बालिकालाई फकाएर भारत लैजान खोज्ने दुई युवा पक्राउ



नुवाकाेट – दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार नुवाकोटको दुर्गम क्षेत्रमा पर्ने गाउँका दुई नाबालिकालाई भारतमा राम्रो काम लगाइदिने भनेर त्यसतर्फ लैजाँदै गर्दा जिल्लाको तादी गाउँपालिका–५ बाहुनबेँसीबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको र सहयोग पुर्‍याउने अन्यको समेत खोजी जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका ती दुईविरुद्ध आइतबार जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिइने प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुईविरुद्ध गएकाे भदौ १८ गतेदेखि हराएका उर्लेनीका तीन किशोरीलाई पनि भारतमा लगेर बिक्री गरेको अभियोग उनीहरूका अभिभावकले लगाएका छन् । यो घटनामा उनीहरूको संलग्नता सम्बन्धमा प्रहरीले पीडित पक्षबाट उजुरी लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्