किटान गरिएकाले पनि मलाई मन परेको हो । मैले धेरैपटक बच्चालाई हप्काएको छु आफ्नो काबुमा राख्न । धम्काएर तर्साउँदा आफु ठूलो मान्छे भएको महसुस हुन्छ । तर बच्चाहरुले सम्झनालाई घेरेर बस्छन् । म हुँदाका बखत वरपर कोही आउँदैन । मप्रति कुनै आशा पनि छैन । त्यति माया पनि लाग्दैन । काम बिगारेपछि किन बिगारिस् भनेर चर्को स्वर त लाउँछु तर कसरी बिग्रियो कहिल्यै भन्दैन । उनीहरुलाई कतिबेला के खान मन छ ? त्यतापट्टि ध्यान कहिल्यै गइन् ।
सँगै हिड्दैन । मागेको दिन्न । काम बिगारिहाले भने किन भन्ने चर्को प्रश्न गरी बच्चाले जवाफ दिने ठाउँ राखिन्न । त्यसरी सोधेपछि ‘जलाउन, फुटाल्न, बिगार्नलाई गरेको हुँ’ भनेर बच्चाले जवाफ दिने कुरै भएन । हामीले सोध्ने प्रश्नले यही जवाफ मागेको हुन्छ । यसकारण मलाई पुस्तकले समीक्षा गर्न सिकाएको छ । एकदमै मानसिक चिन्तामा छु । आफु बसेको वरपर गँजडी र जुवाडे लोफर युवा पुस्ताको जमात छ । अहिले बच्चाहरु पनि त्यहीं पथमा उन्मुख छन् ।
छिमेकमा भन्दैछन्– ठूलाहरु थान्का लागे । साना फेरि जागे । मैले पाएको खबरअनुसार युवाहरुको लोफर जमातले बाख्रा चराउन पाखामा गएका बच्चालाई ‘सलाई ल्याउने भे ल्या नत्र तेरा बाख्रा जलाइदिन्छु’ भनेछन् । हुन त चुरोट जलाउने सलाई नभएका हुतिहारा लोफरले बाख्रा जलाउने कुरै हुन्नथ्यो । तर बच्चाहरु बाख्रा छोडेर घरमा आमाबाबु गुहार्न पुगे । उनीहरु अभिवावकसहित आएपछि लोफरहरु भागे ।
केही दिनपछि साना बालबालिका (दश बर्षमुनि)काले त्यहीं पाखोमा पुगेर तीन–तीनवटा चुरोटमा भाङ भरेर खाएछन् । बच्चाहरु पनि बाबुआमाबाट छाडा छोडिएकामध्ये परेछन् । त्यसको नेतृत्व गर्ने विद्यालय नजाने बाबुआमा पठाउन नचाहनेकोले गरेछ । मैले आफ्ना गन्थन बढी गरें । तपाई अभिभावक हुनुहुन्छ भने एकपटक ‘हामी बाबुआमा’ पढ्नुस् । शिक्षक हुनुहुन्छ भने ‘दिवास्वप्न’ नछुटाउनुस् । हुबहु व्यवहारमा उतार्नुस् भन्न खोजेको होइन । सबै सत्य पनि छैनन् । पुस्तकमा बच्चालाई लोभ नदेखाउने, नपुल्पुल्याउने र टाउकामा नचढाउने भन्छ अर्कोतिर उनीहरुका पनि इच्छा आकांक्षा हुन्छन् । जसलाई सम्बोधन नगरे बच्चा सोचेजस्तो बन्दैन भन्नेछ । यसको व्यावहारिक पक्ष मिलाउन कठीन पक्कै छ । बच्चाले भनेका जे पनि मान्ने हो भने टाउकामा चढ्छ । आफ्नो आम्दानीले धान्दैन । सबै कुरामा असहमति जनाउने हो भने बच्चा बिग्रिन्छ । यसले अन्योलता पनि सिर्जना गर्न सक्छ । तर बच्चालाई हरेक घरमा सानातिना सबै काम अह्राउने गरिन्छ । उसले गल्ती गरेपछि कसरी भयो भनेर छलफल गर्ने र उसका कुरा सुन्ने चलन छैन । थरर्र काँप्ने गरी हप्काउने धम्काउने परम्परागत बिधि छ । पुस्तक पढेपछि यो विकारबाट अवश्य मुक्ति दिनेछ । आफ्नो बच्चा बिग्रिएमा अरुलाई आक्षेप लगाउँदै हिड्ने होइन । जिम्मेवारी लिने हो । असल नबने पनि राम्रो शिक्षक र अभिवावक बन्न गिजुभाईका यी दुबै पुस्तक साधक छन् भने हरेक पाठकको आफ्नो बालापन र अभिभावक हुँदाका व्यवहारको ऐना हुन् । पुस्तकको साइज हेरेर दुई सय २५ रुपैयाँ मूल्यमा जिब्रो टोक्ने गल्ती नगर्दा उत्तम होला । प्रकाशकले पनि कमाउने कुरालाई यही हो मौका भनेर चाँडै धनी बन्ने सपना नदेख्दा राम्रो होला । मूल्यमा अलिक हेरफेर गरी अरु पुस्तक अनुवाद गराउँदा राम्रो हुन्छ । अरु कसैले पनि यो काम गर्न सक्छ । त्यसबेला पनि विश्वास नगुमोस् । आफ्नै अरु प्रकाशनमा पनि पाठकको रुचि बढाओस्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्