पर्दामा कथा काठमाण्डौ



  काठमाण्डौ,१२ असोज ।  काठमाडौं अनेक सपनाको एउटा साझा पुञ्ज पनि हो । यहाँ बाँच्ने हरेक व्यक्ति विहान उठेदेखि आफ्ना सपनाको खातिर दौडन्छन् । कति साँझ विश्राम लिन्छन् । कति जागा रहन्छन् । काठमाडौं राति पनि निदाउँदैन । रातभर यहाँ थरीथरीका सपनाले झुत्ति खेल्छ । पढ्ने, करियर बनाउने, पैसा कमाउने, धनी बन्ने, घर-घडेरी जोड्ने, उद्यम गर्ने, कर्मचारी बन्ने, व्यपार गर्ने, राजनीति गर्ने, नेतागिरी गर्ने थरीथरीका आकंक्षाले कचौरा जस्तो यो खाल्डोभित्र प्रवेश गरेकाहरु हरेक मोड, घुम्ती हुँदै कहाँदेखि कहाँ पुग्छ, कसैले भेउ पाउन सक्दैन । त्यसैले भन्ने गरिन्छ, सपनाको शहर काठमाडौं ।

तर, यहाँ सग्लो र सङ्लो सपना देख्नेहरुको मात्र भीड लाग्दैन । कुरुप स्वप्नधारीहरु पनि यही भीडमा सलबलाइरहेका हुन्छन् । निश्चल बस्नेतको फिल्म ‘लुट’मा भनिए जस्तै, ‘काठमाडौं शहर, हेर्दा लाग्छ रहर, साला गिद्दै गिद्दको शहर ।’काठमाडौंको यो बखान किन पनि गरिएको हो भने अहिले शहरका सिनेमा घरहरुले काठमाडौंको कथा भनिरहेका छन् ।शुक्रबारदेखि सार्वजनिक फिल्म ‘कथा काठमाडौं’ त्यसैको माध्याम हो । संगीता श्रेष्ठ निर्देशित यो फिल्मले काठमाडौंको कथा कसरी उँधिनेको छ त ?

 

कथा काठमाडौंको कथा

कथा काठमाडौंले फरक तीन किस्तामा कथा पस्किएको छ । पात्र फरक, कथा पनि फरक । सन्दर्भ र प्रसंग मिल्न गएमा त्यो संयोग मात्र हुनेछ ।

पहिलो किस्तामा, काठमाडौंको रंगीन रातको कथा छ । यो ग्ल्यामरको कथा हो । यो दुव्र्यसनको कथा हो । कथा सुरु हुन्छ, नोरा -पि्रयंका कार्की)बाट । अन्त्य पनि उनैबाट । गाउँबाट काठमाडौंमा पाइला राख्नुअघि उनको चाह हुँदैन, मोडल बन्ने, मदिरा र मस्तीमा जवानी लुटाउने । तर, परिस्थितिले उनलाई त्यही मोडमा ल्याइदिन्छ, जहाँबाट उम्कनका लागि उनले फेरि नयाँ संघर्षको थालनी गर्नुपर्नेछ ।

ब्वाइप|mेन्ड सौरभ -प्रमोद अग्रहरी), जो पैसाका लागि लागुऔषध कारोबारदेखि सुन्दरीहरुको देह बेच्ने धन्दामा लागेका छन् । उनको सम्पर्कमा पुगेपछि नोरा बर्वाद हुन्छिन् ।

दोस्रो किस्तामा, सुन्दर भविष्यका खातिर काठमाडौं आइपुग्ने नवजवानहरुको कथा छ । यसको केन्द्रमा छिन्, काव्य -सन्ध्या केसी) । काठमाडौं बाहिरबाट पढ्न आउनेहरुले यहाँ आफ्नो पढाई र करियरका लागि मात्र होइन, शहरियाहरुको दम्भ र हैकमसँग पनि जुध्नुपर्छ भन्ने कथा छ यसमा ।

तेस्रो किस्तामा, उपचारका लागि रोगी शरीर लिएर काठमाडौंको शरणमा आइपुगेका दुई वैंशालु जोडीको कथा छ । मुटुको उपचार गराइरहेका शिखा र आयुषबीच अस्पतालको शैयामा प्रेमिल भावनाको विजारोपण हुन्छ । तर, यो शारीरिक प्रेम होइन । आत्मिक प्रेम हो । मुटुको रोगले जीवन हरण हुने अवस्थामा पुगिसकेका आयुश -आयुशमान देशराज जोशी) कसरी अरुको जीवनलाई खुसीको रंगले पोत्न चाहन्छन् भन्ने कथा छ यसमा ।

के छ राम्रो ?

