डिभोर्सपछि फस्टाएकी प्रियंका कार्की



सैघाली खबर, ११ कार्तिक ।

अभिनेत्री प्रियंका कार्कीको जन्म विक्रम सम्वत २०४३ साल फाुगन १५ गते काठमाडाैंमा भएको हो । उनको बाल्यकाल पनि काठमाडाैंमै बित्यो । प्रियंकाका बुवा भुपेन्द्र कार्की हुन् । भुपेन्द्र व्यवसायमा संलग्न छन् भने उनकी आमा रक्षा मल्होत्रा एयर होस्टेस हुन् ।

प्रियंकाका दुई आमा छन् । प्रियंकालाई जन्म दिने आमा रक्षा मल्होत्रा हुन् भने उनकी सानी आमा अंगुर बाबा कार्की डाक्टर हुन् । प्रियंकाका बुवा अहिले कान्छी आमा डाक्टर अंगुर बाबा कार्कीसँग बस्दै आएका छन् भने प्रियंकाकी आमा रक्षा भुपेन्द्रसँग अलग भइसकेकी छिन् ।
प्रियंका भने दुईवटै आमासँग नजिक छिन् ।

प्रियंकाका एक भाई छन् प्रणित कार्की, जो विगत केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । प्रियंकाले रातो बंगलाबाट ए लेभलको अध्ययन पूरा गरेकी हुन् । प्रियंकाले बाल्यकालमै आफ्नो अभिनयको थालनी गरेकी थिइन् । सिनेमाको नाम थियो ‘महादेवी’ । ७ वर्षको उमेरमा प्रियंकाले काम गरेको यो सिनेमालाई  निर्देशक नारायण पुरीले निर्देशन गरेका थिए ।

प्रियंकाले सन् २००५ अर्थात २०६१ सालमा मिस टीनको उपाधि हासिल गरिन् । उनले यस प्रतियोगितामा मिस ट्यालेण्ट, मिस विकिनीसँगै मिस इन्टेलिजेन्टको उपाधि पनि हात पारिन् । यो प्रतियोगितापछि प्रियंका ग्ल्यामर क्षेत्रतर्फ  आकर्षित भईन् । मिस टिन भएपछि प्रियंकाले कान्तिपुर टेलिभिजनमा भिजेको रुपमा काम गर्ने मौका पाइन् । उनले कान्तिपुरमा सुरुमा सेलुलोईड नामक कार्यक्रम सञ्चालन गरिन् भने पछि उनले द ग्ल्याम फ्याक्टर पनि सञ्चालन गरिन् ।

यहि च्यानलमा काम गर्दा प्रियंकाले अभिनयमा पनि डेब्यु गरिन् टेलिसिरियल ‘घरबेटी बा’ बाट । जान्ने बुझ्ने भएपछि प्रियंकाको यो नै पहिलो अभिनय थियो । यस सिरियलमा उनी टिनाको भूमिकामा थिइन् । यहाँ काम गर्दै गर्दा प्रियंकालाई सिनेमा पढ्न मन लाग्यो र उनी सन् २००७ मा अमेरिका हान्निइन् । अमेरिका पुगेर युनिभर्सिटी अफ नर्थ अलावामाबाट उनले सिनेमामा स्नातक गरिन् । सिनेमामा स्नातक गरेपछि सन् २०११ म प्रियंका फेरि नेपाल फर्किइन् ।

प्रियंकाले अमेरिकाको नर्थ अलावामामा अध्ययन गर्दा पनि युनिभर्सिटी अफ नर्थ अलावामा इन्टरनेशनल यु एन ए ब्युटी प्याजेन्टमा  भाग लिएकी थिइन् । यस प्रतियोगितामा उनी उत्कृष्ट ५ मा पर्न सफल भएकी थिइन् । अमेरिकामै हुँदा प्रियंकाले ‘भुल्ने पो हो की’ नामक सिनेमामा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । यो सिनेमालाई भुटानिज नेपलिज प्रोडक्शनबाट निर्माण गरिएको थियो ।

सन् २०११ मा नेपाल फर्केकी प्रियंकाले सन् २०१२ बाट सिनेमामा प्रवेश गरिन् । उनले काम गरेको र साइन गरेको पहिलो सिनेमा थियो मेरो बेस्ट फ्रेण्ड । तर उनको यो सिनेमा प्रदर्शनमा आउन समय लाग्यो । यसै कारण प्रदर्शनका हिसाबले उनको पहिलो सिनेमा बन्यो ‘थ्री लभर्स’ । पहिलो सिनेमाबाटै सिनेमाबाट उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड पनि हात पारिन् ।

प्रियंकाका सुरुवाती केही सिनेमाले कारोबार राम्रो नगरे पनि प्रियंका आफ्नो काम र व्यत्तित्वबाट भने धेरै निर्माता र निर्देशकलाई प्रभावित बनाउन सफल रहिन् । यसै कारण उनलाई कामको कहिल्यै खाँचो भएन । प्रियंकाको करिअरको पहिलो सफल सिनेमा हो सन् २०१४ को सिनेमा ‘झोले’ ।

यो सिनेमा प्रियंकाको सिने करिअरको करोड कमाउने पहिलो सिनेमा बन्यो । यस सिनेमामा प्रियंकाले दयाहाङ राईको जोडीको रुपमा काम गरेकी थिइन् । झोलेपछि उनको सिने करिअर निरन्तर रुपमा अघि बढ्यो । तयसपछि प्रियंकाले नेपालका चलेका र स्थापित भईसकेका ब्यानरसँग काम गर्ने मौका पाइन् ।

