सन्दीप लामिछाने कलेज भर्ना



राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनले बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार बिहान आफैं पुगेर भर्ना फारम भरेका थिए ।

कलेजका अनुसार सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क)मा भर्ना भएका हुन् । उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए ।

सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर पनि हुन् । सो कलेजले गरीब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिने गरेको छ ।

सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको भण्डारीको भनाइ छ । सन्दीपले क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने बताए । क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न पनि जाने उनको भनाई छ ।

‘पहिलो प्राथमिकता त क्रिकेट नै हो, तर क्रिकेट नभएकाले बेला चाहिँ पढाईलाई समय दिने विचारमा छु,’ उनले भने । सन्दीपले म्यानेजमेन्ट विषय लिएर प्लस टु पढे पनि उतीर्ण भएका थिएनन् । कलेजमा उनले एउटा भारतीय कलेजबाट प्लस टु पास गरेको सर्टिफिकेट पेश गरेका छन् । सो कलेजको नाम उनले खुलाउन चाहेनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्