संगीता श्रेष्ठको यो डेब्यु निर्देशन हो, कथा काठमाडौं । आशिंक भएपनि फिल्मले उनको रचनात्मक क्षमतालाई उतारेको छ । फिल्ममा उनको मेहनत र लगाव राम्रैसँग देखिन्छ ।हामीकहाँ टिपन-टापन गरेर, चोरचार गरेर फिल्म बनाउने जुन उपक्रम चलिरहेको छ, त्यसको क्रमभंग गरेकी छिन् उनले ।

यो क्रमभंग किनपनि हो भने अहिले चलनचल्तीमा आएका फिल्मी स्टाइयललाई यसले अन्धधुन्ध अनुशरण गरेको छैन । आफ्नै लयमा, आफ्नै शैलीको कथा भनेको छ ।

संगीताले अनेक तडक-भडक, हाँसो-रोदनको जोडघटाउमा जोड दिएकी छैनन् । कथा सरल छ र सबैले सकारात्मक सन्देश दिन खोजेकी छिन् । फिल्मले युवा र काठमाडौंको नियत एवं नियती खोतलेको छ । यो प|mेस कथा हो, हाम्रो जीवन-भोगाईसँग मेल खाने ।केही पात्रको अभिनय बेजोड छ । प्रमोद अग्रहरीले दूव्र्यसनीको आवरणमा चित्तबुझ्दो अभिनय गरेका छन् । बाँकीको अभिनय औसत छ । कथालाई गतिशील बनाउन आवश्यता अनुरुप गीत राखिएको छ ।

कथा काठमाडौंले हलसम्म आइपुग्नका लागि धेरै चरणमा वाधा-अवरोध खेपेको छ । यसका दुई वटा गीत विवादित भयो । फिल्मको एउटा दृश्यलाई लिएर युट्युबबाट ट्रेलर नै हटाउनुपर्ने कुरा पनि आयो । यसरी चरण-चरणमा विवादबाट गुजि्रँदै आएको फिल्म त्यती भड्किलो वा उत्ताउलो लाग्दैन, जति बाहिरी हल्ला छ ।

किन कमजोर ?

दुई घण्टा लामो फिल्मभित्र तीनवटा कथा छ । तीन वटा कथामा युवा-जीवनको सपना र वाध्यताहरुको चाङ छ । छोटो-छोटो तीन वटा कथाले दर्शकलाई दिक्क त लगाउँदैन तर, घतलाग्दो पनि छैन । संगीताले कथा चयन जसरी गरेकी छिन्, त्यसलाई उत्तिकै स्वभाविक ढंगले दृश्यमा उतार्न सकेकी छैनन् । कथा मौलिक भएपनि घतलाग्दो छैन । फिल्म हेर्दै जाँदा ‘अब के होला’ भन्ने कौतुहलता जगाउने भन्दा पनि अनुमान गराउने अवस्था बनाइदिएका छन् । त्यही कारण फिल्मले दर्शकलाई उस्तो वहकाउँदैन ।

कथामा आफ्नोपन छ तर, नयाँपन छैन । सबैले देखेको, भोगेको कुराभित्र पनि कति नयाँ र रोचक पक्षहरु हुन्छन्, त्यसलाई खोतलिएको छैन । काठमाडौंमा के-कस्ता अभिष्ट पालेर आउनेहरुको भीड लाग्छ र उनीहरुको यात्रा के-कस्ता मोडहरुमा ठक्कर खाँदै के-कस्तो लय समात्न पुग्छ भन्ने यसमा देखाउने कुराको एकसरो वखान मात्र छ फिल्ममा । यसभित्र देखिने भन्दा नदेखिने कुराहरु समेट्न सकिन्थ्यो, जुन गहिराईसँम्म कथा डुब्दैन ।

काठमाडौंलाई बेइमान बनाउनमै फिल्मले सम्पूर्ण समय र शक्ति खर्चिएको छ । यसको सुन्दर पाटो ओझेल छ । घटनाक्रम स्वभाविक लाग्दैन । हरेक पात्रको चरित्र र अवस्थालाई तर्क संगत वा स्वभाविक ढंगले स्थापित गर्न सकिएको छैन । जस्तो, नोरा जसरी ग्ल्यामर क्षेत्रमा प्रवेश गरेर दुव्र्यसनमा फस्न पुग्छिन्, उनलाई त्यो वाध्यकारी थिएन ।

सबै किस्सा घटनाप्रधान छन् । तर, हरेक प्रसंगलाई डोहोर्‍याउने पात्र र उप-कथाहरु बलिया छैनन् । उनीहरुमाथि अनगिन्ति प्रश्न गर्न सकिन्छ ।

वेश्यवृत्तिको आरोपमा युवती प्रकाउ परिरहँदा उनका पिताले भीडमा बसेर हेरिहेको, युवती घर र्फकदा पिताले आत्महत्या गरेको प्रसंग अविश्वसनीय र कृतिम छन् । त्यस्तै दोस्रो कथामा पात्रहरु अध्ययन वा करियरका लागि भन्दा पनि आपसी इगोमा द्वन्द्व गरेको, ग्रामिण भेगबाट पढ्न आएका युवाको हदैसम्मको हतोत्साही सुहाउँदो लाग्दैन । घटनालाई मात्र फोकस गर्दा यस्ता स-सना तर, महत्वपूर्ण पाटो पुरै ओझेल छ ।

तीन वटा फरकफरक किस्सालाई बाँध्ने एउटै डोरी छैन । त्यसो हुँदा पनि दर्शकहरु एउटा घटनाबाट अर्कोमा प्रवेश गर्दा पुरानै लयमा बहकिँदैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्