त्यसपछि विकासराज आचार्यको सिनेमा ‘नाई नभन्नु ल २’ उनको करिअरको अर्को सफल सिनेमा बन्यो । यो सिनेमामा प्रियंकाले सुरज सिंह ठकुरीसँग जोडी बाँधेकी थिइन् । यो सिनेमाले ४ करोड भनदा धेरैको कारोबार गरेको थियो । प्रियंकाले नाईं नभन्नु ल सिरिज, वडा नम्बर ६, छक्का पञ्जा सिरिज, फाटेको जुत्ता, शत्रु गते, कोहलपुर एक्सप्रेस, पुरानो डुंगा जस्ता सफल सिनेमामा काम गरिसकेकी छिन् ।

प्रियंकाको अभिनयको जति तारिफ हुन्छ उत्तिनै उनको नृत्यको पनि । नेपाली सिनेमा उद्योगमा उनीजस्तो नाच्न सक्ने अभिनेत्री नभएको धेरैको तर्क छ । उनले मुख्य अभिनेत्री भएर मात्रै हैन एउटा गीतमा मात्रै नृत्य गरेर धेरै सिनेमा लिड गरेकी छिन् । का कार्की सिनेमा सफल भएपछि उनले विभिन्न ब्राण्डहरुको ब्राण्ड एम्बेस्डर हुने अवसर पनि हात पारिन् ।

उनी कोकाकोला, सेनिटरी न्यापकिन, मेगा बैंक, ब्रिटानिया २०–२० बिस्कुट, एनसेल, डाबर हर्बल जेल टुथपेस्ट लगायतका ब्राण्डको ब्राण्ड एम्बेस्डर बनिसकेकी छिन् । प्रियंका भाग्यमानी अभिनेत्रीमा पर्छिन् किनभने नेपालमा भित्रिएको पहिलो फ्रेन्चाईज डान्स रियालीटी शो ‘बुगी वुगी’मा जज भएर काम गर्ने मौका पनि उनलाई नै जुर्यो ।

उनले भारतीय चाउचाउ, ईट ओको विज्ञापनमा पनि काम गरेकी छिन् जुन भारतीय भाषामा निर्माण गरिएको थियो । अति नै व्यस्त प्रियंकाको जीवन शैली पनि विन्दास छ । उनी मात्रै त्यस्तो अभिनेत्री हुन् जोसँग दुईवटा कार छन् । तीन वर्षअघि मात्रै मर्सिडिज कार किनेकी प्रियंकाले केही महिना अघि नयाँ सुविधासहितको कार किनेकी छिन् । उनले किनेको नयाँ कार टाटा जेस्ट  हो ।

यसको मूल्य ३३ लाख ५० हजार पर्न आउँछ । प्रियंका आफूसँग भएका दुईवटा कार आलोपालो प्रयोग गर्छिन् । विज्ञापन, सिनेमा, टेलिभिजन शो, स्टेज कार्यक्रम, म्युजिक भिडियो र विभिन्न कम्पनीका ब्राण्डहरुसँग आवद्ध रहेकी प्रियंका सबैभन्दा धेरै व्यस्त र धेरै कमाउने अभिनेत्रीमा पर्छिन् ।

प्रियंकाको प्रेम र वैवाहिक जीवन

सिनेमा पढ्न अमेरिका पुगेको बेला २३ वर्षको उमेरमा प्रियंकाको विवाह रोचक मैनालीसँग भयो । यो उनको प्रेम विवाह थियो ।
तर विवाह भएको तीन वर्षमा उनै प्रियंकाले यो सम्बन्धबाट अलग हुने निर्णय गरिन् । आफू स्वतन्त्र भएर जिउन चाहेका कारण रोचकसँग अलग भएको उनी बताउँछिन् ।

सन् २०१० मा उनीहरुको विवाह भएको थियो । सिनेमाको पढाई सकेर प्रियंकाले रोचकसँग नेपालमा आएर सिनेमा क्षेत्रमा काम गर्ने इच्छा जाहेर गरिन् । तर रोचकले भने उनलाई उतै एक गृहणीको रुपमा बसेर काम गर्न आग्रह गरे । तर प्रियंका सिनेमा क्षेत्रमा केही गर्ने सोचका साथ अघि बढेकी थिइन् यहि कारण उनले रोचकलाई छोडिन् र सिनेमालाई रोजिन् ।

हुन पनि सम्बन्धबिच्छेद गरेर अघि बढेपछि प्रियंकालाई सिनेमा क्षेत्रमा फलिफाप नै भयो । सिनेमामा सफल रुपमा अघि बढ्दै गर्दा केही सिनेमामा एकसाथ स्क्रिन सेयर गरेका कारण प्रियंकाको नाम अभिनेता दयाहाङ राईसँग जोडिन पुग्यो । तर उनीहरुले यो प्रेमलाई कहिल्यै पनि स्विकारेनन् ।

यही हल्लाका बीच प्रियंकाको जीवनमा आए आयुष्मान देशराज जोशी । दुई वर्षअघि सिनेमा ‘कथा काठमाडांै’मा काम गर्ने क्रममा यो जोडी एकअर्कासँग नजिकिएको हो । प्रियंका अहिले अभिनेता आयुष्मान देशराज जोशीसँग प्रेममा छिन् । आयुष्मान प्रियंका भन्दा ७ वर्ष कान्छा छन् । यी दुईले केही समय अघि मात्रै इन्गेजमेन्ट गरेका छन् भने अबको एक वर्षमा विवाह गर्ने तयारी उनीहरुको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्